कांग्रेस मन्त्री फिर्ता बोलाउने तयारीमा थियो, माओवादीले गठबन्धन नै फेरिदियो

हिमाल प्रेस २१ फागुन २०८० ११:०७
152
SHARES
कांग्रेस मन्त्री फिर्ता बोलाउने तयारीमा थियो, माओवादीले गठबन्धन नै फेरिदियो

काठमाडौँ– नेपाली कांग्रेसले सरकारमा रहेका केही मन्त्री फेर्ने गृहकार्य अघि बढाइरहँदा नेकपा माओवादी केन्द्रले भने सत्ता गठबन्धन परिवर्तन गरिदिएको छ। गठबन्धन परिवर्तन भएपछि कांग्रेस सरकारबाट बाहिरिने लगभग निश्चित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका केही नेताको कार्य सम्पादन प्रभावकारी नभएको गुनासो कांग्रेस सभापति शेरबहादुर देउवासँग गर्दै आएका थिए। सोही कारण पार्टीले मन्त्री फेर्ने तयारी गरेको थियो।

नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका एक मन्त्रीले कांग्रेस मन्त्री फर्ने तयारीमा अघि बढिरहँदा माओवादीले गठबन्धन नै परिवर्तन गरिदिएको बताए। ती मन्त्रीले हिमाल प्रेससँग भने, ‘हामी मन्त्री फेर्ने तयारीमा थियौँ। रातभरिमा एमाले–माओवादीबीच एकखाले सहमति भइसकेछ। हामी बाहिरियौँ।’

कांग्रेससँग राष्ट्रियसभा अध्यक्षमा सहमति नभएपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड केही दिनदेखि एमालेसँग नजिकिएका थिए। उनीहरूबीच पटकपटक भएको छलफलपछि आइतबार गठबन्धन परिवर्तन गर्ने सहमति भएको नेताहरूले बताएका छन्।

अध्यक्षद्वयलाई एक ठाउँमा ल्याउन एमाले महासचिव शंकर पोखरेल र माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठले समन्वय गर्दै आएको नेताहरू बताउँछन्। यसैगरी वामगठबन्धन लागि सभामुखसमेत रहेका देवराज घिमिरेले पनि समन्वयकारी भूमिका खेलेका माओवादीका एक नेताले बताए।

नेपाली कांग्रेसको गत चैत ४ गते पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णयबमोजिम कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो। सोही बैठकको निर्णयपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको थियो।

२०७९ मा मंसिरमा भएको चुनावमा गठबन्धन गरे पनि चुनावलगत्तै माओवादी अध्यक्ष प्रचण्ड एमाले, रास्वपा, राप्रपालगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए।
कांग्रेस उपसभापति एवम् गृहमन्त्री पूर्णबहादुर खड्काले गठबन्धन कायम राख्न आफ्नातर्फबाट निरन्तर प्रयास गरिएको बताए।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमालेले साथ दिने भएको छ। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि सामेल हुने निश्चित भएको नेताहरू बताएका छन्। नयाँ गबठन्धनबमोजिम सरकारमा एमाले, माओवादी, रास्वपा र जसपा सामेल हुनेछन् भने कांग्रेस, राप्रपा, एकीकृत समाजवादी प्रतिपक्षमा रहनेछन्। साना दलहरूको भने टुंगो लागेको छैन।

प्रकाशित: २१ फागुन २०८० ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =