उपेन्द्रलाई फकाउँदै प्रचण्ड

हिमाल प्रेस २४ साउन २०८१ १३:०८ | Thursday, August 8, 2024
उपेन्द्रलाई फकाउँदै प्रचण्ड माओवादी अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समाजवादी मोर्चाको पछिल्लो बैठकमा अनुपस्थित भए। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा भाबी कार्ययोजनाबारे छलफल भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट भएर यादव बैठकमा नगएका हुन्।

प्रचण्ड प्रधानमन्त्री भएकै बेला जसपा विभाजन गरिएपछि अध्यक्ष यादव रुष्ट छन्। मधेश आन्दोलनबाट नेपाली राजनीतिमा उदाएका उपेन्द्र सुरुदेखि प्रचण्डसँग नजिक रहँदै आएका नेता हुन्। उनै प्रचण्ड प्रधानमन्त्री रहेका बेला आफ्नो पार्टी फुटेपछि यादव रुष्ट भए। एमाले अध्यक्ष ओलीले सरकारमा स्पेस नदिएपछि उपेन्द्र फेरि प्रचण्ड नेतृत्वको विपक्षी मोर्चामा नजिकिन खोजेका छन्।

संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गर्दै गर्दा उत्साहित भएर उपेन्द्रले स्वागत गरेका थिए। दुई दलबीचको सहकार्यले राजनीतिक स्थिरता दिने अपेक्षा व्यक्त गरेका थिए।

‘राष्ट्रिय सहमतिको सरकार बनाउने गरी दुई दलबीच भएको सहमति निकै सकारात्मक छ। यसले राजनीतिक स्थिरताको सन्देश दिएको छ’, कांग्रेस-एमाले गठबन्धनप्रति समर्थन जनाउँदै जसपा नेपालका नेता मनीष सुमनले विज्ञप्ति निकालेर भनेका थिए, ‘नयाँ बन्ने सरकारलाई हाम्रो समर्थन रहन्छ।’

जसपा विभाजनपछि माओवादी केन्द्र नेतृत्वको अघिल्लो सरकारलाई दिएको समर्थन फिर्ता लिएर यादव पक्षीय जसपाले यसरी कांग्रेस-एमाले गठबन्धन सरकारलाई समर्थन जनाउने घोषणा गरेको थियो। संसद्‌मा पनि सत्ता पक्षको बेन्चमा आफूलाई उभ्याएको थियो।

यत्ति गर्दासमेत प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारमा अशोक राई पक्षीय जसपालाई समेटे भने मधेश प्रदेशमा सीके राउत नेतृत्वको जनमतलाई साथ दिए।

ओली नेतृत्वको केन्द्र सरकारमा राई नेतृत्वको जसपाका दुई मन्त्री छन्। प्रदीप यादवले खानेपानीमन्त्री र नवलकिशोर साह सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक साउन १८ मा केन्द्र सरकारलाई पूर्णता दिएका थिए। जसमा उनले जसपा नेपाललाई कुनै वास्ता गरेनन्। जहाँ नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने राज्यमन्त्री लिँदै समावेश भएको छ।

मधेश सरकारमा पनि यादव नेतृत्वको जसपाले भूमिका पाएन। सुरुमा उत्साहित भएर कांग्रेस-एमाले गठबन्धनको स्वागत गरेका यादवले पछिल्लो समय वर्तमान सत्ता गठबन्धनलाई ‘परिवर्तन विरोधी’ को संज्ञा दिइरहेका छन्।

साउन साउन १९ गते काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस र एमाले गठबन्धन २०४७ को संविधान ल्याउने प्रयासमा रहेको आरोप लगाए।
‘नेपाली कांग्रेसले त्यही केपी शर्मा ओलीलाई काँधमा बोकेर सहकार्य केका लागि गर्न लाएको?’ उनको प्रश्न छ, ‘समावेशितालाई अन्त्य गर्ने, प्रतिनिधि र प्रदेशसभाबाट समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने, यसलाई खारेज गरेपछि के हुन्छ बाँकी?’ थ्रेसहोल्ड बढाएर साना दललाई सिध्याउन खोजेको आरोप उनको छ।

कांग्रेस र एमाले नेतृत्वको गठबन्धनमा स्थान नपाएपछि उपेन्द्र प्रतिपक्षीको बेच्नमा रहेको मोर्चासँग नजिकिन खोजेका हुन्। प्रचण्डसँग संवादमा रहेका यादवले पुष्पलालको जन्म शताब्दीको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले साउन १२ मा आयोजना गरेको एक कार्यक्रममा मञ्चसमेत सेयर गरेका थिए। कार्यक्रममा यादवले प्रचण्डतर्फ लक्षित गर्दै सत्ताका लागि जे पनि गर्न तयार हुने भन्दै कटाक्ष गरेका थिए। कटाक्षका साथसाथै यादवले प्रचण्डको नेतृत्वमा मुलुकमा परिवर्तन आएको भनेर प्रशंसासमेत गरेका थिए।

पूर्वसहकर्मी र मोर्चा खोज्दै प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड’ लाई लाग्ने गरेको एउटा आरोप हो– शक्तिमा हुँदा सबै बिर्सन्छन्, शक्तिमा जब कमजोर हुन्छन् तब दलहरूका बीचमा मोर्चा बनाइहाल्छन्। यस्तो आरोपलाई उनका कतिपय व्यवहार र अभिव्यक्तिले सहयोग गरिरहेको हुन्छ।

संविधान निर्माणका क्रममा २०७० मा कांग्रेस र एमाले मिलेपछि प्रचण्डले ठूलै मोर्चा बनाएका थिए। यसपटक पनि कहिले एमाले त कहिले कांग्रेसको समर्थनमा सरकार चलाइरहँदा समाजवादी मोर्चा बनाए। संसद्को अंकगणित आफ्नो प्रतिकूल नहोस् भनेर बनाएको मोर्चामा माओवादी (३२), जसपा (१२) र एकीकृत समाजवादी (१०) संलग्न मोर्चासँग ५४ सांसद थिए, जसले गर्दा कांग्रेस र एमाले नै नमिल्दासम्म प्रचण्ड निर्णायकजस्तै बने। संसद्मा नरहेको र विप्लव नेतृत्वको नेकपा पनि मोर्चामा आबद्ध छ।

१७ असार २०८१ मा कांग्रेस र एमालेले वैकल्पिक सरकार गठनको सहमति गरेपछि प्रचण्ड अठ्यारोमा परे। २८ असारमा विश्वासको मत नपाएपछि प्रधानमन्त्रीबाट पदमुक्त भए। प्रचण्डले फेरि समाजवादी मोर्चालाई सक्रिय बनाउन खोजेका छन्।

यसबीचमा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मोर्चाको बैठक बसेर भावी कार्ययोजनाबारे छलफल भएको छ। नेताहरूका अनुसार मोर्चामा थप दलहरूलाई समेत समेटेर अगाडि बढाउने तयारी छ।

समाजवादी मोर्चाको साउन १ गते बसेको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्रका लागि छुट्याइएको कुर्सी। बैठकमा उनी सहभागी भएका थिएनन्। फाइल तस्बिर

माओवादी केन्द्र हुम्लाले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वसहकर्मीहरूलाई सम्झिए। उनले पार्टीबाट अलग्गिएका नेताहरूलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता जनाए।

कतिपयले फेरि माओवादी केन्द्र पार्टी फुट्न सक्ने बताउने गरेका छन्। यस्तो आशंका गर्नेहरूलाई चिन्ता नलिन आग्रह गर्दै प्रचण्डले फुटेर गएका नेताहरू पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको दाबी गरे।

‘तपाईंहरूलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन्। छिट्टै तपाईँहरूले समाचार सुन्नुहुनेछ’, प्रचण्डले भने।

फुटेका नेताहरू एकजुट गरी पुनः एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको प्रचण्डको भनाइ छ। उनी निकट नेताहरूका अनुसार विगतमा माओवादीबाट छुटेका समूहलाई एकीकृत गर्ने गृहकार्य अगाडि बढेको छ। यसकै आधारमा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रचण्ड पूर्वसहकर्मीहरू खोज्दैछन्। २०५२ सालदेखि १० वर्षसम्म सशस्त्र युद्धमा सँगै रहेका कैयौँ नेताहरू अहिले माओवादीमा छैनन्। रामबहादुर थापा बादल एमालेका उपाध्यक्ष छन्। लेखराज भट्टलगायतका नेताहरू पनि एमालेमा सक्रिय छन्

डा. बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी बनाएर अलग्गै राजनीति गरिरहेका छन्। मोहन वैद्य किरण नेतृत्वमा एउटा पार्टी अगाडि बढिरहेको छ। नेत्रविक्रम चन्द पछिल्लो समय प्रचण्डसँग नजिकिए तापनि उनी नेपाल कम्युनिस्ट पार्टी चलाएर बसिरहेका छन्।

प्रचण्डले सत्ताबाट बाहिरिएपछि पूर्वसहकर्मीका साथसाथै समाजवादी मोर्चालाई समेत सम्झिएका छन्। २१ फागुन २०८० मा सत्ता गठबन्धनमा एमाले आएपछि निष्क्रिय भएको समाजवादी मोर्चा २६ असार २०८१ मा माओवादीको सत्ता बहिर्गमनसँगै सक्रिय हुन खोजेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेपछि एकाएक मोर्चालाई निष्क्रिय बनाएका प्रचण्डले सत्ताबाट बाहिरिएपछि गतिविधि अगाडि बढेको हो।

प्रकाशित: २४ साउन २०८१ १३:०८ | Thursday, August 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast