काठमाडौँ विश्वविद्यालयद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना

हिमाल प्रेस ११ मंसिर २०८० ११:११
काठमाडौँ विश्वविद्यालयद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना

धुलिखेल– काठमाडौँ विश्वविद्यालय (केयू)ले नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन आयोजना गरेको छ। ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ विषयक सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका लागि साझा मार्गचित्र निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ।

सम्मेलनमा सहभागी उपकुलपतिहरूले नेपालका विश्वविद्यालयले आज भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत छलफल गरे। उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

सहभागीहरूले काठमाडौँ विश्वविद्यालयको आयोजनामा आगामी फेब्रुअरी १५–१६ मा हुने उत्तर भारतका २५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको बैठकअघि नेपालका विश्वविद्यालयहरूको साझा आवाज निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको मूल क्याम्पसमा भएको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलगायत विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टर, डीनलगायत १५० भन्दा बढी शीर्ष नेताको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको महत्व औंल्याए। उच्च शिक्षा संस्थाको स्वायत्तताको आवश्यकताबारे प्रकाश पार्दै दाहालले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। ‘विश्वविद्यालय अनुदान आयोगअन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधान तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्,’ दाहालले भने।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तहमा शिक्षाको मापदण्डमा एकरूपता ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। थापाले उच्च शिक्षाको भविष्यका मार्गहरू पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: ११ मंसिर २०८० ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =