संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत : कमल थापा

हिमाल प्रेस १९ पुष २०८० १६:१४
14
SHARES
संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत : कमल थापा राप्रपा नेपाल अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डिकेटतन्त्र कायम भएको टिप्पणी गरेका छन्। काठमाडौँमा बिहीबार आयोजित राप्रपा नेपालको मध्यमाञ्चलस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तन भएको १७ वर्ष पुगिसक्दा पनि जनता मालिक हुनुको सट्टा लोकतन्त्रको आवरणमा केही राजनीतिक दलहरुको सिन्डिकेटतन्त्र कायम भएको बताए।

उनले प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद देखिएको टिप्पणी गरे। थापाले विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको भन्दै थापाले राष्ट्रवादी देशभक्त र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा आएर छाडातन्त्रको विकल्प खोज्नुपर्नेमा जोड दिए।

उनले अहिले संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको भन्दै विदेशी शक्तिहरुको चलखेल र प्रभाव तीव्र रूपले बढ्नुका साथै नेपाल अन्तर्राष्ट्रिय महाशक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बनेको उल्लेख गरे।

सरकारको अकर्मण्यता र गलत नीतिका कारणले देशको अर्थतन्त्र धराशयी बनेको थापाको भनाइ छ। उनले संस्कृतिमन्त्री सुदन किरातीको क्रिस्चियन नमान्ने संविधानविरोधी हुन् भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेविरुद्धको यो षड्यन्त्र र अपमान भएको उल्लेख गरे।

अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको भन्दै सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रुपले आक्रमण भइरहेको टिप्पणी गरे। उनले देशमा कायम रहेको संघीय धर्मनिरपेक्षता र गणतन्त्र असफल साबित भइसकेको दाबीसमेत गरे। प्रशिक्षणमा क्षेत्रभित्रका केन्द्र, जिल्ला, नगर र जनवर्गीय संगठन गरी दुई सय पन्ध्र जना सहभागी छन्।

प्रकाशित: १९ पुष २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =