बैंकिङ क्षेत्रमा नकारात्मकता फैलाउनेलाई कारबाही हुन्छ : अर्थमन्त्री

हिमाल प्रेस ३ चैत २०८० १४:०५
बैंकिङ क्षेत्रमा नकारात्मकता फैलाउनेलाई कारबाही हुन्छ : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरू परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकले आज यहाँ आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संसद्मा छलफल चलिरहेको बताउँदै अर्थमन्त्री पुनले सरकारले लिने नीतिहरू परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने बताए।

‘सरकारका नीतिहरू आधारभूत रूपले परिवर्तन हुँदैनन्। संविधानअनुसारका विभिन्न कानुन बनेका छन् र त्यसैका आधारमा हाम्रा ऐन, नियम कानुन बनेका छन्। तिनैका आधारमा हाम्रा सामाजिक आर्थिक नीतिहरू अघि बढ्छन्’, अर्थमन्त्री पुनले भने, ‘तर सरकार परिवर्तन हुँदा व्यक्तिका काम गर्ने शैली परिवर्तन हुन सक्छन्। फरक शैलीको काम गर्ने तरिकाले नतिजामा पनि फरकपन आउँछ।’

अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायत कारण चौतर्फी रूपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने उनले दाबी गरे।

‘अहिले चारैतिर व्यवस्था बदलियो तर नागरिकको अवस्था फेरिएन भनेर गुनासो आइरहेका छन्। यो गुनासो र युवाको आकांक्षालाई सम्बोधन गर्दै यो देशमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछु’, अर्थमन्त्रीले भने, ‘आफ्नै माटोमा काम गर्छु भन्नेलाई सरकारले सहयोग गर्छ । कहाँनेर सहयोग गर्न सकिन्छ भनेर हामी समीक्षा गर्छौ । जनताको अवस्था किन परिवर्तन भएन भनेर समीक्षा गर्न हामी तयार हुनुपर्छ । सेवा प्रवाहमा हामी कहाँनेर चुक्यौँ भनेर सरकारले समीक्षा गर्छ।’

बैंकसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे। धार्मिक, सामाजिक अतिवाद र समाजलाई विखण्डन गर्न खोज्नेलाई सरकारले कारबाही गर्ने अर्थमन्त्रीले दोहोर्‍याए। पछिल्लो समय सबै क्षेत्रमा नकारात्मकता फैलिँदै गएकामा पनि उनले चिन्ता व्यक्त गरे।

‘बैंकहरूलाई नयाँ सुदखोर र साहुजी भन्न थालिएको छ। राजनीतिज्ञहरू भ्रष्टाचार गर्छन्, तस्कर गर्छन् भन्ने धारणा विकास हुँदै गएको छ। सबैले आफैले आफैलाई गाली गर्ने र कोही पनि ठीक छैन भन्ने भाष्य निर्माण गर्ने परिपाटी राम्रो होइन’, उनले भने, ‘उच्चभन्दा उच्च तहका मानिसलाई पनि छानबिन गरेर कारबाहीको प्रत्याभूति विद्यमान व्यवस्थाले गरेको छ। कोही पनि कानुनभन्दा माथि छैनन्। कोहीसँग नजिक भएकै कारणले उसलाई अपराधी भनेर आरोप लगाउनु हुँदैन। सबैलाई एकै ठाउँमा राखेर आरोप लगाउन हुँदैन तर प्रश्न उठिसकेपछि जवाफ दिनुपर्छ । म माथि प्रश्न उठेको भए मैले पनि जवाफ दिनुपर्छ।’

हरेक संस्था र निकाय किन यति धेरै भ्रष्ट हुँदै गएका छन् भनेर आम रूपमा उठिरहेका प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको मन्त्री पुनले बताए।

सुशासन, आर्थिक समृद्धि, सामाजिक न्यायलाई वर्तमान सरकारले केन्द्रमा राखेको पनि उनले स्पष्ट पारे। ‘हामी को हौँ र जिम्मेवारी के हो भन्ने बोध गरेर अघि बढ्नुपर्ने बेला आएको छ। म अर्थमन्त्रीका रूपमा स्थायी जागिर खान आएको होइन। जति समय बस्छु, अर्थतन्त्र र समाजमा सकारात्मक आशा जाग्ने गरी काम गर्छु। आशाको सञ्चार गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो’,अर्थमन्त्री पुनले भने।

प्रकाशित: ३ चैत २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =