काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरिरहेको भन्दै छानबिनको माग गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरे।
उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र मगाइएकोमा सो विवरण अझै उपलब्ध नभएकोप्रति आपत्ति जनाए।
आईजीपी दानबहादुर कार्कीतर्फ संकेत गर्दै उनले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नबाट कसैको मानमर्दन भएको लागेमा अदालत गएर मुद्दा हाल्न चुनौती दिए। अदालतको कठघरामा उभिएर प्रत्येक प्रश्नको सामना गर्न र जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको उनले बताए।
उनले समिति बैठकमा एक सांसदले अर्को सांसदलाई होच्याउने, धम्क्याउने वा घेराबन्दी गर्ने कार्य मान्य नहुने उल्लेख गरे। सबै सांसदहरू जनताबाट निर्वाचित र सार्वभौम भएकाले आफ्ना कुरा राख्न पूर्ण स्वतन्त्र रहेको उनले बताए।
उनले छलफलका क्रममा नियमविपरीत भएमा अन्य सांसदले नभई समितिका सभापतिले मात्र रुलिङ गर्नुपर्ने तर्क गरे।


