महाधिवेशन २०८४ अगावै हुन्छ : महामन्त्री शर्मा

हिमाल प्रेस ९ चैत २०८१ २१:१९
18
SHARES
महाधिवेशन २०८४ अगावै हुन्छ : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८४ अगावै हुने बताएका छन्। कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले शनिबार दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले आमनिर्वाचन हुने भएकाले पनि २०८४ अघि महाधिवेशन हुने दाबी गरे।

उनले भने,‘२०८४ मा आमनिर्वाचन हुने भएकाले पनि पार्टीको महाधिवेशन त्यसअघि सम्पन्न गर्नुपर्ने अवस्था छ। त्यसैले २०८४ अघि महाधिवेशन हुन्छ।’

कांग्रेसको विधान र मुलुकको संविधानले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेकाले बढीमा ६ महिनासम्म मात्रै समय थप गर्न सकिने शर्माको भनाइ छ।

उनले कांग्रेसको महाधिवेशन २०७८ मा भएकाले २०८४ निर्वाचनपछि महाधिवेशन हुन्छ भन्ने नसोच्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

शर्माले पार्टीको महाधिवेशनका सन्दर्भमा चैत महिनाभित्र क्रियाशील सदस्यताको नवीकरण गर्ने काम सम्पन्न भइसक्ने जानकारी दिए। कांग्रेस आफैँमा बलियो हुनुपर्नेमा जोड दिँदै उनले सबैबीच एकता र सद्भाव कायम राख्नुसक्नुपर्ने उल्लेख गरे।

‘कांग्रेसले आन्तरिक सुधार गर्नुपर्छ। एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्न सकेमात्रै जनताले कांग्रेसलाई स्वीकार गर्नेछन्। पार्टीभित्रका समस्या समाधान गर्दै कांग्रेस एक बनाउने अभियानमा सबै लाग्नुपर्छ,’ उनले भने।

महामन्त्री शर्माले पार्टीभित्रको वर्तमान व्यवस्थालाई बलियो बनाउँदै सुधार गरेर लैजानुको विकल्प नभएको बताए। उनले भने,‘जनताका निराशा र असन्तुष्टि सम्बोधन गर्ने प्रमुख जिम्मेवारी राजनीतिक दलको हो। यसका लागि सबै दलबीच समन्वय र सहकार्य आवश्यक छ।’

फरक प्रसंगमा उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिाया परिवर्तन गर्नुपर्नेमा बताए।

अहिलेको कानुनुी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

महामन्त्री शर्माले कानुन, प्रशासनलगायतका क्षेत्रमा २० वर्ष बढी काम गरी अनुभव बटुलेका निष्पक्ष व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने बताए।

खुला प्रतिस्पर्धाबाट आएका व्यक्तिले थप निष्पक्ष र पारदर्शी ढंगबाट काम गर्न सक्ने उनको भनाइ छ।

प्रकाशित: ९ चैत २०८१ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast