टिप्पणी

रोस्ट्रममा बालेन होइन, नेपाल बोले

चन्द्रशेखर अधिकारी ९ असोज २०८३ २३:५९ | Friday, September 25, 2026
रोस्ट्रममा बालेन होइन, नेपाल बोले

न्युयोर्क– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपालमा मौन र सीमित संवादमा देखिए पनि संयुक्त राष्ट्रसंघको महासभामा भने नेपालको आवाज बनेर उभिएका छन्। उनले  महासभामा भोटेकोशी-त्रिशूलीको विपत्तिदेखि जलवायु न्याय, हिमालयको जोखिम, भारत-चीन सहकार्य, विश्व आपूर्ति प्रणाली र कमजोर मुलुकमाथि थोपरिएको संकटसम्मका प्रश्न उठाउँदै  नेपालको पीडालाई विश्वको साझा सरोकार बनाउने प्रयास गरे। राजनीतिक यात्रा, जेनजी आन्दोलन र आफ्नो लोकप्रियताको कथा सुनाउने अवसर हुँदाहुँदै उनले त्यसलाई भाषणको केन्द्र बनाएनन्।

यस्तो देखियो बालेन शैली 

महासभामा सम्बोधन गर्न होटल ग्रान्ड हायातबाट जानुअघि प्रधानमन्त्री शाहलाई नियाल्न, हौसला दिन न्युयोर्कमा भएका नेपालीहरू होटलअगाडि लामबद्ध भएर उभिएका थिए। बालेन बालेन… हाम्रो विश्वास बालेन… भन्ने नेपाली पनि उत्तिकै थिए। विशेष गरी युवाहरु आफ्नो काम छाडेर त्यहाँ आएका थिए। फोटो र भिडियो खिचिरहेका थिए।

बालेनसँग नजिक भएर केही गर्न पो सकिन्छ कि केही फाइदा लिन पो सकिन्छ कि भनेर भेट्न खोज्ने झुन्ड पनि त्यहाँ देखिन्थ्यो। उनीहरु एक प्रकारको छटपटीमा थिए।  तर उनीहरू कसैसँग पनि बालेनले दोहोरो कुराकानी गरेको देखिएन। समर्थकहरूलाई नमन गर्दै प्रधानमन्त्री बालेन अमेरिकी समयअनुसार बिहीबार साँझ  ५ बजेर ४० मिनेट जाँदा  होटलबाहिर निस्किए। मलीन अनुहार, फिस्स हाँसो र केही गहन सोचमा परेको शैलीमा उनी अघि बढे।

कोहीसँग पनि नबोली हात हल्लाएर अभिवादन गर्दै उनी गाडीसम्म पुगे। सुरक्षा घेरामा फटाफट हिँडे।  उनमा कत्ति पनि हडबडाहट र परिवर्तन थिएन।  महासभामा उनले के बोल्ने हुन् भन्ने कौतूहल जति काठमाडौँमा थियो त्यति नै त्यहाँ उभिने मात्र होइन उनीसँगै हिँड्नेहरूमा पनि देखिन्थ्यो।

काठमाडौँमा  प्रधानमन्त्रीको मौनतालाई लिएर निकै बहस चलिरहेकै थियो। उनी आफू महासभामा नजाने र परराष्ट्रमन्त्रीले सहभागिता जनाउने तयारी थियो। भदौ १० मा आएको भोटेकोशीको बाढीपछि उतपन्न जनधनको क्षतिका कारण उनलाई अन्तर्राष्ट्रिय मञ्चमा उभिएर केही भन्ने हुटहुटी आयो र उनी राष्टसंघको सभामा उभिन पुगेका हुन्। प्रधानमन्त्री शाहले यो भ्रमणमा न कुनै किनमेलको तालिका तय गरे न कुनै कार्यकर्ता वा अमेरिकामा रहेका नेपाली समुदायसँग भेटघाट गरे। उनको ध्यान महासभामा उभिएर विश्वसामु प्रश्न गर्नु थियो, उनले त्यहाँ त्यही गरे।

ढिलो निर्णय लिएकाले  बालेनले सम्बोधन गर्ने कार्यतालिका पनि पछाडि परेको हो। उनको त्यो निर्णय सुझबुझपूर्ण देखियो। किनभने बहुपक्षीतामा उनको पहिलो विदेश भ्रमण भयो। त्यसले उनलाई राजनीतिक वा व्यक्तिगत रुपमा केही असहजता ल्याउन सक्ला तर त्यसको अर्थ राम्रो लाग्नेछ। उनले विश्वको राजधानीमा उभिएर नेपालजस्ता देश र आमनागरिकलाई कहिले न्याय मिल्नेछ भन्ने प्रश्न उठाएका छन्।

अर्को कुरा विश्वमञ्चमा उनले एउटा फरक बाटो रोजे- त्यो हो आफ्नो राजनीतिक छवि उचाल्ने होइन, नेपालले भोगिरहेको संकटलाई विश्वको साझा सरोकार बनाउने। नेपालमा किन जेनजी आन्दोलन भयो? किन म सरकारका आएँ। किन म मेयरबाट प्रधानमन्त्री भएँ भन्ने  दलगत र व्यक्तिगत विषयलाई उनले छोएनन्। यसअघि नेपालबाट महासभामा भाग लिन आएका नेताहरू आफ्ना गाथा गाउँथे। महासभाको मञ्चलाई आफ्नै बारेमा बोलेर समय बिताएका प्रधानमन्त्री पनि हामीले रिपोर्टिङका क्रममा भेटेका हौँ।  प्रश्न गर्दा उल्टो जवाफ दिने प्रधानमन्त्री पनि देखेकै हो।

प्रधानमन्त्री शाहले सम्बोधनको प्रारम्भमै नेपालले भोगिरहेको विषय उठान गरे। प्रधानमन्त्री बनेपछि बालेन सार्वजनिक संवादमा निकै सीमित रहँदै आए पनि बोल्न पर्ने ठाउँमा स्पष्ट देखिए। न्यायको खोजी गरे। विश्व व्यवस्थामा देखा परेको भिन्नता र असमानताको कूटनीतिक शैलीमा प्रहार गरे। प्रधानमन्त्री शाहले राष्ट्रसङ्घ स्थापनाको उद्देश्य र इतिहास मात्र सम्झाएनन त्यो विश्व व्यवस्था (वर्ल्ड अर्डर) र  भताभुंग हुँदै गएको स्थितिबारे पनि चिन्ता र चासो व्यक्त गरे। साथै उनले सन्तुलित विश्व कस्तो हुनुपर्छ भन्ने कुराको दृष्टिकोण पनि दिए।

प्रधानमन्त्री बालेनको महासभामा प्रस्तुत अभिव्यक्तिलाई  दुई प्रकारबाट हेर्न  सकिन्छ। बालेन पक्षधरले यसलाई काममा केन्द्रित शैली मानेका छन्। आलोचकहरू भने लोकतान्त्रिक जवाफदेहिताको प्रश्न उठाउँछन्।  यही पृष्ठभूमिमा राष्ट्रसंघको ८१औँ महासभाको रोस्ट्रममा उभिएका बालेनलाई नेपालभित्र मात्र होइन, प्रवासमा रहेका नेपालीले पनि उत्सुकतापूर्वक हेरेका थिए। हो उनको प्रस्तुति अझ दमदार बन्न सक्ने स्थान थिय‍ो तर उनले आफ्नो भन्दा देशकै कुरामा जोड गरे यो नै उनको बलियो पक्ष हो। 

प्रधानमन्त्रीले शाहले भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीलाई नेपालको स्थानीय विपत्ति मात्र भनेनन्। हिमालयको संकटलाई विश्वव्यापी जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गरे। बालेनले भने, ‘जब हामीले बारम्बार आफ्नो विगत पुनर्निर्माण गरिरहनुपर्छ भने हामी आफ्नो भविष्य निर्माण गर्न सक्दैनौँ।’ यो उनको सम्बोधनको लोभलाग्दो र डरलाग्दो बाक्य थियो। नेपाललाई  सहयोग गर्छौँ र बनाउँछौँ भन्नेहरूका लगि यो एक प्रकारको प्रश्न हो।

‘हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर यसको ठूलो मूल्य हामीले चुकाइरहनुपरेको छ,’ भन्ने उनको तर्क भाषणको नैतिक केन्द्र बन्यो। नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने तर जलवायु विपत्तिको भारी मूल्य चाहिँ नैपालले नै चुकाउनुपर्ने भन्दै उनले अन्तर्राष्ट्रिय न्यायको प्रश्न उठाए। बालेनले विपत्ति, विकास, वित्त, आपूर्ति प्रणाली र विश्व व्यवस्थालाई एउटै धागोमा जोड्दै त्यसमाथि प्रहार गर्ने प्रयास गरे। यही उनको भाषणको महत्त्वपूर्ण राजनीतिक पाटो हो।

विपत्तिबाट सहकार्यतर्फको कूटनीति

नेपालका यसअघिका प्रधानमन्त्रीहरूले महासभामा शान्ति, लोकतन्त्र, विकास, जलवायु र राष्ट्रिय हितका विषय उठाउँदै आएका थिए। बालेनले पनि ती विषय छोए। तर उनले भाषणलाई विषयको लामो सूची बनाएनन्। उनले एउटा घटना समाते-भोटेकोशी-त्रिशूलीको विपत्ति। त्यहीँबाट जलवायु परिवर्तन, हिमालय, भारत र चीन, अनि विश्वव्यापी जलवायु वित्त र आपूर्ति प्रणालीसम्म पुगे।

सबैभन्दा ठोस कुरा प्रधानमन्त्रीले  नेपाल, भारत र चीनको नेतृत्वमा हिमाली जलवायु उत्थानशीलता संयन्त्र गठनको प्रस्ताव  गरे। यो प्रस्ताव सामान्य जलवायु सहकार्यभन्दा परको विषय हो। उपग्रह सूचना आदानप्रदान, हिमताल निगरानी, पूर्वसूचना प्रणाली र सीमापार समन्वय यसका आधार हुनेछन्। स

हिमालय चीन र भारतसँग जोडिएको छ। यहाँबाट बग्ने नदी तीनै देशको जीवनसँग गाँसिएका छन्। हिमताल फुट्दा असर सीमाभित्र रोकिँदैन। त्यसैले तीन देशबीच सूचना, प्रविधि र पूर्वसूचना प्रणालीमा  सहकार्य आवश्यक छ। अझ महत्त्वपूर्ण कुरा- बालेनले  छिमेक लक्षित कुरा पनि गरेनन्। उनले त दुवै छिमेकी भारत र चीनसँग सहकार्य गरेर अघि बढ्ने बताए। प्रधानमन्त्रीले  बाढीपछि सहयोग गरेकोमा दुवै छिमेकी भारत र चीनलाई धन्यवाद दिए र सहकार्यको प्रस्ताव राखे। 

दुई ठूला शक्तिबीच रहेको नेपालका लागि यो सन्तुलित र परिपक्व कूटनीतिक भाषा हो। नेपालले छनोट गर्ने होइन, आफ्नो हितअनुसार दुवैसँग सहकार्य गर्ने हो। त्रिपक्षीय हिमाली संयन्त्रको प्रस्तावले यही सम्भावनालाई संस्थागत संवादको विषय बनाउन खोजेको देखिन्छ। व्यवहारमा लैजान सकियो भने यो महासभाको भाषणमा मात्र सीमित रहनेछैन।

क्षेप्यास्त्र पुग्ने संसारमा मल किन पुग्दैन?

प्रधानमन्त्री शाहले महासभामा किसानको पीडा बोलेका छन् । भाषणको सबैभन्दा जनजीवनसँग जोडिएको र राजनीतिक हिस्सा मल, इन्धन, बिटुमिन र खाद्यान्नको आपूर्ति प्रणालीबारे थियो। उनले सोधे, ‘महादेश पार गर्ने क्षेप्यास्त्र तोकिएको समयमा पुग्छ, युद्ध सामग्रीका लागि आपूर्ति शृंखला चल्छ? तर नेपाली किसानले खेती गर्ने बेला मल किन पाउँदैन?’

विश्वले युद्धका लागि अत्यन्त प्रभावकारी आपूर्ति प्रणाली बनाएको छ, तर खाद्यान्नका लागि त्यही प्रणाली कमजोर रहेको प्रसंग साँच्चै लोभलाग्दो थियो।

जलवायु परिवर्तन नेपालका लागि हिमालमा मात्र होइन, खेतमा, बजारमा, सडकमा, ऊर्जामा र भान्सामा देखिने विषय हो।
त्यसैले बालेनले यसलाई सामान्य वातावरणीय बहसबाट निकालेर मानवीय सुरक्षाको प्रश्नसँग जोडेका हुन्। 

प्रधानमन्त्री बालेनले सुरक्षा भनेको सीमा रक्षा मात्र होइन सुरक्षित जीवन, खाद्यान्न, रोजगारी र सम्मानजनक भविष्य पनि हो भन्ने विषय उठाए। नेपालले विश्वलाई  ‘हामी गरिब छौँ, सहयोग गर’ भनेको छैन। बालेनले प्रश्न उल्ट्याएका छन्- विश्व व्यवस्था नै यस्तो किन छ, जसले कमजोर मुलुकलाई संकटको मूल्य बढी तिराउँछ? यही प्रश्नले भाषणलाई नेपालको सीमाभन्दा बाहिर पुर्‍याएको छ।

‘सबैभन्दा कान्छो’ होइन, नेपालको कथा

बालेनले यस वर्ष महासभामा सम्बोधन गर्ने सबैभन्दा कम उमेरको सरकार प्रमुख भनेर सूचीकृत गरेको कुरा उठाउँदै भने, ‘म त्यसलाई कथाको विषय बनाउन आएको छैन।’  यो सानो वाक्यले उनको प्राथमिकता पनि झल्किएको छ। 

आफ्नो राजनीतिक सन्देशलाई विश्वमञ्चबाट घरेलु राजनीतिसम्म पुर्‍याउने समय खर्चिने मञ्च पनि हो  महासभा। तर बालेन त्यसमा लागेनन्। यही महासभाको हला हो जहाँ सन् १९६० मा फिडेल क्यास्ट्रोले चार घण्टाभन्दा लामो भाषण ठोके, यासेर अराफातले १९७४ मा कम्मरमा होल्स्टर भिरेर रोस्ट्रममा पुग्दै ‘जैतुनको हाँगा र स्वतन्त्रताका लागि लडाकुको बन्दुक’को प्रतीक अघि सारे। सन् २००६ मा ह्युगो चाभेजले अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसलाई ‘सैतान’ भन्दै राजनीतिक प्रतिरोधको मञ्च बनाएका थिए।

२०१२ मा बेन्जामिन नेतान्याहुले कार्टुनमा कोरिएको बम होस् या  २०१९ मा नायिब बुकेलेले भाषणकै बीच सेल्फी खिचेर महासभाको मञ्चलाई सामाजिक सञ्जालमा जोडिदिएर हल्का बनाउन खोजेका उदाहरण छन्।  त्यही अर्थमा बालेनको महासभा सम्बोधनलाई परराष्ट्र नीतिको वक्तव्यका रूपमा होइन, उनको घरेलु राजनीतिक छवि र नेपालको अन्तर्राष्ट्रिय प्रस्तुतीकरणबीचको सम्बन्धका रूपमा हेर्नुपर्छ। बरु उनले अन्त्यमा नेपाली भाषामा पशुपतिनाथ र बुद्धलाई सम्झिएर सम्बोधन गरे। उनले नेपालको सांस्कृतिक चिनारी विश्वव्यापी बनाउन खोजेको देखिन्छ। बालेनको पहिलो राष्ट्रसंघीय सम्बोधन नेपालको मुद्दालाई नयाँ र स्पष्ट भाषामा प्रस्तुत गर्ने प्रयासको रुपमा लिन सकिन्छ।

काठमाडौँमा उत्तर दिनुपर्नेछ

महासभामा सम्बोधन गर्ने प्रधानमन्त्रीले काठमाडौँ फर्किएपछि आफ्नै संसद् र नागरिकसँग म गर्छन् भन्ने प्रश्नको सामना गर्नुपर्नेछ। न्युयोर्कमा उनले जलवायु न्याय, उत्तरदायित्व, पारदर्शिता, संस्थागत क्षमता र नयाँ पुस्ताको आकांक्षाको कुरा गरेका छन्।

भाषणमै नयाँ पुस्ताले इमानदारी र जवाफदेहिताको राजनीति मागेको उल्लेख छ। अब यही भाषणको आन्तरिक अर्थ पक्कै उनले बालुवाटार र सिंहदरबारमा पनि खोजिरहेका छन्। विश्वमञ्चमा जवाफदेहिताको कुरा गर्दा देशभित्र नियमित संवाद आवश्यक देखिन्छ। तर उनले संवाद कोसँग गर्ने भन्ने प्रश्न छ।

प्रधानमन्त्री शाह न्युयोर्क आउने भएपछि उनीसँगै विमानमा सिट मिलाएर कुराकानी गर्न खोज्नेसँग वा परराष्ट्रका केही कर्मचारीसँग जानकारी लिएर सँगै होटलमा कोठा लिनेसँग? यसमा सायद प्रधानमन्त्री निर्मम हुन सक्छन। केहीका उपहारको लोभमा परेका केही कर्मचारीले सबै जानकारी बाहिर दिएर केही त्यस्ता व्यक्तिलाई प्रधानमन्त्रीसँगै राखेको देखिन्छ।

त्यो समूह किन प्रधानमन्त्रीसँग यसरी निकट हुन खोजेको छ? यो प्रश्न जसरी हामी मिडियाले गरिरहेका छौँ, पक्कै उनले र उनका नजिकै रहेकाले पनि गरिरहेका होलान्। हो, प्रधानमन्त्रीले महासभामा विश्वलाई पूर्वसूचना प्रणाली र संस्थागत क्षमता बलियो बनाउन आग्रह गर्दा नेपालभित्रका संस्थाहरू पनि सक्षम बनाउनुपर्छ। भाषण र शासनबीचको दूरी जति कम हुन्छ, प्रभाव त्यति नै ठूलो हुन्छ। बालेनका लागि असली परीक्षा यही हो।

राष्ट्रसंघको रोस्ट्रमबाट बालेनले नेपालको आवाज विश्वसामु पुर्‍याएका छन्। हिमालयको विपत्तिलाई जलवायु संकटसँग जोडे, जलवायु न्यायलाई वित्त र विश्व व्यवस्थासँग जोडे, भारत र चीनलाई प्रतिस्पर्धी छिमेकी मात्र होइन सहकार्यका साझेदारका रूपमा प्रस्तुत गरे। युद्धका लागि चल्ने आपूर्ति प्रणाली किसानको मलसम्म किन पुग्दैन भन्ने प्रश्न पनि उठाए।

कूटनीतिमा भाषण सुरुवात हो, परिणाम होइन।

अब असली परीक्षा काठमाडौँमा छ। भारत र चीनसँग प्रस्तावित हिमाली संयन्त्र कसरी अघि बढ्छ? पूर्वसूचना र उपग्रह सूचना आदानप्रदानको संरचना कसरी बन्छ? जलवायु वित्त कसरी भित्रिन्छ? भोटेकोशी–त्रिशूलीको पुनर्निर्माण कति पारदर्शी हुन्छ? किसानले मल समयमै पाउँछन् कि पाउँदैनन्? र विपत्ति आउनुअघि राज्य संयन्त्र तयार हुन्छ कि हुँदैन?

न्युयोर्कमा बालेनले एउटा प्रश्न विश्वसामु राखे- हिमालयबाट आएको चेतावनी हामीले सुनेका छौँ? अब त्यही प्रश्न उनको सरकारमाथि फर्किएको छ।

विश्वमञ्चमा नेपालको पीडा बोल्नु महत्त्वपूर्ण थियो। त्यसलाई नीति, कूटनीति र परिणाममा बदल्नु अझ महत्त्वपूर्ण छ। रोस्ट्रमबाट उठेको आवाजको वास्तविक परीक्षा सिंहदरबारमा हुनेछ। त्यहाँ बालेनले नेपालका लागि बोलेको आवाज कति सुनिन्छ, त्यसैले उनको पहिलो राष्ट्रसंघीय सम्बोधनको अर्थ तय गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast