धरानका मेयर साम्पाङले अधिकार दुरुपयोग गरेको महासंघको ठहर

हिमाल प्रेस २८ पुष २०८१ १५:२०
16
SHARES
धरानका मेयर साम्पाङले अधिकार दुरुपयोग गरेको महासंघको ठहर

काठमाडौँ- धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको ठहर नेपाल पत्रकार मसहांघले गरेको छ। महासंघले पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदनमा यस्तो निष्कर्ष निकालेको हो।

महासंघले आइतबार सार्वजनिक गरेको प्रतिवेदनका मुख्य बुँदामा उल्लेख छ, ‘हर्कराज राई गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको देखिन्छ।’ यसैगरी राईका विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभाव पारेको महासंघको निष्कर्ष छ।

महासंघले भनेको छ, ‘राईले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको देखिन्छ।’ यसैगरी ईले सामाजिक सञ्जालमा उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेको आफ्ना समर्थकहरूलाई पनि त्यस कामका लागि हौसाएको पाइएको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

महासंघ केन्द्रीय कार्यसमितिले सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले आफ्नो प्रतिवेदन पेस गरेको छ। केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्‌ले र वरिष्ठ पत्रकार हर्ष सुब्बा संलग्न मिसनले सबै पक्षसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदन महासंघमा पेस गरेको हो।

यसैगरी धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईका गतिविधि सामाजिक रुपमा दुरी र द्वन्द्व बढाउने खालका रहेको उल्लेख छ। प्रमुख राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जती गर्ने, समर्थकबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका कार्य भइरहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा उल्लेख छ, ‘नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युबरलाई प्रयोग गरेको पाइएको छ। व्यावसायिक पत्रकारहरूलाई निसाना बनाउने काम गरेको देखिन्छ। जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ।’

यसैगरी नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत नगर प्रमुखले पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडियो सामग्रीहरू बनाउने कार्यले पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

महासंघले राईमाथि थप छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गरिने जनाएको छ।

प्रकाशित: २८ पुष २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast