सहरमा आज : नाटक, चित्रकला, कन्सर्ट र फिल्मले भरिपूर्ण

सुस्मिता बजगाईं १६ मंसिर २०८० ७:१४
160
SHARES
सहरमा आज : नाटक, चित्रकला, कन्सर्ट र फिल्मले भरिपूर्ण

काठमाडौँ- यस साता उपत्यका विभिन्न मनोरञ्जनात्मक गतिविधिले भरिपूर्ण छ। नाटकघरहरूमा फरकफरक विषयवस्तुमा नाटक मञ्चन भइरहेको छ। साथै विभिन्न स्थानमा चित्रकला प्रदर्शनी, व्यापार मेला पनि जारी छ। भारतीय चर्चित गायक विनित सिंहको कन्सर्ट पनि हुँदैछ। हलमा भने कहिले हिन्दी, कहिले नेपाली त कहिले अंग्रेजी फिल्म चलिनै रहन्छन्। फुसर्दमै हुनुहुन्छ भने समयको सदुपयोग पनि हुने र केही नयाँ जानकारीसहितका मनोरञ्जनात्मक गतिविधिमा सहभागी बन्न सक्नुहुन्छ।

थिएटरमा तीन नाटक:

गुरुकुलमा ‘काल’

थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा नाटक ‘काल’ मञ्चन भइरहेको छ। समाजमा मनोरोगी भएका मानिसहरूको उपचार नाटकको माध्यमबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा आधारित छ।मंसिर १४ देखि मञ्चन भइरहेको नाटकको परिकल्पना, लेखन तथा निर्देशन राम भजन कामतले गरेका छन्।

नाटकमा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल र प्रविण खतिवडासहित निता राई, सन्देश कार्की, अर्जुन शिवाकोटी, सुरवी कामत, सलिना क्षेत्री, रोशन चन्दलगायतको अभिनय छ। नाटक मंसिर ३० सम्म मञ्चन हुनेछ।
नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो साढे ४ बजे मञ्चन हुनेछ। आज शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।

शिल्पीमा ‘ब्यूँझिएको सिरानी’

मंसिर १५ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी गोठाले नाटकघरमा नाटक ‘ब्यूँझिएको सिरानी’ पुनः मञ्चन भइरहेको छ। जेडी तमू निर्देशित नाटक मानसिक स्वास्थ्यको विषयमा आधारित छ।

नाटकमा कलाकार रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायतले अभिनय गरेका छन्। नाटक मंसिर ३० गतेसम्म मञ्चन गरिनेछ।

प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको अतिरिक्त शो पनि हुनेछ।

मण्डलामा ‘मानिस हराएको सूचना’

मंसिर १५ गतेदेखि थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मानिस हराएको सूचना’ मञ्चन भइरहेको छ। नाटक अस्तित्व बिर्सिएर आफैंभित्र हराइरहेका मानिसको कथामा आधारित छ। नाटकका लेखक अमित गिरी हुन्। नाटकको निर्देशन लेखक गिरी र सन्तोष विष्टले गरेका छन्।

मंसिर २४ सम्म मञ्चन हुने नाटकमा शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश बिमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा र पुकार चापागाईंको अभिनय छ। नाटक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार १ बजेको अतिरिक्त शो हुनेछ।

भारतीय गायक विनिथ सिंहको कन्सर्ट

बेलुका दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘विनिथ सिंह लाइभ इन नेपाल’ नामक कन्सर्ट हुँदैछ। कन्सर्टमा भारतीय लोकप्रिय गायक विनित सिंह आफ्नो ब्यान्डसहित सांगीतिक प्रस्तुति दिँदैछन्।

२००३ देखि संगीतमा होमिएका विनितको बलिउडमा दर्जनौँ गीत चर्चित छन्। कार्यक्रममा उनले ‘तेरा प्यार प्यार हुक्कः बार’, ‘तुम चैन हो करार हो’, ‘जलते दिए’, ‘प्रेम लिला’, ‘तु कमाल दि कुडी’लगायत थुप्रै गीत गाउने छन्। कन्सर्टमा प्रवेश शुल्क एक हजार तोकिएको छ।

नेपालका चर्चित गायक गायिकाको समेत प्रस्तुति रहने कार्यक्रम एल एन्ड एन मोडेल एजेन्सीले आयोजना गरेको हो।

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला

मंसिर १४ गतेदखि भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा नवौँ अन्तराष्ट्रिय व्यापार मेला सञ्चालन भइरहेको छ। मेलामा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायतका देशका कुल २१० वटा स्टलहरू छन्।
जसमा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनीमा राखिएको छ। मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ। मेला नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको हो।

नक्सालमा चित्रकला प्रदर्शनी

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा ‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। एक सातासम्म चल्ने प्रदर्शनी मंसिर १४ देखि सुरू भएको हो। प्रदर्शनीमा देशभरका दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंङख्यक (एलजीबीटीआईक्यू)सहित ३८ कलाकारका चित्रकला प्रदर्शनरत छ। प्रदर्शनी मंसिर २० सम्म चल्ने प्रदर्शनी सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना गरेको हो।

हलमा बलिउड र नेपाली फिल्म:

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नवीन खड्कालगायतको अभिनय छ।

मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्ममा आकाश बरालले पटकथा लेखेका छन्। फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको शो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्यूब सिनेमाज फिल्म ‘दिमाग खराब’ चलिरहेको अन्य हल हुन्।

बासेन्जी

असोज २६ देखि फिल्म ‘बासेन्जी’ रञ्जना सिनेप्लेक्समा प्रदर्शनरत छ। नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो। फिल्म अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले निर्देशन गरेका हुन्।

फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदीपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ।

एनिमल

बलिउड फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगा निर्देशित फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ। एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्म रश्मिका मन्दाना, अनिल कपूर, बबी देओललगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको शो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, क्यूज सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाजमा बलिउड फिल्म ‘एनिमल’ प्रदर्शन भइरहेको छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स बलिउड फिल्म ‘एनिमल’ चलिरहेको अन्य हल हुन्।

सामबहादुर

मंसिर १५ गतेदेखि प्रदर्शन भइरहेको बलिउड फिल्म ‘सामबहादुर’ बायोपिक ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक मेघना गुजार हुन्। सन् १९७१ को भारत–पाकिस्तान युद्धको बेलामा भारतीय सेना प्रमुख र त्यसअन्तर्गतको गोर्खा रेजिमेन्टको नेतृत्व गरेका साम मनकेशवा कथामा आधारित छ। साथै भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सेनाको कथावस्तु पनि समेटिएको छ।

विक्की कौशल मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारले अभिनय गरेका छन्। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको शो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स बलिउड फिल्म ‘सामबहादुर’ प्रदर्शन भइरहेको छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, क्यूज सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज बलिउड फिल्म ‘सामबहादुर’ चलिरहेको अन्य हल हुन्।

टाइगर ३

बलिउड फिल्म ‘टाइगर ३’ कात्तिक २६ देखि प्रदर्शनरत छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मलमा फिल्मको एक शो छ। थ्रिलर एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक मनिष शर्मा हुन्। आदित्य चोपडाले निर्माण गरेको फिल्ममा सलमान खान, कट्रिना कैफ, इमरान हासमीलगायत कलाकारको अभिनय छ।

फिल्म सन् २०१२ मा प्रदर्शन भएको ‘एक था टाइगर’ र सन् २०१७ को ‘टाइगर जिन्दा है’ को तेस्रो सिक्वेल हो।

प्रकाशित: १६ मंसिर २०८० ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =