कर्णालीका नागरिकलाई अब ‘फोर्टिफाइड’ चामल

हिमाल प्रेस ९ फागुन २०८० २१:२६
206
SHARES
कर्णालीका नागरिकलाई अब ‘फोर्टिफाइड’ चामल

सुर्खेत- कर्णालीका नागरिकले पौष्टिकतत्व स्तरोन्नती गरिएको (फोर्टिफाइड) चामल खान पाउने भएका छन्। खाद्य तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीका पाँच जिल्ला हुम्ला, डोल्पा, कालीकोट, मुगु र जुम्लालाई मध्यनजर गर्दै पौष्टिक तत्व स्तरोन्नती गरिएको चामल वितरण गर्ने भएको हो ।

नेपाल सरकारले खाद्यान्नमा हुने पौष्टिक तत्वका कमीलाई पूर्ति गर्न २०८० साउन १ गते फोर्टिफाइड चामल आपूर्ति तथा गुणस्तरसम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेको थियो। सरकारले पहिलोपटक कर्णाली प्रदेशका ५ जिल्ला हु्म्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा फोर्टिफाइड चामल वितरण गर्ने भएको हो।

चालू आर्थिक वर्ष २०८०/८१ मा ७४ हजार क्विन्टल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताएका छन्। कर्णालीका नागरिकलाई चामलको अभाव नहोस् भनेर विभिन्न तरिकाले बिक्री तथा वितरण गर्दै आएको जानकारी दिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशका नागरिकहरूको स्वास्थ्यमा सुधार गर्नमा पौष्टिक युक्त चामलले मद्दत गर्ने बताएका छन्। पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलले प्रदेशवासीको स्वास्थ्यमा सुधार गर्ने विश्वास व्यक्त गरे। मुख्यमन्त्री शर्माले प्रदेशलाई चामलमात्र नभएर उत्पादन गर्ने सीप पनि दिनुपर्ने बताए।

मिलमा कुटेर प्याक गरेको अर्थात् अरू कुनै तत्त्व नमिसाइएको चामल खाँदै आइरहेकाले नागरिकको भान्सामा केही फेरबदल ल्याउन पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) कम्पनीले बिक्री सुरू गरेको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका बिक्रीवितरण विभागका प्रमुख भीम थापाले जानकारी दिए।

पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ६०० मेट्रिक टन चामल सुर्खेत पठाइसकिएको छ। उत्पादनको पहिलो चरणमा कर्णाली प्रदेशमा र क्रमशः अन्य प्रदेशहरूमा उत्पादन तथा वितरण सुरु गर्ने विभागका प्रमुख थापाले बताए।

पूर्वसम्झौता तथा योजनाअनुसार भदौसम्म कर्णाली प्रदेशमा यस्तो चामल वितरण गरिसक्ने केन्द्रको तयारी छ।

प्रकाशित: ९ फागुन २०८० २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =