लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

हिमाल प्रेस १ भदौ २०८३ ७:४८ | Monday, August 17, 2026
6
SHARES
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै चेतनारायण आचार्य

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।साउन १२ गते दुई वर्षदेखि सत्ता साझेदार रहेको नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले अन्य दलको समर्थन जुटाएर विश्वासको मत लिन लागेका हुन्।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ७ वटै प्रदेशमा सत्ता गठबन्धन गर्ने गरी सहमति भएपछि तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसले प्रदेशका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो।मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी गरिएको छ।

एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। यो सहमतिमा जनमोर्चा सहित लोसपा र जसपा समेत सहभागी भएका छन्। नयाँ सत्ता समीकरणअनुसार नेकपालाई कुन कुन मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी छ।

नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्र जित थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको बताएका छन्। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय छन्।

हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका एक र लोसपाका एक जना मन्त्री सरकारमा छन्।

लुम्बिनी प्रदेश सभामा ८७ जना संसद् संख्या भए पनि ४ जनाले राजीनामा दिएर गत फागुन २१ गतेको निर्वाचनमा भाग लिन गएपछि ८३ जना मात्रै सांसद विद्यमान छन्। हाल कायम रहेको सदस्य संख्याको आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ।

एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन आवश्यक पर्छ।

प्रकाशित: १ भदौ २०८३ ७:४८ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast