लुम्बिनी बौद्ध र काठमाडौँ विश्वविद्यालयले सुरु गरे संयुक्त डिग्री

हिमाल प्रेस २६ साउन २०८० २०:५८
36
SHARES
लुम्बिनी बौद्ध र काठमाडौँ विश्वविद्यालयले सुरु गरे संयुक्त डिग्री

लुम्बिनी-  लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले संयुक्त रूपमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषय प्राध्यापन सुरु गरेका छन्। दुई विश्वविद्यालयको संयुक्त डिग्रीको कक्षा सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा गर्ने भएको हो।

संयुक्त डिग्रीको शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शुक्रबार बुटवलमा आयोजिक एक कार्यक्रममा सार्वजनिक गरिन्। सो अवसरमा बोल्दै राज्यमन्त्री प्रमिला कुमारीले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले सुरु शैक्षिक कार्यक्रम कोसेढुंगा साबित हुने बताइन्। ‘बुद्ध शिक्षा र पर्यटन एक आपसमा परिपूरक छन्,’ उनले भनिन्, ‘बौद्ध विश्वविद्यालयले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि शिक्षा क्षेत्रबाट महत्त्वपूर्ण योगदान गर्नुपर्छ।’

बौद्ध दर्शन र पर्यटनलाई जोडेर शैक्षिक जनशक्ति उत्पादन गर्दा मुलुकको पर्यटन विकासमा ठूलो उपलब्धि हासिल उनले बताइन्। उच्च शिक्षाको गुणस्तरीयताका लागि विश्वविद्यालयहरूले विशेष ध्यान दिनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताइन्। उनले शिक्षा सुधारका लागि शिक्षा ऐन संसदमा आउन लागिरहेको भन्दै उनले ऐन जारी भएपछि शिक्षामा आमूल सुधार हुने विश्वास गरिन्।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनका लागि यो कार्यक्रम सुरु गरिएको बताए। गत असार २१ गते सहकार्य सम्झौता भई एक महिनाभित्रमै शैक्षिक कार्यक्रम सार्वजनिक गरिएको भन्दै यस कार्यक्रमलाई सफल बनाउने दायित्व सबैको भएको उनले बताए।

उच्च शिक्षाको गुणस्तरीयतामा राज्यका नेतृत्वकर्ताहरूको विशेष ध्यान जान नसकेको उल्लेख गर्दै उनले विश्वविद्यालयका सभाहरू समेत समयमा हुन नसक्दा महत्त्वपूर्ण कार्यहरू अलपत्र पर्ने अवस्था आउन नहुने बताएका छन्।

काठमाडौँ विश्वविद्यालयका विषय समिति अध्यक्ष उज्ज्वल सत्यालले विश्वविद्यालयहरू खाली भइरहने अवस्था आएको भन्दै अब सीपयुक्त जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुले विश्वविद्यालयहरूबीच टिमवर्कमा कार्य गर्नु आवश्यकता रहेकाले काठमाण्डौँ विश्वविद्यालयसँग सहकार्यमा शैक्षिक कार्यक्रम सुरु गरिएको बताए। शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग निरन्तर सहकार्य भइरहने उनले बताए।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का दिपेन्द्र पहारी, लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणिन्द्रकुमार न्यौपाने, उपप्राध्यापक डा. दिपकप्रसाद आचार्यलगायतको उपस्थिति थियो।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय टुरिजम विषय समितिका अध्यक्ष श्रीप्रसाद भट्टराईले हस्पिटालिटी र टुरिजम विषयमा जानकारी गराएका थिए। नयाँ सुरु गरिएको कार्यक्रममा यसै शैक्षिक सत्रबाट भर्ना सुरु गरिने जनाइएको छ। बुटवलको सिटी क्याम्पसमा पठनपाठन हुने दुई विश्वविद्यालयबीच सहमति भएको छ।

प्रकाशित: २६ साउन २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =