नेपालसामु हङकङको २१३ रनको लक्ष्य

हिमाल प्रेस २६ फागुन २०८० १३:०७
4
SHARES
नेपालसामु हङकङको २१३ रनको लक्ष्य

काठमाडौँ- नेपालविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा हङकङले २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको हो।

बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए। अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए।

उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए।

यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने। अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का हिर्काए।

अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए। उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए।

नेपालको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विवके यादव, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विनोद भण्डारी, प्रतिश जिसी, सागर ढकाल, रासिद खान र आकाश चन्द रहेका छन् ।

त्रिदेशीय शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

प्रकाशित: २६ फागुन २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =