मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि हट्यो प्रदेशसभाको अवरोध

हिमाल प्रेस २१ असार २०८३ १८:१८ | Sunday, July 5, 2026
18
SHARES
मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि हट्यो प्रदेशसभाको अवरोध

काठमाडौँ – मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ।

प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सुरु भएको हो।

मुख्यमन्त्री आचार्यले बजेट विनियोजनका क्रममा छुटेका तथा अपुग भएका योजनालाई विभिन्न माध्यमबाट सम्बोधन गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

महत्वपूर्ण आयोजनामा आवश्यक बजेट थप गर्ने, क्रमागत योजनामा रकमान्तरमार्फत स्रोत व्यवस्थापन गर्ने तथा आवश्यक आयोजनालाई बहुवर्षीय योजनामा समावेश गरेर कार्यान्वयन गरिने उनले बताए।

‘महत्वपूर्ण आयोजनामा बजेटको कमी भए ती आयोजनालाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

निर्वाचन क्षेत्रका आधारमा कतै योजना कम वा बढी परेको भए त्यसलाई पनि विभिन्न माध्यमबाट सन्तुलन मिलाइने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले अन्य प्रदेशहरूले समेत यही अभ्यास अपनाएको बताए।

प्रतिपक्षी दलले उठाएका चासो र चिन्ता सरकारका लागि पनि साझा विषय भएको उल्लेख गर्दै उनले सरकारले सदनमा व्यक्त गरेका प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्ने विश्वास दिलाए। सरकार कुनै पनि विषयलाई नजरअन्दाज गरेर अघि नबढ्ने उनको भनाइ थियो।

मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पताल तथा प्रदेश गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। प्राविधिक विश्वविद्यालय स्थापनाका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक बजेटसमेत विनियोजन गरिएको जानकारी दिँदै उनले लुम्बिनी प्रादेशिक अस्पतालका लागि दुई अर्ब बजेट छुट्याइएको बताए।

प्रतिपक्षी सांसदहरूले उठाएका सुझाव र ध्यानाकर्षणलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सदनमा व्यक्त गरिएका सबै प्रतिबद्धता कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए।

प्रकाशित: २१ असार २०८३ १८:१८ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast