निधिको प्रस्ताव : संघमा पाँच हजार प्रहरी राखेर बाँकी प्रदेशमा पठाऔँ

हिमाल प्रेस १४ माघ २०८१ २०:१७
150
SHARES
निधिको प्रस्ताव : संघमा पाँच हजार प्रहरी राखेर बाँकी प्रदेशमा पठाऔँ का‌ग्रेस नेता विमलेन्द्र निधि

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशहरूमा समायोजन गर्न प्रस्ताव गरेका छन्। सोमबार संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै निधिले यस्तो प्रस्ताव गरेका हुन्।

प्रदेशलाई अधिकारसम्पन्न र थप सशक्त बनाउन प्रहरीको ठूलो हिस्सा प्रदेशमा पठाउनुपर्ने उनको भनाइ थियो। अहिले संघीय संरचनामा सशस्त्र प्रहरी ३६ हजार र जनपद प्रहरी ७९ हजार रहेका छन्।

आफ्नो प्रहरी र प्रशासन नहुँदा प्रदेशहरू कमजोर देखिएको बताउँदै उनले संघीय व्यवस्थालाई संस्थागत गर्न तत्काल प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए।

‘संघीयतालाई संस्थागत गर्न प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ। उनीहरूको कार्यक्षेत्र बलियो बनाउन पनि हामीले प्रदेशहरूलाई अधिकार दिनुपर्छ। संघमा पाँच हजार प्रहरी पर्याप्त छन्, बाँकी प्रदेशहरूमा पठाउनुपर्छ,’ पूर्वगृहमन्त्रीसमेत रहेका निधिले भने।

उनले संविधान संशोधनका लागि ढिलाइ गर्न नहुने बताए। कांग्रेस र एमालेबीच भएको सातबुँदे समझदारीअनुसार संविधान संशोधन प्रस्ताव छिटो संसदमा पेस गर्नुपर्नेमा निधिले जोड दिए।

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनको ल्होत्से हलमा बसेको बैठकमा कांग्रेसका सांसदहरूले संसद बैठक छलेर सरकारले ल्याएको अध्यादेशको औचित्यबारे प्रश्न गरेका थिए।

बहुमत छँदाछँदै संसद छलेर अध्यादेश ल्याइएकोप्रति उनीहरूले आपत्ति जनाएका थिए।

आगामी १८ गते बस्ने संसदीय दलको बैठकमा शीर्ष नेताहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ। संसदको हिउँदे अधिवेशन पनि माघ १८ गतेबाट सुरू हुँदैछ।

प्रकाशित: १४ माघ २०८१ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast