ओलीलाई माओवादीको प्रश्न, देश बिचौलियाले चलाउन खोजेको हो?

हिमाल प्रेस ६ साउन २०८१ २०:४३ | Sunday, July 21, 2024
ओलीलाई माओवादीको प्रश्न, देश बिचौलियाले चलाउन खोजेको हो? संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन। तस्बिर : रासस

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देश नेताहरूले नभई बिचौलियाहरूले चलाउने खतरा बढेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले देश नेता र राजनीतिक दलले चलाउनुपर्ने बताए।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो। आफूभन्दा अघि अर्थमन्त्री भएका कांग्रस नेता डा. प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न मभन्दा अगाडिका अर्थमन्त्रीले कोसिस गर्नुभयो। मैले पनि सकिनँ। अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ। म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरूले चलाउने हो कि बिचौलियाहरूले?’ उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ। मेरो अपेक्षा नेताहरूले त्याग गर्नुभएको छ। बलिदान गर्नुभएको छ। जेल पर्नुभएको छ। युद्ध सबैबाट आउनुभएको छ। नेताहरूले देश चलाइदिनुस्। पार्टीहरूले देश चलाइदिनुस्। बिचौलियाहरूले होइन।’

पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भष्टाचारका मुद्दामा छानबिन र कारबाही अगाडि बढाएपछि कांग्रेस–एमाले मिलेको टिप्पणी गरे। उनले गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको पनि बताए। प्रतिपक्षमा रहँदा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेन्डा छाड्दैनौं भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा कांग्रेसलाई पनि प्रश्न उठाइने जनाए।

प्रकाशित: ६ साउन २०८१ २०:४३ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast