थोरै रकम लिएर गुणस्तरीय शिक्षा दिइरहेका छौँ : विष्णु घिमिरे रिमाल, प्रअ ज्ञानोदय मावि [अन्तर्वार्ता]

रमेश दवाडी ६ असार २०८१ १८:०८
2.8k
SHARES
थोरै रकम लिएर गुणस्तरीय शिक्षा दिइरहेका छौँ : विष्णु घिमिरे रिमाल, प्रअ ज्ञानोदय मावि [अन्तर्वार्ता]

विष्णु घिमिरे रिमाल २०६० सालमा मावि तहको स्थायी शिक्षक भएकी हुन्। २०७२ सालपछि काठमाडौँ महानगरपालका-१३ बाफलस्थित ज्ञानोदय माविमा कार्यरत रिमाल हाल सोही विद्यालयकी प्रधानाध्यापक छिन्। उनीसँग सहायक प्रधानाध्यापक भएर काम गरेको अनुभव पनि छ। ४७ सय विद्यार्थी अध्ययनरत ज्ञानोदय देशकै उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा छ। ज्ञानोदयको पछिल्लो अवस्था, विद्यालय शिक्षा, शिक्षक कर्मचारीका सेवासुविधा, गुणस्तरीय शिक्षालगायतका विषयमा आधारित रहेर उनै रिमालसँग रमेश दवाडीले गरेको कुराकानी :

कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको देखिन्छ। ज्ञानोदयमा भने सधैँ चाप छ। यस वर्ष त भर्ना हुन चाहेका १५ सयभन्दा बढी विद्यार्थीलाई फर्काइदिनुभएछ। किन यस्तो भएको?

यस वर्ष हामीले बालकक्षा १ देखि ९ सम्म गरेर साढे पाँच सय विद्यार्थी भर्ना गरेका छौँ। दुई हजार विद्यार्थीको आवेदन परेको थियो। काठमाडौँ महानगरले लिखित प्रवेश परीक्षा नलिईकन भर्ना गर्न निर्देशन दिएको थियो। हामीले त्योभन्दा फरक प्रक्रियाबाट विद्यार्थी भर्ना छनोट गर्‍यौँ। भर्नाका बेला विद्यार्थीको चाप थेग्न अत्यन्तै गाह्रो पर्छ। एउटा विद्यार्थी विद्यालयमा पढ्न भनेर आउँछ र उसले पढ्न पाउँदैन। ती विद्यार्थी रुँदै गेटबाट बाहिर निस्कँदा मलाई अत्यन्त पीडा हुन्छ।

बालकक्षामा सरस्वती पूजाका दिनमात्रै भर्ना लिन्छौँ। त्यत्तिखेरै हाम्रो भर्ना सकिएको हुन्छ। बालकक्षामा नौवटा सेक्सन छन्। यसपालित सरस्वती पूजाका दिन बिहान ९ बजेदेखि भर्ना सुरु गरेका थियौँ अक्षराम्भ भनेर। दिउँसो साढे ३ बजेसम्म ११० जना विद्यार्थी भर्ना भए। अनि गेट बन्द गर्नुपरेको थियो।

विद्यार्थी भर्नामा कतैबाट दबाब पनि आउँछ कि? आउँछ भने कसरी व्यवस्थापन गर्दै आउनुभएको छ?

ज्ञानोदयमा विद्यार्थी भर्ना गरिदिनुस् भनेर वडादेखि मन्त्रीसम्मको दबाब आउँछ। हामी दबाबकै भरमा काम गर्दैनौँ। हाम्रो आफ्नो नियम छ। प्रक्रिया छ। उपयुक्त विद्यार्थी हाम्रो प्रक्रियामा पर्‍यो भने भर्ना हुन पाउँछ। प्रक्रियामा परेन भने भर्ना हुन पाएन। कसैले दबाब दिँदैमा हामी भर्ना गर्नचाहिँ सक्दैनौँ।

नौवटा सेक्सनमा अध्ययनरत बालकक्षामा कति दरबन्दी छन्? विद्यालयमा शिक्षक-विद्यार्थी अनुपात मिलेको छ त?

सरकारले बालकक्षा (ईसीडी)लाई दुईवटा दरबन्दी दिएको छ। नौवटा त कक्षा चलाउँछौँ। हामीले पूर्वप्राथमिक तह १२ जनाको टिमबाट चलाइरहेका छौँ। ३०-३५ जना विद्यार्थी एउटा कक्षामा राख्छौँ। विद्यालयले उहाँहरूलाई वर्षको एकपल्ट तालिम दिन्छ। अभिभावकसहितको प्याकेज राखेर पनि ईसीडी शिक्षकलाई तालिम दिने गरेका छौँ। त्यसपछि अझै राम्रो हुँदै गएको छ ईसीडी कक्षा।

अभिभावकको थोरै सहयोगबाट त्यसलाई व्यवस्थापन गछौँ। माथिल्लो तहमा पनि पर्याप्त शिक्षक छैनन्। हामीसँग स्थायी दरबन्दीका शिक्षक ६६ जना हुनुहुन्छ। पाँचजना राहत कोटामा कार्यरत हुनुहुन्छ। ३५ जना शिक्षक निजी स्रोतमा कार्यरत हुनुहुन्छ। पार्टटाइम शिक्षक पनि नियुक्त गरेका छौँ। पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म गरेर हामी कर्मचारीसहित १५५ जना कार्यरत छौँ। तीमध्ये ६७ जना दरबन्दीमा हुनुहुन्छ भने ८८ जना निजी स्रोतमा हुनुहुन्छ।

आधाभन्दा बढी शिक्षक कर्मचारीलाई तलब कसरी खुवाउँदै आउनुभएको छ त?

निजी स्रोतका शिक्षक र कर्मचारीलाई राज्यले तलब दिँदैन। उहाँहरूलाई विद्यालयले नै तलब दिनुपर्छ। त्यसका लागि अभिभावकसँग शुल्क लिने गरेका छौँ। पूर्वप्राथमिकदेखि १२ कक्षासम्म नै शुल्क लिँदै आएका छौँ। निजी स्रोतका शिक्षक कर्मचारीका लागि मात्रै होइन, विद्यालयको आन्तरिक व्यवस्थापनका लागि पनि अभिभावकसँग शुल्क लिनैपर्ने बाध्यता छ।

पानी, बिजुलीको बिल कसरी तिर्ने? ४७ सय विद्यार्थी एक दिनमा कम्तीमा तीनपटक शौचालय जाँदा कति पानी खपत हुन्छ? त्यहाँ पानी व्यवस्थापन गर्नुपर्‍यो कि परेन? गर्मीमा दिनभर पंखा पनि घुमाउनुपर्‍यो। बत्ती पनि बाल्नुपर्‍यो। मर्मतसम्भार पनि गर्नुपर्छ। एक वर्षमा पंखा र बत्ती तीनपटक बनाइसक्यौँ। यी सबै काम अभिभावकबाट शुल्क लिएर गर्दै आएका छौँ।

अनि सरकारले त विद्यालय शिक्षा निःशुल्क भन्दै आएको छ। शुल्क नलिन दबाब आउँदैन?

राज्यले भनेको निःशुल्क शिक्षा उहाँहरूका लागि ठिक होला। कुनै चिज निःशुल्क पाउँदा र शुल्क तिरेर लिँदा तपाईँ कत्ति फरक अनुभव गर्नुहुन्छ? निःशुक भनिरहँदा शिक्षाको गुणस्तर झन् खस्कन्छ। लगानी नगरी प्रभावकारी हुँदैन। पैसा तिरेको ठाउँमा अभिभावकलाई पनि मेरो छोराछोरीले पढेको छ कि छैन हेर्न आउन पनि कर लाग्छ। त्यसकारण मलाई चाहिँ निःशुल्क शिक्षा उपयुक्त लाग्दैन। अहिलेको अवस्थामा यो सम्भव पनि छैन।

विद्यार्थी संगठनका नेताहरू निःशुल्क गर्नुहोस्, किन शुल्क लिनुभएको भनेर दबाब दिन आउनुहुन्छ। हामीले उहाँहरूलाई अभिभावकसँग शुल्क लिनुको कारण स्पष्ट पारेर पठाइदिन्छौँ।

तपाईँलाई विद्यालय सञ्चालन गर्न शिक्षक-कर्मचारीबाट कत्तिको सहयोग हुँदै आएको छ?

