बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न मुख्यमन्त्री आचार्यको अपिल

हिमाल प्रेस १० भदौ २०८३ २०:०९ | Wednesday, August 26, 2026
बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न मुख्यमन्त्री आचार्यको अपिल

बुटवल- रसुवा, नुवाकोट र धादिङमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।

बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले बुधबार जारी गरेको वक्तव्यमा बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

अचानक आएको बाढीबाट भएको जनधनको क्षति अत्यन्त दुःखद र पीडादायी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई आग्रह गरे।

मुख्यमन्त्री आचार्यले बाढीबाट सिर्जित समस्या कुनै एक जिल्ला वा क्षेत्रको मात्र नभई राष्ट्रिय स्तरकै समस्या भएको बताए। विपद्को समयमा राज्यका तीनै तहका सरकार, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज तथा आम नागरिक एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।

उद्धार तथा राहतमा ढिलाइ हुँदा प्रभावित नागरिकको समस्या थप जटिल हुन सक्ने भएकाले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गर्नुपर्ने उनले बताए।

लुम्बिनी प्रदेश सरकार विपद्मा परेका नागरिकको पीडामा सँगै रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्रभावित नागरिकलाई आवश्यकतानुसार आर्थिक, भौतिक, प्राविधिक तथा नैतिक सहयोग उपलब्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताएका छन्।

प्रकाशित: १० भदौ २०८३ २०:०९ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast