नेपालमा भएका केही विमान दुर्घटना र क्षति [सूचीसहित]

हिमाल प्रेस ९ साउन २०८१ १३:५१ | Wednesday, July 24, 2024
नेपालमा भएका केही विमान दुर्घटना र क्षति [सूचीसहित] त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका पाइलट मनीष शाक्यको उद्धार गर्दै सेना, प्रहरी।

काठमाडौँ- नेपालमा हवाई उडानको इतिहास त्यति लामो छैन। ७५ वर्षपहिले राजधानी काठमाडौँस्थित गौचर हवाईअड्डामा पहिलोपटक एउटा सानो आकारको विमान अवतरण भएको थियो। सन् १९४९ को अप्रिल २३ (२००६ वैशाख ११) मा काठमाडौँ गौचरस्थित घाँसे मैदानमा एउटा जहाज अवतरण भएको थियो।

उक्त मैदानमा भर्खरै उत्रिएको विमान चारसिटे बोनान्जा बिच एयरक्राफ्ट थियो। त्यही विमान काठमाडौँको इतिहासमा अवतरण भएको पहिलो मानिन्छ।

विमान उडानको साढे सात दशक अवधिमा मानवीय क्षति हुने गरी नेपालमा पाँच दर्जनभन्दा बढी दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ। ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटनामा परेका छन्।

ती दुर्घटनामा परेर नौ सयभन्दा बढीको ज्यान गएको प्राधिकरणको एभीएसन सेफ्टी रिपोर्ट’ मा उल्लेख छ। ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो । १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । सन् २००६ यता भएका ठूला दुर्घटनामा ३४२ जनाको निधन भएको प्राधिकरणको तथ्यांक छ।

सन् २००६ यता भएका केही ठूला दुर्घटना र मानवीय क्षति

जुलाई २०२४ : त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु

जनवरी २०२३ :  पोखरामा यतीको एटीआर जहाज दुर्घटनामा ७२ जनाको मृत्यु

मे २०२२ :  मुस्ताङ जिल्लामा तारा एयरको विमान दुर्घटना हुँदा कम्तीमा  १६ जनाको मृत्यु

अप्रिल २०१९ : सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा  तीनजनाको मृत्यु

फेब्रुअरी २०१९ : एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु

सेप्टेम्बर २०१८ : एल्टिट्युड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जंगलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँचजनाको मृत्यु

मार्च २०१८ : बंगलादेशबाट नेपाल आएको यूएस बांग्ला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु

फेब्रुअरी २०१६ : पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु

मे २०१५ : भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त, छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु

जुन २०१५ : सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चारजनाको मृत्यु

फेब्रुअरी २०१४ : पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु

सेप्टेम्बर २०१२ : काठमाडौँबाट लुक्ला उडेको सीता एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु

मे २०१२ : भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु

सेप्टेम्बर २०११ : माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान काठमाडौँनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु

डिसेम्बर २०१० : लामीडाँडाबाट काठमाडौँ उडेको विमान ओखलढुंगामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु

अगस्ट २०१० : काठमाडौँबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु

अक्टोबर २००८ : लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु

सेप्टेम्बर २००६ : संखुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केलगायतको मृत्यु

प्रकाशित: ९ साउन २०८१ १३:५१ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast