सत्ताको उन्माद! विवादमा तानिए यी रास्वपा सांसद

विवेक विवश रेग्मी १३ वैशाख २०८३ १९:३८ | Sunday, April 26, 2026
44
SHARES
सत्ताको उन्माद! विवादमा तानिए यी रास्वपा सांसद

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू एकपछि अर्को विवादमा तानिन थालेका छन्। विवादमा मुछिएकै कारण मन्त्री बनेका दुईजना एक महिनामै पदबाट बाहिरिनुपरेको छ।
वालेन्द्र शाह (बालेन) नेतृत्वको क्याबिनेटका दीपकुमार शाह र सुधन गुरुङ पदमुक्त भएका हुन्।

शक्तिको आडमा श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिलाउने प्रयास गरेको आरोप लागेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई प्रधानमन्त्री शाहले गत चैत २६ गते पदमुक्त गरेका थिए।

त्यस्तै बिचौलियासँग सेयर कारोबारमा संलग्न रहेको आरोपमा तीव्र आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए। पछिल्ला दिनमा आफ्नै बोली र व्यवहारले रास्वपाका सांसदहरू खगेन्द्र सुनार, विश्वराज पोखरेल र कविन्द्र बुर्लाकोटी विवादमा तानिएका हुन्।

रास्वपाका १८२ सांसद छन्। सांसदमा निर्वाचित भएपछि उनीहरू सबैलाई पार्टीले सांसदको जिम्मेवारीलगायतका विषयमा आवासीय प्रशिक्षण दिएको थियो। प्रशिक्षण पाएर पनि गैरजिम्मेवार बनेपछि रास्वपा नेतृत्वकै आलोचना हुन थालेको छ।

खगेन्द्र सुनार 

सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र वैशाख ७ गतेसुनकोशी गाउँपालिका-३ का २२ वर्षीय श्रीकृष्ण विकको रहस्यमय मृत्यु भएको थियो। उनी बलात्कार आरोप लागेपछ प्रकाउ परेका थिए। वैशाख ३ गते ललितपुरबाट पक्राउ परेका उनलाई भोलिपल्ट जिल्ला अदालत सिन्धुली लगिएको थियो। अदालतले पाँच दिनको म्याद थप गरेपछि उनी प्रहरी हिरासतमा राखिएका थिए।

प्रहरीले विकले झुन्डिएर आत्महत्या गरेको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार आफैँले लगाएको सर्टको पासो लगाएर अचेत अवस्थामा फेला परेपछि उनको उद्धार गरी अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। घटनापछि पीडित परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको भनी आन्दोलनमा उत्रिएका छन्। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग परिवारजन र आफन्तको छ।

रास्वपा सांसद खगेन्द्र सुनार र रीमा विश्वकर्माले पीडितले न्याय पाउनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेटमा धर्ना दिए। सत्तारूढ सांसदले नै न्यायको माग गर्दै धर्नामा बसेको विषयलाई अस्वाभाविक मानिएको थियो। यसै क्रममा सांसद सुनारले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) लाई नै ‘घिसार्ने’ धम्की दिएको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिए।

सुनारको उक्त विवादास्पद अभिव्यक्ति ११ वैशाखमा सामाजिक सञ्जालमा फैलिएको छ। बाँके-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनारले भनेका छन्, ‘एसपीलाई मैले यहाँबाट घिसारेर लैजान्छु अब।’

कुनै व्यक्तिको हिरासतमा निधन हुँदा प्रहरीको गतिविधिमाथि शंका लागेमा अनुसन्धान गर्ने संयन्त्र रहे पनि सुनारले त्यसलाई बेवास्ता गरेका छन्। विकको निधनका सम्बन्धमा विभिन्न दृष्टिकोणबाट सूक्ष्म रूपमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने प्रक्रिया छँदाछँदै सांसदले जिल्लाको सुरक्षा संयन्त्रमाथि धावा बोलेर विधिको शासनको धज्जी उडाएको आरोप सुनारमाथि लागेको छ। सुनारले सांसदको पदीय जिम्मेवारी भुल्दै सत्ताको उन्मादमा उत्तेजित अभिव्यक्ति दिन नहुने धेरैको सुझाव छ।

विश्वराज पोखरेल

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विश्वराज पोखरेल विद्यालयका प्रधानाध्यापकमाथि खनिएपछि विवादमा तानिएका हुन्। पोखरेलले खिजिदेम्बा गाउँपालिका-२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई अपमान गरेका हुन्।

आफूलाई स्वागत गर्न माला लिएर नबसेको भन्दै मगरलाई पोखरेलले गालीगलौज गरेको भिडियो बाहिरिएपछि सांसद पोखरेलको सर्वत्र आलोचना भइरहेको छ। ‘म ठूलो मान्छे हुँ, म माननीय हुँ, ५० हजार पेन्सन खान्छु’ नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका उनले प्रधानाध्यापकलाई होच्याउँदै भनेका छन्, ‘तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने?’, भिडियोमा उनले ती प्रधानाध्यापकलाई सामुन्ने राखेर भनेका छन्।

सांसद पोखरेलले निरन्तर गाली गरिरहँदा प्रधानाध्यापक मगर भने निरीह देखिएका छन्। पोखरेलले आफू प्रहरीको विशिष्ट श्रेणीका कर्मचारी भएको भन्दै प्रहरी संगठनभित्रको धङधङी प्रस्तुत गरेको देखिन्छ। उनले भनेका छन्, ‘मसँग काम गर्नेहरू भर्खर सचिव हुँदै छन्। म पुलिस फोर्सको विशिष्ट श्रेणीको मान्छे हुँ। आईजी भएर झन्डै झन्डै चलाएको मान्छे हुँ।’

आफू माननीय रहेको र जिल्लामा आउँदा प्रधानाध्यापक गेटसम्म गएर स्वागत गर्नुपर्ने उनले बताएका छन्। ‘माननीय बाहिर बसिरा’छ तपाईँ ननिस्कने? माननीय आएपछि तपाईँहरू रिसिभ गर्न आउनपर्छ। म जिल्लाको अहिलेको एक नम्बरको माननीय हुँ,’ पोखरेलले भनेका छन्, ‘माननीयलाई अपमान गर्ने? म जनताको मतबाट जितेको मान्छे हुँ। तपाईँजस्तो हेडमास्टर त मैले देश भएर चलाएको हुँ।’

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सांसद पोखरेलको आलोचना भइरहेको छ। शिक्षक जगत् उनीविरुद्ध सामाजिक सञ्जालमा मात्रै खनिएका छैनन्, नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण गराएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हरेक पदाधिकारीको आफ्नै जिम्मेवारी र क्षेत्राधिकार हुन्छ। यस तथ्यलाई बेवास्ता गर्दै गरिएको यस्तो अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको छ।’

कतिपयले त उनलाई कारबाही गर्नुपर्ने, सांसद पदबाट फिर्ता गर्नुपर्ने सम्मका अभिव्यक्ति दिएका छन्। तीव्र आलोचना भएपछि सांसद पोखरेलले विज्ञप्ति जारी गर्दै माफीमा मागेका छन्। उनले ‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काँटछाट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको’ दाबी गरेका छन्। यसैगरी उनले तथ्य र सन्दर्भ अपूर्ण भएको भन्दै खेद प्रकट गरे। आफू राजनीतिमा सेवकका रूपमा आएको जिकिर उनको छ।

‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपथ्र्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु। यदि कसैको व्यवहारवाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपथ्र्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु,’ उनले आफ्नो बचाउ गर्दै भनेका छन्, ‘म जनताको सेवाका लागि राजनीतिमा आएको व्यक्ति हुँ। म पहिले पनि जनताको सेवक थिएँ, आज पनि जनताको सेवक हुँ र भविष्यमा पनि जनताको सेवक भएरै काम गर्नेछु। सार्वजनिक पद, राजनीतिक जिम्मेवारी र जनविश्वाससँगै आउने मर्यादा, संयम र उत्तरदायित्वलाई म गहिरोसँग आत्मसात् गर्दछु।’

कविन्द्र बुर्लाकोटी

वैशाख १२ गते गोरखाको बारपाकस्थित सुलिकोट गाउँपालिकामा आयोजित ११ औँ भूकम्प स्मृति दिवस लक्षित कार्यक्रममा पार्टीका महामन्त्रीसमेत रहेका कविन्द्र बुर्लाकोटीलाई एक सहयोगीजस्ता देखिने व्यक्तिले छाता ओढाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त कार्यक्रममा एक व्यक्ति अघिल्तिर बोलिरहेका छन् भने मञ्चमा सहभागीमध्ये बुर्लाकोटीलाई मात्रै छाता ओढाइरहेको दृश्य देखिन्छ। उक्त तस्बिर सामाजिक सञ्जालमा बाहिरिएपछि बुर्लाकोटी पनि विवादमा तानिएका छन्।

बुर्लाकोटीले भने आफू कार्यक्रममा सहभागी हुने क्रममा पानी परेको र आफू कार्यक्रममै ध्यान केन्द्रित गरेर पालिका अध्यक्षको भनाइ सुनिरहेको अवस्थामा उक्त घटना भएको प्रस्टीकरण दिएका छन्।

बुर्लाकोटीका अनुसार पछाडि बसेका एक वृद्धले छाता ओढ्दै उनीसँग केहीबेर कुराकानी गरेका थिए। ‘मेरो पछाडि बस्ने एकजना बुवाले छाता ओढ्दै मसँग केही कुरा गर्दै हुनुहुन्थ्यो। पछि कुरा सकिए पछाडि उहाँको छाताको बलेनी मेरो शरीरमा परेको र उहाँले छाताले पानी छेक्न खोजेको देखेपछि मैले उहाँलाई अगाडि आउन भने र हामीलेसँगै छाता ओड्यौँ,’ उनले भनेका भनेका छन्, ‘पानी परेकै कारणले कार्यक्रम हतारले समापन गरियो। करिब एक मिनेट जति छाता ओडाएको देखिने फोटो, भिडियो मैले थाहा नपाइकन भएको घटनाको हो।’

फागुन २१ मा सम्पन्न निर्वाचनपछि देशको सबैभन्दा ठूलो दल बनेको रास्वपाका केही सांसदहरूको अमर्यादित र उत्छृंल गतिविधि नरोकिँदा पार्टीको सार्वजनिक छवि, संसदीय मर्यादा र राजनीतिक विश्वासनीयतामाथि प्रश्न उठ्न थालेको छ।

वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको एक महिना बित्दै रास्वपाका केही नेताहरूले भने सार्वजनिक मञ्च, सामाजिक सञ्जाल तथा औपचारिक कार्यक्रमहरूमा देखिने यस्ता व्यवहारले ‘नयाँ राजनीतिक संस्कार’ को दाबी गर्दै आएको रास्वपामाथि नैतिक दबाब बढाएको छ। साथै सुसंस्कृत राजनीतिको दाबी गर्ने उक्त दलमाथि अनेक प्रश्न उठेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast