भत्तासहित ईसीडी शिक्षकलाई एक महिने प्रमाणीकरण तालिम दिइँदै, कक्षा १२ उत्तीर्ण अनिवार्य

हिमाल प्रेस २० जेठ २०८३ १६:११ | Wednesday, June 3, 2026
974
SHARES
भत्तासहित ईसीडी शिक्षकलाई एक महिने प्रमाणीकरण तालिम दिइँदै, कक्षा १२ उत्तीर्ण अनिवार्य बालविकास कक्षा । तस्बिर : एआई

डोटी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र दिपायलले सामुदायिक विद्यालयका बालविकास शिक्षकहरू (ईसीडी शिक्षक) को पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक महिने टीपीडी प्रमाणीकरण तालिम सञ्चालन गर्ने भएको छ।

शिक्षा तालिम केन्द्रले जारी गरेको पत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक विकास कार्यक्रमअन्तर्गत बालविकास शिक्षकहरूका लागि १५ दिने तालिम केन्द्रमा आधारित शिक्षक पेसागत विकास प्रमाणीकरण तालिम सञ्चालन गर्न लागिएको हो।

तालिम २०८३ साल असार २५ गतेदेखि साउन ८ गतेसम्म शिक्षा तालिम केन्द्र, दिपायलमा सञ्चालन हुनेछ। तालिमको समय बिहान १० बजेदेखि तोकिएको छ।

पत्रअनुसार डोटी जिल्लाको शिखर नगरपालिकाबाट १३ जना र डडेलधुराको गन्यापधुरा गाउँपालिकाबाट १३ जना गरी कुल २६ जना सहभागी छनोट गरिनेछ।

सहभागी छनोटका लागि बालविकास केन्द्रमा कम्तीमा १५ जना बालबालिका अध्ययनरत हुनुपर्ने, केन्द्रको भौतिक अवस्था प्रारम्भिक बालविकास केन्द्र सञ्चालन मापदण्डअनुसार हुनुपर्ने, सम्बन्धित शिक्षकले कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ।

प्रदेश सरकार वा अन्य सरकारी निकायबाट नमुना बालविकास केन्द्रका रूपमा छनोट भई अनुदान प्राप्त नगरेको तथा यसअघि शिक्षा तालिम केन्द्रबाट टीपीडी प्रमाणीकरण तालिम नलिएको हुनुपर्ने व्यवस्था गरिएको छ।

तालिममा सहभागी शिक्षकलाई १५ दिनको निर्वाह खर्चबापत दैनिक एक हजार रुपैयाँ उपलब्ध गराइनेछ। आयोजना अवधिको यातायात खर्च तथा दैनिक भ्रमण भत्ता समेत प्रदान गरिने शिक्षा तालिम केन्द्रले जनाएको छ।

सहभागीहरूले तालिममा उपस्थित हुँदा नियुक्तिपत्र र नागरिकताको प्रतिलिपि साथमा ल्याउनुपर्ने पत्रमा उल्लेख छ।

प्रकाशित: २० जेठ २०८३ १६:११ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast