फाइल तस्बिर
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार साँझ टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहसँग भोटेकोशी मा आएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तिव्रता दिन राज्यका सबै अंग परिचालनका लागि आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
यस अवसरमा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीले पारेको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी दिँदै सरकारले नागरिकको सहयोग, उद्धार र राहतका लागि राज्यका सबै सयन्त्र परिचालन गरी हरसंभव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने जानकारी दिएको पनि पोखरेलले बताए।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा हुँदै बहने भोटेकोशी नदीमा अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका थिए।
उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका थिए।
साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनले आग्रह गरेका थिए।


