फुटबलमा चितवनसँग पोखरा पराजित

हिमाल प्रेस १८ चैत २०८१ २२:०६ | Monday, March 31, 2025
फुटबलमा चितवनसँग पोखरा पराजित

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा चितवन एफसीले जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एकएक गोल गरे।

चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए। यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे। यस जितसँगै चितवनले ३ अंक जोड्यो।

जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टिम हो। यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए। भोलि बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

माब्लोनोभले खेलको १५औं मिनेटमा फरवार्ड भिक्टर मानसारेले राइट साइडबाट दिएको कटब्याकलाई सदुपयोग गरेका हुन्। पेनाल्टी बक्सभित्रबाट प्राप्त बललाई बक्स बाहिर रहेका नोदिर माब्लोनोभले वान टचमा पहिलो बारको जाली चुमाए।

इन्जुरी समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी निरज (चौधरी)ले मैदान प्रवेश गरेको केही मिनेटपछि नै गोल गर्दै चितवनको जित सुनिश्चित गरे।

खेलको ३१औं मिनेटमा विंगर शिशिर लेखीको शक्तिशाली प्रहार पोखराका गोलकिपर प्रिसो एनजाङ्गाले बचाउँदा चितवनले अग्रतालाई बढाउन सकेन। यसबाहेक पहिलो हाफमा दुवै टोलीबाट गोल गर्न लायक अवसरहरु सृजना हुन सकेनन्।

दोस्रो हाफमा पोखरा चितवनविरुद्ध हाबी देखियो। तर तीन अवसरमा पोखरा गोल गर्नबाट चुक्यो । खेलको ५३औं मिनेटमा मिडफिल्डर जो ऐडोले ३० यार्ड परबाट गरेको शक्तिशाली प्रहार क्रस बारभन्दा माथिबाट बाहिरिँदा चितवनले राहतको सास फेरेको थियो। चार मिनेटपछि फरवार्ड समीर तामाङले राइट साइडबाट दिएको लामो दूरीको क्रसमा अर्का फरवार्ड स्टेफन समीर विनोङको हेडरले पोस्टको दिशा लिन सकेन । विनोङको हेडर दोस्रो बार नजिकैबाट बाहिरिएको थियो।

खेलको ८६औं मिनेटमा जोनाथन क्याम्पबेलको क्रसमा मानसारेको वान टच प्रहारले पोस्टको दिशा लिन नसक्दा चितवनले अग्रता बढाउन सकेको थिएन।

प्रकाशित: १८ चैत २०८१ २२:०६ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast