साइकल पाएपछि नियमित विद्यालय आउन थाले विद्यार्थी

हिमाल प्रेस ३ जेठ २०८१ १७:३९
102
SHARES
साइकल पाएपछि नियमित विद्यालय आउन थाले विद्यार्थी

झापा‍- झापा गाउँपालिकाले बीचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई नि:शुल्क साइकल वितरण गर्दै आएको छ। पढ्न प्रोत्साहन गर्ने उद्देश्यले २०७५ सालदेखि बर्सैपिच्छे कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण गरिँदै आइएको हो।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुकुमारी थपलियाले छ वर्षको अवधिमा एक हजार भन्दाबढी विद्यार्थीले पालिकाबाट अनुदानको साइकल पाएका जानकारी दिइन्। उनका अनुसार पालिकाभित्र पाँच वटा माध्यमिक विद्यालय छन्। यस वर्ष तीन सय ५३ वटा साइकल वितरण गरिएको पालिकाले जनाएको छ।

जनता माविमा १३१, डिल्लीराज माविमा १३५, जनकल्याण माविमा ३५, कुवाडीदेवी माविमा २८ र महेन्द्र माविमा २४ वटा साइकल वितरण गरिएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिइन्।

‘गाउँमा टाढाबाट पैदल विद्यालय आउनेले कक्षा ९ र १० मा पुगेपछि पढाइ बीचमा छाड्ने गरेको पाइएपछि साइकल बाड्ने कार्यक्रम ल्याएका हौँ’,उनले भनिन्,‘साइकल पाएपछि उनीहरूले पढाइ छाडेका छैनन्। पढाइप्रति थप आकर्षण बढेको पाइएको छ।’

२०७५ मा पालिकाले पहिलोपटक कक्षा नौ का छात्रालाई मात्र साइकल वितरण गरेको थियो। छात्राहरूले विद्यालय तहको शिक्षा अधुरो नछाडुन् भन्नका लागि प्रोत्साहन स्वरुप सुरु गरिएको साइकल वितरण कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ।

आदिवासी, मुस्लिम र अतिविपन्न परिवारको बाहुल्य रहेको यस पालिकामा ‘साइकल वितरण कार्यक्रम’ प्रभावकारी बनेको छ।

प्रकाशित: ३ जेठ २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =