
काठमाडौँ- पूर्वश्रममन्त्री डीपी अर्यालले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय ‘घुस संकलनको अड्डा’ बनेको आरोप लगाएपछि मन्त्रालय र म्यानपावर व्यवसायीमा तरंग उत्पन्न भएको छ। अर्यालले मन्त्रालयका अधिकारीहरूले श्रमिकहरूसँग संकलन गरेको घुस रकम मन्त्रीसम्म पुग्ने बताएका थिए। म्यानपावर कम्पनी र रोजगारदाता देशको कूटनीतिक नियोगबाट पनि श्रममन्त्रीको टेबुलमा घुस रकम पुग्ने अर्यालको दाबी छ।
गत शुक्रबार प्रतिनिधिसभाको बैठकमा अर्यालले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस संकलन गरी श्रम मन्त्रालयअन्तर्गतका कर्मचारीदेखि माथिल्लो तहसम्म पुग्ने गरेको आरोप लगाएका हुन्। उनले यस्तो अनियमितता रोक्न वैदेशिक रोजगार विभागका महानिर्देशक र श्रममन्त्री दुवैलाई अनुरोध गर्दासमेत सुनुवाइ नभएको बताएका थिए।
मन्त्री भइसकेका व्यक्तिले कर्मचारीमाथि यस्तो आरोप लगाएपछि कर्मचारी र म्यानपावर व्यवसायीमा चर्चाको विषय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति अर्याल पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा श्रममन्त्री थिए। मन्त्रालय बिचौलियाले चलाएको उनको आरोप छ।
मन्त्रीको भनाइमा म्यानपावर व्यवसायी पनि सहमत देखिएका छन्। वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरि पाण्डेले रोजगारदाता देशका कूटनीतिक नियोग र भिसाको काममा सामान्य समस्या भएपछि घुस खुवाएर काम गर्नुपर्ने बाध्यता भएको बताए। उनले कतिपय देशका दूतावासका कर्मचारी पैसा नखाई मागपत्र प्रमाणीकरण नगर्ने र श्रम कार्यालयका कर्मचारीहरूले समेत घुस खाएपछि मात्र छिटो काम गर्ने बताए। उनले हिमालप्रेससँगको कुराकानीमा भने, ‘कसले र कुन शाखाका कर्मचारीले घुस उठाएर खान्छन् भन्ने प्रमाण मसँग छ। आवश्यक परे देखाउनेछु।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले भने मन्त्रालय ‘घुस संकलनको अड्डा’ बनेको भन्ने आरोपको खण्डन गरे। उनले श्रम कार्यालयमा दैनिक ७५ लाख घुसकै लागि पैसा उठाएको केही प्रमाण भेटिए त्यसमा संलग्न कर्मचारीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। भण्डारीले हिमालप्रेससँग भने, ‘श्रम कार्यलयबाट एक रुपैयाँ घुस लिएको प्रमाण कसैले देखाए तत्काल व्यक्ति, संस्था र श्रम मन्त्रालयकै कर्मचारीलाई समेत कारबाही गरी पदबाट राजीनामा दिन्छु। मैले घुस खाएको प्रमाण भए देखाउन चुनौती दिन्छु।’
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यप्रसाद खत्री पनि यस विषयमा आफू जानकार नभएको बताउँछन्। उनले भने, ‘श्रम कार्यालय श्रम स्वीकृतिको काम गर्ने निकाय हो। त्यहाँ पैसाको त्यस्तो चलखेल हुँदैन।’ मन्त्री भइसकेका व्यक्तिले यस्तो आरोप लगाउनु गम्भीर विषय भएको भन्दै म्यानपावर व्यवसायीहरूले यस विषयमा छानबिन गर्नुपर्ने बताएका छन्।
यसरी बाँडिन्छ घुसको पैसा
वैदेशिक रोजगार विभागका कर्मचारी पनि श्रम कार्यालयका कर्मचारीले उठाएको पैसा श्रममन्त्री, सचिव, विभागका महानिर्देशक र कार्यालयकै कर्मचारीले बाँड्ने गरेको दाबी गर्छन्। श्रम कार्यालयबाट हालै सरुवा भएका एकजना अधिकृतका अनुसार वैदेशिक रोजगार विभाग र कार्यालय दुवैले म्यानपावरसँगै व्यक्तिगत भिसाको काम गर्दा घुस लिन्छन्।
ती अधिकृतले भने, ‘विभाग र कार्यालयबाट दैनिक ८० देखि एक करोड घुस संकलन हुन्छ। यो पैसा श्रममन्त्री, सचिव, श्रम मन्त्रालयको प्रशासन शाखा, विभागका महानिर्देशक र श्रम कार्यालयका प्रमुखसँगै बिचौलियासम्म पुग्छ।’ म्यानपावरमा भएको ठगी, भिसा जारी, घरेलु रोजगारीमा महिला कामदारको भिसा, स्वास्थ्य र व्यक्तिगत भिसामा केही समस्या आए घुसकै भरमा काम हुने दाबी ती अधिकृतको छ। कतिपय संस्थागत र व्यक्तिगत भिसामा समस्या हुँदा मन्त्री, विभागका महानिर्देशक र सचिवको निर्देशनमा काम कर्मचारी गरेर श्रम स्वीकृति निल्काने गरेको ती कर्मचारीले बताए।
उनका अनुसार खाडी र मलेसिया जाने कामदारको भिसामा समस्या आए प्रतिकामदार ५० हजारसम्म घुस खाएर काम हुन्छ। जापान, युरोप र विकसित देशको भिसामा समस्या भए प्रतिभिसा ९० देखि एक लाख २० हजार घुस खाएर श्रम कार्यालयबाट म्यानपावर र कार्यालयसँग जोडिएका बिचौलियाको सेटिङमा काम गर्नुपर्ने अवस्था छ। ‘बिचौलिया र सेटिङमा काम गर्न नसक्ने र पैसा एक्लै खाने कर्मचारी विभाग र कार्यालयमा टिक्दैन्। कार्यालयमा म्यानपावर सञ्चालकले पावर लगाए कस्तो-कस्तो काम गराउँछन्। यहाँ भित्रको सेटिङ डरलाग्दो छ। प्रधानमन्त्रीदेखि श्रम मन्त्रीको शक्तिमा कतिपय म्यानपावरले मानव तस्करी गरिरहेका छन्’, उनले भने।
दैनिक तीन हजारसम्म श्रम स्वीकृति जारी हुँदा ३-४ सय भिसामा केही न केही समस्या आउने विभागका अधिकारीहरू बताउँछन्। कर्मचारीले बिचौलियासँगको मिलोमतोमा घुस उठाएर काम गरी बाँड्ने गरेको ती कर्मचारीले बताए।
श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले मन्त्रालय घुसको अड्डा मात्रै बन्यो भनेर आरोप मात्रै लगाएको बताउँछन्। घिमिरेले भने, ‘बाहिर जस्तो हल्ला भइरहेको छ। यसमा सत्यता छैन। कर्मचारीले खुलेआम घुस खाएको प्रमाणसहित उजुरी गरेर तत्काल कार्यालयमै गएर कारबाही हुनेछ।’