फेसबुकमा ‘बहकाइ’ले हर्कको ओज घट्ने डर

किरण पौडेल १८ चैत २०८२ १८:४८ | Wednesday, April 1, 2026
60
SHARES
फेसबुकमा ‘बहकाइ’ले हर्कको ओज घट्ने डर

काठमाडौँ- सामाजिक सञ्जालमा निरन्तर लेखिरहने स्वाभावका कारण श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ चर्चामा आइरहन्छन्। सञ्जालमा निरन्तर सक्रिय साम्पाङ पार्टीका अध्यक्ष र प्रतिनिधिसभा सदस्य बनेपछि पनि रोकिएका छैनन्।

राष्ट्रिय नेता भइसकेपछि पनि साम्पाङको बारम्बार सामाजिक सञ्जालमा पोस्ट गर्ने स्वभावले मानमर्यादा र पदीय ओज नबुझेको टीकाटिप्पणी भइरहेको छ। साम्पाङ संसद्को चौथो ठूलो दल ९राष्ट्रिय दल० का अध्यक्ष र धरान उपमहानगरपालिकाका पूर्वमेयर हुन्।

फागुन २१ को चुनावमा उनको पार्टीको प्रत्यक्षमा तीन सिट र समानुपातिकमा तीन लाख ८५ हजारभन्दा बढी मत आयो। साम्पाङ निरन्तर सरकारमाथि खबरदारी गर्दै सञ्जालमा सक्रिय भइरहँदा उनीमाथि ‘बहकिएको’ र पदीय जिम्मेवारीबाट चुकेको भनेर आलोचना भइरकेको छ।

‘पछिल्ला अभिव्यक्ति पद सुहाउँदोजस्तो लाग्दैन। सामाजिक सञ्जालमा अलि कम गरिदिए उहाँकै मानमनितो बढ्थ्यो भन्ने लाग्छ,’ उनका समर्थक एवं लेखक राजन मुकारुङ भन्छन्, ‘यसबारे सचेतना पनि आवश्यक देख्छु।’

साम्पाङ सामाजिक सञ्जालमा एक दिनमै ४० वटासम्म सामग्री पोस्ट गर्छन्। सामान्य कुरादेखि गम्भीर विषयलाई पनि सञ्जालमा उठाउँदा विषयवस्तुको गम्भीरता नबुझेको भान भइहरेको मुकारुङको भनाइ छ। ‘कुन गल्ती हो, कुन कम महत्त्वको हो चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ’, उनी भन्छन्। बुधबार (१२ बजेसम्ममा मात्रै) साम्पाङले ‘हर्क साम्पाङ अ रिभोलुसन’ मा २२ वटा सामग्री राखेका छन्। जसमा केही स्टाटस र भिडियो छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री बनेपछि साम्पाङ आफू प्रतिपक्षीको भूमिकामा आफू रहेको भन्दै सरकारमाथि निरन्तर प्रहार गरिरहेका छन्। उनले कहिले बालेनले विगतमा प्रयोग गरेको ‘ग्रेटर नेपाल नक्सा’ त कहिले भदौ २४ को घटना छानबिनको विषय उठाइरहेका छन्। उनले प्रस्तुत गरेका विषय नभए पनि सञ्जालमा गुणस्तरीय तवरले राख्नुपर्ने बुझाइ शुभेच्छुकहरूको छ।

शुभेच्छुकको सचेतना, पार्टी नेताको याचना

श्रम संस्कृति मात्र होइन हर्कका शुभेच्छुकले समेत सचेत बनाउन काम गरिरहेका छन्। उनीसँग भेट्दा शुभेच्छुकहरूले सामाजिक सञ्जालमा कम लेख्न अनुरोध गरिरहेका छन्।

‘मैले पनि उहाँ ९हर्क०लाई लेख्न भनेको थिएँ। तर उहाँले भने, ‘म चाहिँदो मात्र लेखेको छु,’, साम्पाङलाई भेट्न पुगेका एक शुभेच्छुकले भने, ‘अरूले भनेको लाग्दो रहेनछ। मैले भने तर उहाँले बुझ्नुभएजस्तो लागेन।’

अहिले पार्टीभित्र पनि साम्पाङको सञ्जाल प्रेमबारे छलफल चलेको छ। ‘उहाँले गलत त लेख्नु हुन्न। तर अलि कम गर्नुपर्‍यो भन्ने कुरा उठेको छ’, संस्कृति पार्टीका एक पदाधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘हामीले बारम्बार भन्दै आएका पनि छौँ। अब पार्टीको बैठकमा छलफल हुनेछ।’

साम्पाङले सामाजिक सञ्जालमा राखेका सामग्रीमा जेनजी आन्दोलनमा आगजनी गर्नेप्रति कारबाही हुनुपर्ने र दार्चुलामा पुल बनाउनुपर्ने अभिव्यक्ति दिइएको छ। कतिपय स्टाटसमा राम्रा शब्द प्रयोग गरे पनि कतिपयमा गालीगलौज छ।

‘सरकारलाई बेलगाम घोडा बनेर जथाभाबी कुद्न नदिने प्रतिपक्ष हो हर्क साम्पाङ र उसको पार्टी श्रम संस्कृति! यो कुरा हेक्का राख! गालीगलौज गर्नेलाई माफी नै छ! तर ज्यान मार्ने र घर जलाउने धम्की दिने घण्टेहरुविरुद्ध सीआईबीमा रिपोर्ट गर्नेछु! आज नि एउटा पर्छ’, उनले लेखेको एक स्टाटस हो यो। साम्पाङकले रास्वपालाई ‘घण्टे’ को संज्ञा दिएर आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका देखिन्छ।

‘केही स्टाटसहरू हाम्रो हितमा नभएको पनि प्रस्ट भयो। सचेत हुनुपर्छ भन्ने कुरा हो हाम्रो’, जेनजी अभियन्ता उपार्जुन राई भन्छन्।

मिडियाबाट वञ्चित बनेपछि सञ्जालको प्रयोग : श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीका नेताहरू भित्रभित्रै साम्पाङलाई सचेत गराइरहेको बताउँछन्। तर सार्वजनिक रूपमा भने साम्पाङले सही गरिरहेको बताउँछन्। पार्टी उपमहासचिव समीर तामाङ संसद्मा प्रतिपक्षीको भूमिका निर्वाह गर्दा बढी बोल्नुपरेको बताउँछन्।

‘हामी हो अब सरकारविरुद्ध बोल्ने। ठूलो सरकार छ। हामीले निरन्तर खबरदारी गर्नैपर्ने हुन्छ,’ तामाङ थप्छन्, ‘अहिले हाम्रो पक्षमा मिडिया पनि छैनन्। यसैले सञ्जालबाट सचेतना जगाउनुपरेको हो।’

तामाङ अध्यक्ष साम्पाङकै अभिव्यक्तिका कारण पछिल्ला केही कुरामा सकारात्मक नतिजा आएको सुनाउँछन्। उनी संसद् बैठक बोलाउन निरन्तर साम्पाङले खबरदारी गरेकै कारण सरकारले अधिवेशन माग गरेको दाबी गर्छन्।

‘हामीले सरकारका गलत कामविरुद्ध बोल्नैपर्छ। अब त झनै ठूलो सरकार बन्यो। यहाँ त हामी नबोले हुन्न’, तामाङ सुनाउँछन्। अर्का नेता विनोद नेम्वाङ पनि सरकारको खबरदारी गर्नु पार्टीको कर्तव्य भएको बताउँछन्। ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका हौँ। सरकारले सदन नबोलाएपछि सञ्जालमार्फत बोल्नुपरेको हो’, नेम्वाङ थप्छन्।

‘हर्कले कम लेखिदिऊन्, टिम बनाएर काम गरून्’

अहिले हर्ककै शुभेच्छुक पनि त्रसित छन्। सञ्जालमा निरन्तर लेख्दा हर्क ‘बहकिएर’ सामाजिक मर्यादाबाहिर जाने हुन् कि भन्ने त्रास छ। साम्पाङका शुभेच्छुक एवं लेखक मुकारुङ हर्कले अब सचेत भएर सामाजिक सञ्जालमा लेख्नुपर्ने बताउँछन्।

‘उहाँले टिम बनाएर काम गर्नुहोस्। सामाजिक सञ्जालमा लेख्नुपर्छ। तर टिममा छलफल गरेर गर्दा उचित हुन्छ,’ मुकारुङ भन्छन्, ‘तथ्य जाँच गरेर अघि बढ्नुपर्ने हुन्छ। निरन्तर लेखाइमा गलत हुन सक्छ।’

मुकारुङ साम्पाङ सम्भावना बोकेको नेता भए पनि अभिव्यक्तिका कारण विवादित बन्न सक्ने भन्दै सचेत गराउनुपर्ने सुझाउँछन्। ‘हर्कजी प्रतिपक्षी नेता हो। तर बोलीमा अलि सचेत हुनुपर्छ’, मुकारुङ भन्छन्। पार्टी उपमहासचिव तामाङ भने सञ्जालको विकल्प नभएका कारण निरन्तर लेख्नुपरेको सुनाउँछन्।

‘अहिले हामीसँग के विकल्प छ त? मिडियामा कम आएपछि सञ्जालमै लेख्नुपरेको हो नि’, उनी भन्छन्।

प्रकाशित: १८ चैत २०८२ १८:४८ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast