सहकारी ठगी प्रकरण : रास्वपाका सभापति लामिछानेसँग सोधपुछ

हिमाल प्रेस ७ भदौ २०८१ १८:५३ | Friday, August 23, 2024
सहकारी ठगी प्रकरण : रास्वपाका सभापति लामिछानेसँग सोधपुछ संसदीय छानबिन विशेष समितिमा गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने

काठमाडौँ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ।

समितिको शुक्रबार बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए।

समिति सचिव बविता मिश्रकाअनुसार शुक्रबारै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो।

समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रुपमा आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ। विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ।

विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ।

छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको अध्ययन गरिरहेको छ। समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ।

प्रकाशित: ७ भदौ २०८१ १८:५३ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast