सहरमा आज

नाटक र पुस्तक विमोचनले भरिपूर्ण उपत्यका

सुस्मिता बजगाईं २० माघ २०८० ८:३२
138
SHARES
नाटक र पुस्तक विमोचनले भरिपूर्ण उपत्यका

काठमाडौँ- आज उपत्यका नाटक र पुस्तक विमोचनले भरिपूर्ण छ। विभिन्न स्थान साहित्यिक पुस्तक विमोचन कार्यक्रमले उपत्यका साहित्यमय भएको छ। त्यस्तै शिल्पीमा ‘गंगालाल’सहित माघको दोस्रो सातादेखि नाटकघरमा ‘समय पीडा’, ‘द जू स्टोरी’ र ‘मासिन्या’ मञ्च भइरहेको छ। तामाङ फिल्म ‘नाना आङा’को पनि विशेष प्रदर्शन हुँदैछ।

कृति विमोचन:

‘गगनाँसु’ विमोचन

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा गजलसङ्ग्रह ‘गगनाँसु’ विमोचन हुँदैछ। कृतिका लेखक गगन चुम्बन हुन्। डा.कृष्णहरि बराल प्रमुख आतिथ्यमा कार्यक्रम बिहान साढे ११ बजे सुरु हुनेछ। साहित्यकार भुवन निस्तेजले पुस्तकको समिक्षा गर्नेछन्। कार्यक्रम हातेमालो साहित्य संगम काठमाडौँ नेपालले आयोजना गरेको हो।

‘गजल पुञ्ज’ विमोचन

बालुवाटारस्थित चिल्ड्रेन मोडल स्कुलमा गजलसङ्ग्रह ‘गजल पुञ्ज’ विमोचन हुँदैछ। कृतिका लेखक मानन्धर अभागी हुन्। बिहान साढे ११ बजे सुरु हुनेछ। पुस्तक हामी र हाम्रो कृति समूहले प्रकाशन गरेको हो।

‘आकाश ओढेको डोल्पो’ र ‘फूलबारीको जुके गणतन्त्र’ लोकार्पण

तीनकुनेस्थित बानेश्वर क्याम्पसमा आज दुई नियात्रा पुस्तक लोकार्पण हुँदैछ। भवानी खतिवडाको नियात्रा ‘आकाश ओढेको डोल्पो’ र आस्था भट्टराईको ‘फूलबारीको जुके गणतन्त्र’ लोकार्पण हुन लागेको हो।

पुस्तक पर्वतीय साहित्य समाजले आयोजना गरेको कार्यक्रम बिहान पौने १२ बजे सुरु हुनेछ। दुवै पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।

रचनावाचन

सल्लाघारीस्थित अक्सफोर्ट प्राक्टिकल स्कुल भक्तपुरमा आज मासिक रचनावाचन कार्यक्रम हुँदैछ। बिहान साढे ११ बजे सुरु हुने कार्यक्रममा उपस्थित सबैले आफ्नो रुचिअनुसार रचनावाचन गर्न सक्नेछन्। कार्यक्रम भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालले आयोजना गरेको हो।

नाटकघरमा चार नाटक:

शिल्पीमा ‘गंगालाल’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ मञ्चन भइरहेको छ। माघ १९ देखि सुरु भएको नाटक २९ गतेसम्म मञ्चन हुनेछ।

चे शंकरको लेखन र निर्देशनमा बनेको नाटकमा रंगकर्मी इनार बानु, निरज दाहाल, कुमु एडेन बात्री, रोशन चन्द, दिपक पच्छलदङ्या, रेवन राई, निर्भीक भट्टराई, एलिजा तुम्बापो, शकु शाहलगायतको अभिनय छ।

नाटक साताको प्रत्येक दिन साँझ सवा ५ बजे मञ्चन भइरहेको छ। आज शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ।

मण्डलामा ‘द जू स्टोरी’ र ‘मासिन्या’

थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि नाटक ‘द जू स्टोरी’ मञ्चन भइरहेको छ। अमेरिकी नाटककार एडवर्ड अल्बीको लेखन रहेको नाटकलाई द वल्ड थिएटर नेपालले नेपालीमा रूपान्तरण गरेको हो। नाटक सजग रानाले निर्देशन गरेका छन्।

नाटकमा एक्लोपन महसुस गरिरहेका युवा पुस्ता, मानसिक रोगले पीडित र लैंगिक पहिचान बुझ्न नसकेका समुदायको कथा प्रस्तुत गरिएको छ। नाटकमा कलाकार राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठले अभिनय गरेका छन्। नाटक माघ २८ गतेसम्म मञ्चन हुनेछ।

सोमबारबाहेक साताको प्रत्येक दिन अपराह्न ४ बजे मञ्चन भइरहेको नाटक आज शनिबार भने दिउँसो साढे १२ बजे र ४ बजे गरी दुई सो हुनेछ।

‘मासिन्या’

मण्डलामै अर्को नाटक ‘मासिन्या’ पनि मञ्चन भइरहेको छ। नाटकमा तामाङ संस्कृति, संस्कार, रीतिरिवाज, भाषालगायतलाई समाजमा भएका उपल्लो भनिने वर्ग र राज्यसत्ताले गर्दै आएको शोषण र दमनलाई मुख्य विषय बनाइएको छ। नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्।

राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटक माघ ११ देखि माघ २८ गतेसम्म मञ्चन हुनेछ। नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, रविन दोङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउदलगायत कलाकारहरूको अभिनय छ। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

ओजसमा ‘समय पीडा’

रातोपुस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा माघ १० गतेदेखि नाटक ‘समय पीडा’ मञ्चन भइरहेको छ। रोजगारी लागि बिदेसिएका नेपालीहरू नफर्केपछि सन्तान भएर पनि बुढेसकालमा साहाराविहीन भएका वृद्ध बा–आमाको दैनिकी र पीडालाई नाटकमार्फत देखाउन खोजिएको छ। नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण हो। यो कथा कक्षा–९ को अनिवार्य नेपाली विषयमा समावेश छ।

नाटकको परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका छन्। नाटक माघ २२ गतेसम्म मञ्चन हुनेछ। नाटकमा कलाकार विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल (डाक्टर) को अभिनय छ। साताको प्रत्येक दिन ओजसमा मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो साढे १ बजे मञ्चन हुनेछ।

कला परिषदमा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषदमा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो। कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बीउबिजन, चित्रलगायतका विभिन्न दस्तावेजहरू छन्। प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

तामाङ फिल्म ‘नाना आङा’ प्रदर्शन

चावहिलस्थित चलचित्र विकास बोर्डमा शनिबार तामाङ फिल्म ‘नाना आङा’ प्रदर्शन हुँदैछ। बिहान साढे ११ बजे सुरु हुने सामाजिक कथामा आधारित फिल्ममा तामाङ जातिको संस्कार, संस्कृति र जीवनलाई समेत समावेश गरिएको छ। फिल्मका निर्देशक निमा लामा हुन्।

फिल्ममा कलाकार जय स्याङतान, सिताराम गोले, माया घलान, सुनलाल वाईबा, राज कुमार स्याङ्तान, पेमा लामा योञ्जन, सुदिप कोब्रालगायतको अभिनय छ। पेमा लामा निर्माता रहेको फिल्मको सह–निर्मातामा मिनकुमार वाईबा छन्। फिल्म जिम्बा फिल्मस्  प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ।

यसअघि फिल्मको प्रिमियर मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, सर्लाहीस्थित हरिवनमा गरिएको थियो।

हलमा ‘अर्गाएल’, ‘फाइटर’ र ‘हनुमान’

गत मंसिरदेखि नै हलमा विदेशी फिल्मकै वर्चश्व छ। उपत्यकाका हलमा विदेशी फिल्म ‘अर्गाएल’, ‘फाइटर’ र ‘हनुमान’ चलिरहेको छ। त्यस्तै नेपालीमा सीडीसी सिनेमाजमा नेपाली डकुमेन्ट्री फिल्म ढोरपाटन’ चौथो सातामा चलिरहेको छ। रञ्जना सिनेप्लेक्समा ‘दिमाग खराब’को एक सो प्रदर्शनरत छ।

ढोरपाटन

वृत्तचित्र फिल्म ‘ढोरपाटन’ पुस २७ देखि फिल्म उपत्यकाको सीडीसी सिनेमाजमा साँझ ५ बजेको सोलो प्रदर्शन भइरहेको छ। फिल्म चौथो सातामा चलिरहेको छ। फिल्म जलवायु परिवर्तन र बुढेसकालमा महिलाको एक्लोपनको विषयमा आधारित छ। फिल्ममा दुई पात्र छन्- कलिमा विश्वकर्मा र रतिमा विश्वकर्मा।

युरोप र एसियाको फिल्म फेस्टिभलमा ‘नो विन्टर होलिडेज’ को नामले चिनिएको फिल्म राजन कठेत र सुनिर पाण्डे संयुक्त निर्देशनमा बनेको छ। राजन कठेत नै फिल्मका निर्माता हुन्। फिल्मले पहिलो अल्टरनेटिभ फिल्म अवार्डमा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो। नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार जितिसकेको छ।

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्म सोलो प्रदर्शन भइरहेको छ। फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

अर्गायल

माघ १९ देखि हलिउड फिल्म ‘अर्गायल’ नेपाली हलहरूमा प्रदर्शन भइरहेका छन्। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक म्याथ्यू वोन हुन्।

फिल्ममा हेनरी काभिल, जोन सेना, ब्राइस डलास हावर्ड लगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाजमा हलिउड फिल्म ‘अर्गायल’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, क्यूज सिनेमाज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स हलिउड फिल्म ‘अर्गायल’ चलिरहेको अन्य हल हुन्।

फाइटर

बलिउड फिल्म ‘फाइटर’ माघ ११ देखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्ममा ४० भारतीय सेनामाथि भएको आतंकवादी हमलाको बदला लिन भारतले गरेको हवाई आक्रमणलाई देखाइएको छ।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन्। यो फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्म भनिएको छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बीएसआर मुभिज, क्यूज सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्समा बलिउड फिल्म ‘फाइटर’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स बलिउड फिल्म ‘फाइटर’ चलिरहेको अन्य हल हुन्।

हनुमान

दक्षिण भारतीय फिल्म ‘हनुमान’ माघ ५ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रशान्त बर्मा निर्देशित फिल्म पौराणिक कथामा आधारित छ। फिल्ममा तेजा सज्जा, अमृता अय्यर, विनय राय, वर लक्ष्मी, सरथ कुमार र राज दीपक शेट्टीको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स र विश्वज्योति सिनेप्लेक्समा दक्षिण भारतीय फिल्म ‘हनुमान’ चलिरहेको छ।

क्याप्टेन मिलर

दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’ पुस २७ देखि प्रदर्शनरत छ। आज उपत्यकाको बीएसआर मुभिजमा फिल्मको सो छ।

फिल्ममा बलिउड अभिनेता धनुष मुख्य भूमिकामा रहेको फिल्म बेलायती साम्राज्यविरुद्ध संघर्षको कथामा आधारित छ। अरुण माथेश्वरनद्वारा निर्देशित फिल्ममा धनुषका साथै प्रियंका मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, सन्दीप किशनलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २० माघ २०८० ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =