प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार संसद् बैठकमा सम्बोधन गर्न रोस्ट्रमतर्फ अगाडि बढ्दै। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- नेकपा माओवादीका केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांगेस र एमालेबीच भएको सहमति जालसाजीपूर्ण रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। प्रचण्डले कांग्रेस-एमालेलाई अरू कसैले मिलाएको बताए।
उनले भने, ‘कांग्रेस-एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ। त्यो सत्य होइन, तपाईँहरूलाई अरू कसैले मिलाएको हो। किन मिलाएको हो, घामजत्तिकै छर्लंग छ।’ जुन समूहले कांग्रेस-एमालेललाई जोडेको छ, तिनीहरूको सेवा नै कांग्रेस-एमालेको कर्तव्य हुने भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्ने चिन्ता प्रचण्डले व्यक्त गरे।
कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर एमालेका नेतारूले झुटमुटमा राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिराखेको आरोप उनको छ। प्रचण्डले भने, ‘राष्ट्रिय सहमति सदनमा रहेका सबै दलबीच विचारविमर्श गरेर मात्रै हुन्छ।’
पश्चिमाको नक्कल गरेर दुई दलीय बनाउने प्रयास ओपन सेक्रेट रहेको दाबी प्रचण्डले गरे। उनले कांग्रेस-एमालेले २०४७ सालको संविधान फर्काउने कसरत गरेको आरोप लगाए। उनले संविधान नै संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारीका पक्षमा जान प्रस्ताव गरेका छन्। प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ। यसलाई कमजोर बनाउने दिने छैन।’ उनले माओवादीको सहभागिताबिना संविधान संशोधन हुन नसक्ने दाबी पनि गरे।
यसैगरी प्रचण्डले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्ने र त्यसको समर्थन गर्ने साथीहरूले आफूलाई नैतिकताको पाठ सिकाउन खोजेको आरोप लगाए। उनले भने, ‘अल्पमतमा परेपछि विगतमा विगतमा एमाले नेतृत्वले कस्ताकस्ता रणनीतिक महत्त्वका निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ। कसैले मेटाएर मेटिने छैन।’ इतिहासलाई पछाडि फर्काउन खोजिएका नाटकीय घटनाक्रमबाट आफू चिन्तित रहेको उनको भनाइ छ।
लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार नबनाउने उदाहरण सुनाउँदै प्रचण्डले भने, ‘पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर बनाएको छ र निरंकुशता र अधिनायकवादलाई प्रश्रय दिएको छ।’
उनले भने, ‘संसद्को पहिलो र दोस्रो ठूलो दललाई विश्वासले जोडेको भए आदर्शले जोडेको भए निश्चित उद्देश्यले जोडेको भए मेरा लागि चिन्ताको विषय हुने थिएन। तपाईँहरूलाई त्यही डरले जोड्यो। त्यो हो सुशासनको डर।’
यसैगरी प्रचण्डले कांग्रेस र एमालेले अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडाछाड गर्ने प्रयास गरेको आरोप लगाए। उनले भने, ‘लामो संघर्षबाट नेपाली जनताले प्राप्त गरेको उपलब्धि खोस्ने जमर्को गर्दै हुनुहुन्छ। तपाईँहरूको यात्रा प्रतिगमततिर हो भन्ने कुरा सहमति गर्ने तरिका, सहमति गरेका ठाउँहरू, सहमतिको तयारी कसका घरमा हस्ताक्षर गरेका घर, रोजेको समयलाई आमजनताले हेरिरहेका छन् र बोध गरिरहेका छन्।’
उनले नियत सफा भएमा पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा नचाहिने पनि बताए। यसैगरी उनले कांग्रेस-एमाले बिचौलिया बनेको पनि आरोप लगाए। उनले भने, ‘सहमति नाघेर, छलछाम गरेर संविधान संशोधनका लागि राष्ट्रलाई दुर्घटनातिर लैजाने दुस्साहस नगर्नुहोला।


