काठमाडौँ- आज साँझ ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। मन्त्रिपरिषद् बैठक स्थगित गरी सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस-नेकपा एमालेका शीर्ष नेता छलफलमा जुटेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा, कांग्रेस महामन्त्री गगनकुमार थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत नेता छलफलमा सहभागी छन्। छलफल प्रधानमन्त्रीको आसन्न चीन भ्रमणसहित समसामयिक राजनीतिक घटनाक्रम विशेष रहेको बताइएको छ।
सोमबार साँझमात्रै पनि कांग्रेस सभापति देउवा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। ओलीलाई भेटेर फर्किएका देउवाले आज मंगलबार पार्टीका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग आफ्नै निवास बूढानीलकण्ठमा छलफलगरेका थिए।