यसमा ज्ञानोदयको इतिहासदेखिकै कुरा जोड्नुपर्ने हुन्छ। मैले केही वर्षअघि मात्रै प्रधानाध्यापकको जिम्मेवारी लिएकी हुँ। धेरै वर्ष सहायक प्रधानाध्यापकको भूमिकामा रहेर काम गरेँ। ज्ञानोदयका सबै शिक्षक-कर्मचारी साथीहरू सहयोगी हुनुहुन्छ। विद्यालयमा एउटा सिस्टम बनिसकेको छ। सबैजनाले सिस्टममा काम गर्नुहुन्छ। यहाँ काम गर्न गाह्रो छैन। ज्ञानोदयको गेटभित्र छिरेपछि हामी कोही पनि जागिरे प्रवृत्तिका हुँदैनौँ। विद्यालय ४ बजे छुट्टी भए पनि हामी ७ बजेसम्म रहन्छौँ। उत्तरपुस्तिका परीक्षण, गृहकार्य परीक्षण या आफ्नो जिम्मेवारीमा के हुन्छ त्यो गरिरहेका हुन्छौँ।

अतिरिक्त काम गरेबापत शिक्षकलाई थप पारिश्रमिक पनि दिनुहुन्छ कि?

कक्षा शिक्षकलाई तलबबाहेक थोरै पारिश्रमिक दिन्छौँ। रकम त भन्न पनि लाज लाग्ने खालको छ। कक्षा लिडर भन्छौँ तर रकम थोरै दिएका हुन्छौँ। उहाँहरू यो मेरो काम र पेसा हो भन्ने ठान्नुहुन्छ। गृहकार्य परीक्षण गर्नु पनि मेरो काम हो भन्नुहुन्छ। थप काम पनि मेरो काम हो भनेर काम गरिरहेका हुन्छौं। तपाईँ बिहान साढे पाँच बजे नै आउनुभयो भने शिक्षक भेट्नुहुन्छ। बेलुका ६ बजे आउनुभयो भने पनि शिक्षक भेट्नुहुन्छ। त्यसकारण यहाँ पैसाकै लागि काम गरिएको छैन।

हामी संस्थागत विकास, विद्यार्थीको हित र ज्ञानोदयमा आएपछि काम गर्नुपर्छ भन्ने हिसाबले खटिँदै आएका छौँ। नयाँ शिक्षक नियुक्त भएर आउँदा होस् वा सरुवा भएर आउँदा हामीले सुरुमै भन्छौँ, तपाईँमा जागिरे मानसिकता छ भने नआउनुस्। यहाँ धेरै खट्नुपर्छ। त्यही आधारमा काम सुरु हुन्छ। शिक्षक मात्रै होइन, विद्यार्थी पनि बिहानैदेखि खटिएका हुन्छन्।

बिहानैदेखि विद्यालयमा केकस्ता गतिविधि सञ्चालन हुन्छन्?

साढे ८ बजेदेखि संगीत कक्षा हुन्छ। मादल, बाँसुरी र हार्मोनियमका कक्षा हुन्छन्। कक्षा ६ ले मादल बजाउन सिक्छन्। कक्षा ७ का विद्यार्थीले पियानो र कक्षा ८ का विद्यार्थीले बाँसुरी बजाउन सिक्छ। वाद्यवादनमा कक्षाका सबै विद्यार्थीलाई समेट्न सक्दैनौँ। गोलाप्रथाद्वारा प्रत्येक कक्षाबाट ५० जना विद्यार्थी छनोट गछौँ। शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्छ। स्काउटका गतिविधि सञ्चालन हुन्छन्।

विद्यालयसामु केकस्ता चुनौती छन्?

विद्यालयका चुनौती धेरै छन्। विद्यार्थी संख्याका आधारमा भौतिक संरचना पर्याप्त छैन। काठमाडौँ महानगरपालिकाले बुक फ्री फ्राइडे र शिक्षामा सीप कार्यक्रम लागू गरेको छ। त्यसका लागि कक्षाकोठा पुर्‍याउन हामीलाई अत्यन्त गाह्रो हुन्छ। ‘फोकल’ शिक्षक व्यवस्थापन गर्न सकेका छैनौँ। नजिकै खोला छ। विद्यालयमा बाढी पसेर दुःख दिन्छ। विद्यार्थी संख्याअनुसार फर्निचर छैन।

विद्यार्थीको चापका कारण शिक्षकले राम्रोसँग उभिएर पढाउन पनि सक्नुहुन्न। अभिभावकले मेरो बच्चा ऊ त्यो कुनामा बसेर भने पनि पढ्छ, भर्ना गरिदिनु न भन्नुहुन्छ। तैपनि हामीले एउटा सेक्सनमा पूर्वप्राविमा ३०-३५, कक्षा १, २ र ३ मा ३५-४०, ४ कक्षाभन्दा माथि ५०-५५ जना विद्यार्थी राखेर पढाउँछौं। कुनै कक्षामा त ६०-६५ पनि विद्यार्थी हुन्छन्। विद्यार्थीको बसाइ व्यवस्थापन गर्न सकिरहेका छैनौँ।

हामीसँग भवन छैन। प्रार्थनासभा गर्नका लागि खुला ठाउँ छैन। खेल मैदान छैन। विद्यालयका यस्ता चुनौती सामना गर्न शिक्षक-कर्मचारी र विद्यालय परिवारबाट सम्भव हुँदैन। यो त स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका साथै शिक्षाप्रति सचेत सबैको दायित्व हो।

सामुदायिक विद्यालयमा ईसीडी, राहतलगायत अनेक प्रकारका शिक्षक व्यवस्थापन हुन सकेको छैन। विद्यालय कर्मचारीको समस्या उस्तै छ। यस्ता समस्यालाई कसरी समाधान गर्ने?

राज्यले शिक्षकलाई छिट्टै व्यवस्थापन गर्नुपर्छ। गत वर्ष ईसीडी शिक्षकलाई थोरै पैसा दिएको थियो। त्यो रकम अन्य शिक्षक बराबर ल्याउन सक्नुपर्छ। संख्यात्मक, गुणात्मक र तालिमका हिसाबले ईसीडी शिक्षकहरूको मनोबल उच्च बनाउनुपर्छ। कामप्रति लगाव भएपछि त्यसै प्रगति भइहाल्छ नि।

शिक्षक-कर्मचारी आन्दोलनलाई कसरी लिनुभएको छ?

अधिकारका लागि लड्ने भन्ने कुरा आफ्नो ठाउँमा छ। सबैलाई चाहिन्छ। कक्षाकोठा छोडेर, पठनपाठन ठप्प गरेर आन्दोलनमा जाँदा विद्यार्थीलाई घाटा लाग्छ। हामी कहाँ चुकेका छौँ भनेर राज्यले सोच्नुपर्छ।

सिकाइ गतिविधिसहित विद्यार्थीलाई कस्तो व्यवहार गर्दा प्रभावकारी हुँदो रहेछ? केही अनुभव बताइदिनुस् न।

शिक्षकले सबैभन्दा पहिला म जागिरे हुँ भन्ने मानसिकता हटाउनुपर्छ। अभिभावकसँग निरन्तर सम्पर्कमा रहनुपर्छ। विद्यार्थी गयल हुनेबित्तिकै हाम्रो कक्षा शिक्षकले अभिभावकलाई फोन गर्नुहुन्छ। यो परिपाटी सबै सामुदायिक विद्यालयमा भयो भने अभिभावक पनि सचेत हुनुहुन्छ।

हामी जो विद्यार्थी कमजोर छ त्यसका लागि थप कक्षा सुरु गरिहाल्छौँ। त्यसलाई उपचारात्मक कक्षा भन्छौँ। अरू कुरा जेजे भए पनि समुदाय र अभिभावकले पत्याउने भनेको नतिजा नै हो। नतिजा सुधारात्मक अवस्थामा छ, नतिजा राम्रो छ, त्यसका आधारमा अभिभावकले पत्याउनुभएको छ। नतिजा राम्रो ल्याउन लागि पठनपाठन राम्रो हुनुपर्छ। पठनपाठन राम्रो हुनका लागि शिक्षक कक्षाकोठामा गएर समय अवधिभर सिकाइ गतिविधिमा सक्रिय हुनुपर्छ। शिक्षकले विद्यार्थीका कमजोरी पत्ता लगाएर निराकरण गर्न पनि सक्नुपर्छ। त्यसोे हुनेबित्तिकै सामुदायिक विद्यालयमा सुधार हुन्छ।

अर्को कुरा, शिक्षकले कक्षाकोठा छोड्नुहुँदैन। विद्यार्थी भएनन् भने हामी शिक्षक भनेर कुनै पनि अर्थ रहन्न। विद्यार्थी, शिक्षक र अभिभावकबीच त त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ। त्रिकोणात्मक सम्बन्ध बलियो रहेसम्म पठनपाठन राम्रो हुन्छ। त्रिकोणात्मक सम्बन्ध भएन भने पठनपाठन खस्किँदै जान्छ।

ज्ञानोदय विद्यालय सफल हुनुको कुनै एउटा कारण बताइदिनुस् न।

ज्ञानोदयको आफ्नै इतिहास छ। २०४१ सालको कुरा हो। राज्यले पूर्वप्राथमिक तह सोचेको थिएन। हामीले त्यतिखेरै पूर्वप्राथमिक तह सुरु गरेका थियौँ। त्यो ब्याज १० कक्षामा पुग्दा सबैभन्दा राम्रो नतिजा आयो। त्यसपछि ज्ञानोदयको उचाइ माथि जान थालेको हो। अनि अभिभावकबाट थोरै रकम सहयोग लिने र स्तरीय शिक्षा दिने नीति बनायौँ। अहिलेसम्म त्यही नीतिअनुसार चलेका छौँ। अहिलेसम्म पछाडि फर्कनु परेको छैन।

अबको १० वर्षपछि ज्ञानोदय स्कुल कस्तो होला?

अबको १० वर्षमा ज्ञानोदयलाई कस्तो बनाउने भनेर मैले सपना देखेकी छु। सोहीअनुसार बनाउन प्रयत्न पनि जारी राखेकी छु। अबको १० वर्षमा ज्ञानोदयका प्रत्येक कक्षाकोठा आईसीटीमैत्री हुन्छन्। बालमैत्री हुन्छन्। भौतिक सुविधाले सम्पन्न हुन्छ। यहाँ आउने शिक्षक पनि गर्वका साथ विद्यालय पस्न सक्ने हुनुहुन्छ। ज्ञानोदयमा पढाउने शिक्षक भन्नेबित्तिकै ओहो ज्ञानोदयमा भन्ने हुन्छ।

त्यो सपना पूरा गर्न महानगरले पनि सहयोग गर्नुपर्छ। भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा जताततै विद्यार्थी खेलिरहेका हुन सकुन। नजिकै जमिन छ अलिकति। त्यो किन्न सकियोस्। दुईवटा अत्यावश्यक भवन बनाउन सकियोस्। शिक्षकहरूको आफ्नै व्यक्तिगत च्याम्बर होस्। हरियाली, प्रविधिमैत्री, सुन्दर र शान्त वातावरण होस् भन्ने मेरो सपना छ। यथार्थचाहिँ हामीसँग योजना मात्रै भएर पुग्दैन। सम्बन्धित निकायसमेत लागेर योजनालाई मूर्त बनाउन प्रयत्नशील रहनेछु।

प्रकाशित: ६ असार २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =