पाकिस्तानमा नयाँ गठबन्धन, सेहबाज सरिफ प्रधानमन्त्रीको उम्मेदवार

हिमाल प्रेस २ फागुन २०८० ८:०८
10
SHARES
पाकिस्तानमा नयाँ गठबन्धन, सेहबाज सरिफ प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौँ- पाकिस्तानमा सेहबाज सरिफ प्रधानमन्त्रीको उम्मेद्वार बन्ने भएका छन्।

केही दिनअघि सकिएको आम निर्वाचनमा दोस्रो भएको पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन)ले उनलाई नयाँ गठबन्धनको नेतामा प्रस्ताव गरेको हो।

यो प्रस्तावलाई तेस्रो ठूलो दल पाकिस्तान पिपल्स पार्टी (पीपीपी)ले समर्थन गरेको जनाइएको छ।

गत साता सम्पन्न आम निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको थिएन। पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र सांसदहरूले सर्वाधिक ९३ सिट जितेको भनिए पनि दलका रुपमा पीएमएल-एन (७५ सिट सहित) सबैभन्दा ठूलो बनेको हो। यस्तोमा पाकिस्तानमा सरकार कसले बनाउने भन्ने अन्योल उत्पन्न भएको थियो।

पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावाल भुट्टो जरदारी अध्यक्ष रहेको पीपीपीले पीएमएल-एनले बनाउने गठबन्धनको हिस्सा बन्ने निर्णय गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो।

‘हामीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेका छौँ। यो कदम पाकिस्तानलाई राजनीतिक संकटबाट मुक्त गराउनका लागि हो,’ बेनजिरका पति तथा पीपीपीका अर्का अध्यक्ष आसिफ अली जरदारीले मंगलबार राति पत्रकारहरुसँग भने।

सेहबाज पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका नवाज सरिफका भाइ हुन्। सेहबाज आफैँ पनि एक पटक प्रधानमन्त्री भइसकेका नेता हुन्। उनले अप्रिल २०२२ देखि अगस्ट, २०२३ सम्म प्रधानमन्त्रीको कुर्सी सम्हालेका थिए।

यसअघि बिलावालले सरिफहरूले बनाउने गठबन्धनको हिस्सा बन्ने तर सरकारमा सहभागी नहुने बताएका थिए। उनको यो अडान कायम रहन्छ कि रहँदैन, अहिल्यै अनुमान गर्न गाह्रो छ। पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार बिलावालका पिता आसिफ राष्ट्रपतिको उम्मेद्वार बनाइन सक्छन्। यसबाहेक पीपीपीले पाकिस्तानका चार राज्यका मुख्यमन्त्री पदमाथि दाबी गर्नसक्छ।

पीएमएल-एन र पीपीपी पाकिस्तानी राजनीतिमा प्रतिद्वन्द्वी भए पनि सन् २०२२ बाट सँगै छन्। यी दुईले नेतृत्व गरेको मोर्चाबन्दीले सन् २०२२ मा इमरान खानको सरकार ढालेको थियो। यसपालिको निर्वाचनमा एक्ला एक्लै लडेका यी दुई दल सरकार बनाउने बेलामा एक ठाउँमा आइपुग्ने अनुमान चल्दै आएको थियो।

पाकिस्तानको तल्लो सदनको कुल ३३६ सिटका लागि निर्वाचन भएको हो। जसमध्ये प्रत्यक्षतर्फको २६४ सिटको नतिजा आएको छ भने एक सिटका लागि निर्वाचन हुन बाँकी छ। बाँकी ७० सिट भने आरक्षित हुन्। जसमध्ये ६० महिला र १० गैरमुसस्लिम सांसद चुनिएर आउन बाँकी छ।

विश्वको पाँचौँ ठूलो जनसंख्या भएको पाकिस्तान हाल आर्थिक संकटमा छ। यस्तोमा फेरि एकपटक अस्थिर सरकार बन्ने र त्यसले देशको अर्थतन्त्र सम्हाल्न नसक्ने चिन्ता गरिँदैछ। तर बन्न लागेको नयाँ गठबन्धनमा इमरान खाननिकट सांसदहरू नआए पनि बाँकी दल मिलेर दुई तिहाइको सरकार गठन हुनसक्ने रोयटर्सले लेखेको छ।

प्रकाशित: २ फागुन २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =