काठमाडौँ- नेपालमा बीवाईडी ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता साइमेक्स इंकले कर छलेर गाडी भित्र्याएको आरोप निराधार रहेको जनाएको छ।
कम्पनीले प्रचलित कानुको पालना गरेरै सवारीसाधन आयात गरिएको दाबी गरेको हो।
सरकारी निकायसँग मिलेमतो गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार र असत्य रहेको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक हुनुअघि भन्सार जाँचपास भएर कोरला नाकाबाट ६४९ र रसुवा नाकाबाट ४७२ थान गाडी भित्र्याइएको कम्पनीले जनाएको छ। यसका अतिरिक्त २२६ वटा सवासीसधान चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न हुन बाँकी रहेको कम्पनीको भनाइ छ।
सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रुपमा आयात तथा जाँचपास गरिएको बताउँदै कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको स्पष्ट पारेको छ।
ग्राहकहरूबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पूरा गर्न र नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न यी गाडीहरू आयात गरिएको कम्पनीको भनाइ छ।




