‘आमाको दूधबाट भर्खरै छुटेका नानीहरूलाई आमाकै माया दिने ईसीडी शिक्षकमाथि नै विभेद’

हिमाल प्रेस २ भदौ २०८३ १७:५१ | Tuesday, August 18, 2026
494
SHARES
‘आमाको दूधबाट भर्खरै छुटेका नानीहरूलाई आमाकै माया दिने ईसीडी शिक्षकमाथि नै विभेद’ नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्णकुमारी थापा मगर

काठमाडौँ- नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिकी अध्यक्ष कृष्णकुमारी थापा मगरले राज्य तथा स्थानीय तहबाट बालविकास शिक्षकहरूमाथि भइरहेको हेपाहा प्रवृत्ति र श्रम शोषणप्रति असन्तुष्टि जनाएकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष मगरले सरकारले समयमै बालविकास शिक्षकहरूको उचित व्यवस्थापन नगरे सशक्त सडक आन्दोलनमा उत्रने चेतावनी दिएकी हुन्।

विद्यालयको जगका रूपमा रहेका बालविकास शिक्षकहरूले दूधबाट भर्खरै छुटेका साना बालबालिकाको दिसा-पिसाब सोहोर्नेदेखि आमाको माया दिँदै प्रारम्भिक शिक्षाको जग बसाल्ने कार्यमा खटिएको उनले उल्लेख गरेकी छन्।

यस्तो संवेदनशील र महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दा पनि राज्यले श्रम ऐनले तोकेबमोजिमको न्यूनतम ज्यालासमेत नदिएर चरम श्रम शोषण गरिरहेको उनको आरोप छ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कर्तव्यनिष्ठ भएर काम गर्दा पनि केन्द्र सरकारबाट अपहेलना सहनुपरेको र स्थानीय सरकारबाट सहयोगको साटो थप पीडा दिने काम भइरहेको उनले बताएकी छन्।

विद्यालयभित्रै पनि बालविकास शिक्षकलाई हेप्ने र विभेद गर्ने परिपाटी कायम रहेको तर आफूहरू कहिल्यै आफ्नो जिम्मेवारीबाट पछाडि नहटेको उनको भनाइ छ।

सरकार र सरोकारवाला निकायले बालविकास शिक्षकमाथि भइरहेको यस्तो अन्यायपूर्ण व्यवहार र भिन्नता अविलम्ब अन्त्य नगरे कडा आन्दोलनमा जानुको विकल्प नरहेको अध्यक्ष मगरले बताइन्।

प्रकाशित: २ भदौ २०८३ १७:५१ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast