काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत)को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् ।
यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीनजनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँबराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन मुद्दामा सातजनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा एक करोड ५६ लाख बराबरको बिगो दाबी गरिएको छ ।
प्रहरीले नागार्जुन नगरपालिका–८, भीमढुंगाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुईजनालाई एक करोड १६ लाख रुपैयाँबराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
यसैगरी, काठमाडौं महानगरपालिका–२६, ठमेलबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँबराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विवरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एकसय मुद्दा छन् । रासस



