राप्रपा नेता भरत मल्ल।
काठमाडौँ- आफू धवलशमशेर राणाको नवगठित पार्टी जय नेपालमा लागेको हल्ला फैलाइएपछि राप्रपा मधेश प्रदेशका उपाध्यक्ष भरत मल्लले आपत्ति जनाएका छन्। उनले विज्ञप्तिमार्फत आफ्नो सहमति र जानकारी बिनै पटकपटक जय नेपाल पार्टीसँग जोडेर प्रचार गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै प्रचारको खण्डन गरेका छन्।
‘मेरो राजनीतिक जीवन, योगदान र आबद्धताबारे सत्यतथ्य नबुझी वा सम्बन्धित व्यक्तिसँग कुनै जानकारी नै नलिई मेरो नाम अन्य राजनीतिक दलसँग जोड्नु गैरजिम्मेवार र आपत्तिजनक कार्य हो।’ मल्लले भनेका छन्,‘ मसँग कुनै जानकारी वा आधिकारिक पुष्टि नगरी मेरो नाम ‘जय नेपाल पार्टी’सँग जोडेर गरिएका सम्पूर्ण प्रचारहरू निराधार, भ्रामक र तथ्यहीन छन् । यस्ता गलत प्रचारले मेरो व्यक्तिगत राजनीतिक प्रतिष्ठामा आँच पुऱ्याउनुका साथै आम कार्यकर्ता तथा शुभेच्छुकहरूमा समेत भ्रम सिर्जना गरेको छ।’
मल्ल राप्रपाको संस्थापक सदस्य हुँदै बारा जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका नेता हुन्। राप्रपाकै महामन्त्री राणाले केही समयअघि नयाँ दल जय नेपाल पार्टी गठन गरेका छन्। पछिःल्लो समय राप्रपाका नेताहरू नयाँ दलमा प्रवेश गरिरहेका छन्। यही सन्दर्भमा मल्लको समेत नाम आएको थियो।



