फाइल तस्बिर / रासस
काठमाडौँ- भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आइतबारको प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्।
बैठक प्रारम्भ भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले आफ्नो आसनबाट उठेर विरोध जनाएपछि बैठकमा केही समय अवरोध भयाे। सभामुख देवराज घिमिरेले नियमित रूपमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रक्रिया अघि बढाउन आग्रह गरे पनि सांसदहरूले बैठक सञ्चालनमा सहमति देखाएनन्।
रास्वपाका सांसद अशिम शाहले संसद्को रोष्ट्रमबाट बोल्दै भने, ‘भिजिट भिसा प्रकरणमा जबसम्म निष्पक्ष छानबिन हुँदैन, हाम्रो विरोध जारी रहनेछ।’ शाहले एक महिनादेखि निरन्तर आवाज उठाइरहँदा पनि सुनुवाइ नभएको गुनासो गर्दै संसद्का महत्वपूर्ण विषयहरू बेवास्ता गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
सभामुख घिमिरेले त्यसपछि बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराउने घोषणा गरेपछि रास्वपाका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरे। बैठकको वातावरण सामान्य बनाउन सत्तापक्षका सांसदहरूले रास्वपा र राप्रपाका सांसदहरूलाई अवरोध नगर्न आग्रह गरे।


