मलेसियामा घर फिर्ती कार्यक्रम : ५० हजारभन्दा बढी नेपाली लाभान्वित हुने

हिमाल प्रेस १८ फागुन २०८० ११:१३
48
SHARES
मलेसियामा घर फिर्ती कार्यक्रम : ५० हजारभन्दा बढी नेपाली लाभान्वित हुने

काठमाडौँ- मलेसिया सरकारले गैरकानुनी हैसियतमा बसेका विदेशी कामदारलाई स्वदेश फर्काउने कार्यक्रम सुरु गरेको छ। घर फिर्ती कार्यक्रम मार्च १ तारिखदेखि डिसेम्बर अन्तिमसम्मका लागि खुला गरिएको मलेसियाको अध्यागमन विभागको सूचनामा उल्लेख छ।

मलेसियास्थित नेपाली दूतावासले पनि अवैध रूपमा बसेर काम गरिरहेका नेपालीलाई स्वदेश फर्कन अध्यागमनमा आवेदन दिएको १४ दिनभित्र हवाई टिकट, अवैधानिक बसेबापतको जरिबाना रकम अनिवार्य इन्टरनेटबाट तिरेर प्रक्रिया सुरु गर्न सूचित गराएको छ। घर फिर्ती हुन अवैधानिक कामदारले मलेसियन रिंगेट तीन सयदेखि ५ सयसम्म जरिबाना तिर्नुपर्नेछ। घर फिर्ती कार्यक्रम सुरु भएपछि अवैधानिक हैसियतमा मलेसियामा रहेका धेरै नेपाली कामदार लाभान्वित हुने दूतावासले जनाएको छ।

नेपालीहरू लाभान्वित होऊन् भन्ने उद्देश्यले विभिन्न तरिकाले सामाजिक सञ्जालमार्फत फिर्ता प्रक्रियाबारे सबैलाई सूचित गराइएको दूतावासका अधिकारीहरूले बताएका छन्। हाल मलेसियामा ७० हजारदेखि १ एक लाख हाराहारीमा नेपाली अवैध रूपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ। अहिले मलेसिया सरकारले दिएको घर फिर्तीको मौकाबाट ५० हजारभन्दा बढी नेपाली लाभान्वित हुने दूतावासको भनाइ छ।

स्वदेश फर्किन सम्बन्धित देशको दूतावासबाट जारी भएको म्याद नसकिएको यात्रा अनुमतिपत्र वा म्याद नसकिएको पासपोर्ट, हवाई टिकट र अवैधानिक भएबापतको तिर्नुपर्ने जरिबाना रकमसहित कामदार स्वयंले नजिकैको अध्यागमन कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था छ। घर फिर्तीको कार्यक्रम सञ्चालनको समयसम्म मलेसियामा अवैध रुपमा बसेका विदेशी कामदारलाई धरपकड र पक्राउ गर्न मिल्दैन।

प्रकाशित: १८ फागुन २०८० ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =