सहरमा आज

मण्डलामा ‘आकाशको बाटो’ र अन्धवेग, दोस्रो सातामा महाजात्रा

हिमाल प्रेस १७ चैत २०८० ६:३१
6
SHARES
मण्डलामा ‘आकाशको बाटो’ र अन्धवेग, दोस्रो सातामा महाजात्रा

काठमाडौँ- उपत्यका विभिन्न महोत्सव, चित्रकला प्रदर्शनी, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण छ। नाटकघरमा चार वटा नाटक मञ्चन भइरहेको छ। आर्टग्यालरीमा विभिन्न चित्रकला प्रदर्शनीसहित हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म चलिरहेको छ।

यो साता उपत्यकामा केकस्ता विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु भइरहेको छ त?

स्टुडियो थिएटरमा ‘कि कुमार जेलमा कि कुमार रेलमा’

पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा नाटक ‘कि कुमार जेलमा कि कुमार रेलमा’ मञ्चन भइरहेको छ। नाटक चैत १६ देखि मञ्चन भइरहेको नाटक सुरजले निर्देशन गरेका हुन्।

सहलेशको लेखन रहेको नाटक विराटनगर इलाका प्रहरी कार्यालयको हिरासतमा गत अप्रिल १४ २०१९ मा ज्यान गुमाएका १५ वर्षीय दलित बालक किरण कार्की ढोलीको मृत्युको घटनामा आधारित छ।

मझुवा बगर जनकला मञ्चको प्रस्तुति रहेको नाटक वैशाख २ गतेसम्म मञ्चन हुनेछ। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ साढे ५ बजे नाटक मञ्चन हुनेछ।

कौशीमा ‘उबुर उबुर टिक्की’

टेकुस्थित कौशी थिएटर(कथा घेरा)मा चैत २ देखि फिजिकल नाटक ‘उबुर उबुर टिक्की’ मञ्चन भइरहेको छ। सुदाम सिकेले नाटकको परिकल्पना तथा निर्देशन गरेका छन्। नाटकमा मानिसका व्यक्तिगत भोगाइलाई शरीरको हाउभाउमार्फत प्रस्तुत गरिएको छ।

नाटकमा निर्देशक सुधामसहित कलाकार आकाश नेपाली, बिनिता गुरुङ, निष्ठा त्रिपाठी र सरिता कठायतको अभिनय छ।

मंगलबारबाहेक साताको प्रत्येक दिन सवा ५ बजे मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो १ बजे दुई सो हुनेछ। नाटक चैत १८ गतेसम्म मञ्चन हुनेछ।

मण्डलामा ‘आकाशको बाटो’

थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन भइरहेको छ।

नाटकको लेखक तथा निर्देशक प्रदीप कुमार चौधरी हुन्। सामाजिक विषयवस्तुमा आधारित नाटकमा आकाशको बाटो हुँदै बिदेसिन बाध्य नेपाली युवापुस्ताको कथा र त्यसले समाजमा पारिरहेको प्रभाव प्रस्तुत गरिएको छ।

नाटकमा कलाकार सोहित रावल, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति के.सी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राईलगायत कलाकारको अभिनय छ। नाटक चैत १८ गतेसम्म चल्नेछ।

सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो १२ः३० र ४ बजेको दुई सो हुनेछ।

मण्डलामा ‘अन्धवेग’

मण्डलामै नाटककार बालकृष्ण समको चर्चित नाटक ‘अन्धवेग’ मञ्चन भइरहेको छ। सन् १९९६ मा प्रकाशित दुःखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ। पारिवारिक कथामा आधारित नाटकमा क्षणिक आवेगले निम्त्याएको दुष्परिणामलाई देखाइएको छ।

रंगकर्मी प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा तयार वियोगान्त नाटकमा कलाकार अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, संगीता थापा, बारात लिम्बु, सारदा अधिकारी, सुन्दर धिताल, केशवजंग शाही, सन्देश कार्की र सन्तोष गिरिको अभिनय छ।

नाटक चैत १८ गतेसम्म चल्ने नाटक शनिबार दिउँसो साढे २ बजे र साँझ साढे ५ बजे मञ्चन हुनेछ।

पाटनमा थारु कला प्रदर्शनी

ललितपुरस्थित पाटन संग्राहलयमा। थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी चलिरहेको छ। चैत ३ गतेदेखि सुरु भएको प्रदर्शनीको नाम ‘डउले डउले’ अर्थात ‘नमस्ते, तपाइँलाई कस्तो छ?’ राखिएको छ। यो चितवनमा बोलिने थारू समुदायको भाषा हो।

प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको छ। जहाँ पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म थारू समुदायको विविधतालाई झल्काइएको छ।

थारू सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको हो। चैत १८ गतेसम्म चल्नेछ।

कला परिषदमा ‘सार्वभौम वन’

कला परिषदमा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनरत छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्ताबेजलाई प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्ताबेज, विभिन्न प्रजातिका रैथाने बीउबिजन, चित्रलगायतका विभिन्न दस्ताबेजहरू छन्।

प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

महाजात्रा

चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ। यो सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो श्रृंखला हो। अघिल्ला श्रृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।

साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ। फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा गरी फिल्मको २२ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, अष्टनारायण पिक्चर्समा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म महाजात्रा चलिरहेको अन्य हल हुन्।

अगस्त्य

फागुन १८ देखि फिल्म ‘अगस्त्य’ प्रदर्शन भइरहेको छ। निर्देशक चौधरीको लेखन र निर्देशनमा बनेको फिल्म भारतमा बेचिएकी नेपाली किशोरीको उद्धारको कथा छ।

फिल्ममा सौगात मल्ल, निश्चल बस्नेत, रविन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि, नाजिर हुसेन, मलिका महत, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

गोडजिला भर्सेस कङः द न्यु अम्पायर

हलिउड फिल्म ‘गोडजिला भर्सेस कङः द न्यु अम्पायर’ चैत १६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक एडम विंग्वड हुन्। गोडजिल्ला फ्रेन्चाइजीको ३८ औं र किङ कङको १३ औं श्रृंखला हो। फिल्ममा रेबेका हल, ड्यान स्टिभन्स र रचेल हाउस भ्वाइसलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाजमा हलिउड फिल्म ‘गोडजिला भर्सेस कङः द न्यु अम्पायर’ चलिरहेको छ।

क्रू

बलिउड फिल्म ‘क्रू’ पनि चैत १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक राजेश कृष्णन हुन्। फिल्ममा तब्बु, करिना कपुर र कृति सेननलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, सिके सिनेमाज,वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्समा बलिउड फिल्म ‘क्रू’ चलिरहेको छ।

शैतान

थ्रिलर र हरर जनरामा बनेको बलिउड फिल्म ‘शैतान’ का निर्देशक विकाश बहल हुन्। फिल्म फागुन २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अजय देवगन, माधवन, जानकी बोडिवाला मुख्य भूमिकामा छन्। उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टरमा फिल्मको एक सो छ।

कुङफु पाण्डा ४

फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्। फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर र दरबार सिनेम्याक्स, एफक्यूब सिनेमाज, मा फिल्मको सो छ।

ड्युन २

फागुन ११ देखि हलमा डेनिस भिलेनुएभ निर्देशित हलिउड फिल्म ‘ड्युन २’ प्रदर्शनरत छ। साइन्स फिक्सन जनरामा बनेको फिल्म फ्यांक हबर्टको पुस्तकमा आधारित छ। एक्सन, एडभेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा फ्लोरेन्स पग, टिमोथी चालमेट, रेबेका फर्ग्युसनलगायत कलाकारको अभिनय छ। उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मलमा फिल्मको एक सो छ।

प्रकाशित: १७ चैत २०८० ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =