विदेशी विद्यार्थी भित्र्याउन सरकारी नीति ठिक छैन : प्रा.डा. बालचन्द्र लुइटेल [भिडिओसहित]

हिमाल प्रेस २२ फागुन २०८० १६:३५
132
SHARES
विदेशी विद्यार्थी भित्र्याउन सरकारी नीति ठिक छैन : प्रा.डा. बालचन्द्र लुइटेल [भिडिओसहित]

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इजुकेसन (शिक्षाशास्त्र संकाय) का डिन प्राध्यापक डा. बालचन्द्र लुइटेलले नेपालका विश्वविद्यालयमा विदेशी विद्यार्थी ल्याउन सरकार नै अग्रसर हुनुपर्ने बताएका छन्। सरकारले विदेशी विद्यार्थी ल्याउन अर्थतन्त्र सुधार गर्नुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाउनुपर्ने र नीतिगत समस्या समाधान गर्नुपर्ने सुझाव लुइटेलको छ।

उनले भने, ‘विदेशी विद्यार्थीसम्बन्धी नियममा परिवर्तन हुनुपर्छ।’ हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एड्टक’ मा कुराकानी गर्दै लुइटेलले उक्त समस्या समाधान गर्न सबै लाग्नुपर्ने बताए। उनले नेपालमा पर्यटक आकर्षित गरेजस्तो सजिलो विद्यार्थी आकर्षित गर्नमा नभएको बताए। त्यसका लागि स्पष्ट योजना हुनुपर्ने प्राध्यापक लुइटेलको भनाइ छ।

उनले भने, ‘सुधार गर्न हामी सबै लाग्नुपर्छ। पर्यटक आकर्षित गरेजस्तो होइन विद्यार्थी आकर्षित गर्नु। विदेशी विद्यार्थी त्यत्तिकै आउँदैनन्। आऊ पढभन्दा उनीहरू मान्दैनन्। हामीसँग योजना हुनुपर्छ।’ नेपाली मात्र नभई विदेशी विद्यार्थी लैजाने देशहरूले नीतिगत, भौतिक पूर्वाधारमा ठूलो लगानी गरेको उदाहरण दिँदै उनले नेपालले पनि सोहीअनुसार काम गर्नुपर्ने बताए। लुइटेलले विदेशी विद्यार्थीका लागि भिसा सहज बनाउन सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘विदेशी विद्यार्थी ल्याउन नेपाल सरकारले नै असहज बनाएको छ।’

विद्यार्थी लैजान अस्ट्रेलियन सरकारले ठूलो सहयोग गर्ने उदारहण दिँदै उनले भने, ‘भिसा र भौतिक पूर्वाधारका लागि सहज बनाइदिएको छ। उसको अर्थतन्त्र बढिरहेको छ। विद्यार्थी त्यहाँ गएर रोजगारी पाउँछन्। यस्तो काम  नेपाल सरकारले पनि गर्नुपर्‍यो। विश्वविद्यालय एक्लैले गरेर हुँदैन।’

सरकारले विदेशी विद्यार्थी ल्याएर पढाउँदा हुने फाइदाबारे बेलैमा सोच्नुपर्ने उनको भनाइ छ। साथै उनले शिक्षालाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘विदेशी विद्यार्थीसँग दोब्बर शुल्क लिन मिल्यो। अस्ट्रेलियाको अर्थतन्त्र त्यहीँबाट वृद्धि भएको हामीले बुझेका छौँ। यो एउटा उद्योग हो। हामीले पनि शिक्षालाई उद्योगका रूपमा विकास गर्नुपर्छ।’

प्रा.डा. लुइटेलले नेपालको अध्यागमन नियमलाई सुधार गर्नुपर्ने बताए। राणाकालको अध्यागमनबाट गणतन्त्रकालको अध्यागमन बनाउनुपर्ने सुझाव उनको छ। ‘स्टडी इन नेपाल भनेर वेबसाइट बनाउनुपर्‍यो। अध्यागमनको वेबसाइटमा राखिदिनुपर्‍यो। त्यहीँबाट विद्यार्थीले अनलाइन फाराम भरोस्,’ उनले भने, ‘इथियोपियाको मान्छेलाई अनअराइभल भिसा छैन। उसले उताबाट फर्म भर्छ। न नजिकको दूतावासले रेन्सपोन्स गर्छ न यहाँको अध्यागमन विभागले रेसपोन्स गर्छ।’

नेपालका कतिपय कर्मचारीको इमेल नै नचल्ने लुइटेलले बताए। ‘हाम्रा बेवसाइट ह्याक हुन्छन्। वेबसाइट चलेका हुँदैनन्। विदेशी विद्यार्थी ल्याउन अध्यागमनमा पुनर्संरचना जरुरी छ’, उनले भने।

लुइटेलले शैक्षिक कूटनीतिमा जोड दिनुपर्ने बताए। उनले भने, ‘विश्वका जतिवटा मुलुकमा नेपालका राजदूतावास छन् त्यहाँबाट एडुकेसन डिप्लोमेसीको पहल गर्नुपर्छ।’ दूतावासबाट नेपालका विश्वविद्यालय र त्यहाँ पढाइ हुने विषयबारे जानकारी गराउन सकिने उनले बताए।

उनले भने, ‘विश्वका जतिवटा मुलुकमा नेपालका राजदूतावास छन्, त्यहाँबाट राजदूतहरूले एडुकेसन डिप्लोमेसीमा पनि पहल गर्नुपर्छ। नेपालका विश्वविद्यालयमा यस्ता विषय पढाइ हुन्छन् भने जानकारी गराउन सकिन्छ। बुद्ध दर्शन, आआफ्ना जातजातिका दर्शन छन्। यसमा अध्ययन गरौँ भनेर नेपाल आउन प्रेरित गरौँ।’

साथै उनले नेपालमा जैविक विविधताको राम्रो अध्ययन हुन सक्ने सम्भावना रहेको औँल्याए। ‘विदेशी विद्यार्थी योग पढ्ने हो भने नेपालमा आऊ भन्नुपर्छ। योगबारे काठमाडौँ विश्वविद्यालय पढाइ हुन्छ। संस्कृत विश्वविद्यालयमा संस्कृतमा पढाइ हुन्छ’, उनले भने।

लुइटेलले लुम्बिनी विश्वविद्यालयमा भारतकै विद्यार्थी पढाउँदा पनि बुद्ध जन्मस्थानबारे भ्रम हट्ने बताए। उनले भने, ‘लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतबाट विद्यार्थी ल्याएर पढाउन सकियो भने पनि बुद्ध भारतमा जन्मेका हुन् भनेर भन्दैनन्। भ्रम हट्छ। ती विद्यार्थीले नेपालमा बुद्ध जन्मेको ठाउँमा बुद्धदर्शनमा विद्यावारिधि गरेको छु भन्न सक्छ, यो नभने पनि बुद्ध भारतमा जन्मेका हुन् भन्न सक्दैनन्।’

 

प्रकाशित: २२ फागुन २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =