‘बालविकास शिक्षकलाई समयोचित तालिम र तलब दिइयाेस्’

हिमाल प्रेस १ असार २०८१ १६:५१
3.6k
SHARES
‘बालविकास शिक्षकलाई समयोचित तालिम र तलब दिइयाेस्’

काठमाडौँ– प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) सुष्मा गौतमले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट बालविकास शिक्षकलाई समयोचित तालिम दिँदा त्यसले शिक्षा सुधारमा सहयोग पुर्‍याउने बताएकी छन्।

उर्लाबारी नगरपालिकाले नगरभित्रका विद्यालयका ३१ जना ईसीडी शिक्षकलाई दिएको मन्टेश्वरी तालिममा सहभागी भएकी उनले तालिमबाट सिकाइमा सुधारमा आउने बताएकी हुन्।

उनले भनिन्, ‘यो तालिमअगाडि आफ्नै बुद्धि र विवेकले बालबालिकालाई सहजीकरण गरेकी थिएँ। उर्लाबारी नगरपालिकाले क्षमता अभिवृद्धि गर्न तालिम दिएको छ। अब बालबालिकालाई सिकाउँदा तालिममा सिकेका कुरा प्रयोग गर्नेछु। अहिले सबैतिरबाट अंग्रेजी माध्यमको माग बढिरहेको छ। तालिमबाट सामान्य अंग्रेजी बोलीचाली र आकर्षक शैक्षिक सामग्रीमार्फत बालबालिकालाई सिकाउन सकिने रहेछ भन्ने सिके‌ँ,’ गौतमले हिमालप्रेसँग भनिन्।

गौतमले २०६६ सालदेखि बालविकास सहजकर्ताको रूपमा बालबालिकाई पठनपाठन गराएकी छन्। उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा कार्यरत गौतमले तीन तहकै सरकारले विद्यालयको आधार बालविकास शिक्षामा ध्यान दिनुपर्ने बताइन्। साथै बालविकास शिक्षकलाई समयोचित तालिम, तलब, सेवासुविधा दिन माग गरिन्।

उनले बालविकास शिक्षकलाई सरकारले विभेद गरेको पनि बताइन्। उनको भनाइ छ,‘विद्यालय शिक्षाको जग निर्माण रहेर हामीले काम गर्दा पनि सरकारले विभेद गरेको छ। कामको मूल्यांकन नगरेर विभेद गर्ने हो भने बालविकास केन्द्र हटाउनुपर्छ। हामीलाई दरबन्दी कायम गरेर स्थायी प्रक्रियामा लैजानुपर्छ। वर्षौं काम गरेर रित्तो हात घर फर्कनुपर्ने बाध्यता छ। हामीले प्रधानाध्यापकको हेपाइ पनि सहनु परेको छ।’

हाल बालविकास शिक्षकले संघीय सरकारबाट मासिक रुपमा १० हजार रुपैयाँ र स्थानीय सरकारबाट न्यूनतम ७ हजार रुपैयाँ तलब पाउँछन्।

याे पनि

स्थानीय तहद्वारा ईसीडी शिक्षकलाई मन्टेश्वरी तालिम [तस्बिरहरू]

प्रकाशित: १ असार २०८१ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =