राष्ट्रियसभा निर्वाचन : एमाले गण्डकीले सिफारिस गर्‍यो ९ जनाको नाम

हिमाल प्रेस १८ पुष २०८० १९:३५
16
SHARES
राष्ट्रियसभा निर्वाचन : एमाले गण्डकीले सिफारिस गर्‍यो ९ जनाको नाम

पोखरा- आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले गण्डकीले उम्मेदवारको नाम सिफारिस गरेको छ। नवराज शर्माको अध्यक्षतामा बसेको प्रदेश कमिटी बैठकले रिक्त तीन पदमा ९ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको हो। जसमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस भएको छ।

अपांग/अल्पसंख्यकतर्फ कास्कीका मेघराज शर्मा, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मीना बराम परेका छन्। महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम सिफारिस गरिएको अध्यक्ष शर्माले बताए।

आगामी फागुन २० मा गण्डकी प्रदेशबाट राष्ट्रियसभाका अध्यक्षसमेत रहेका एमालेका गणेशप्रसाद तिमिल्सिना र दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल सकिन लागेको हो।

नेपाली कांग्रेसले नाम छान्न नसकेपछि १७५ जनाको नाम पठाएर केन्द्रकै जिम्मा लगाएको छ। ती नामावलीमा प्रदेश सभापति शुक्रराज शर्मादेखि कार्यसमिति सदस्य र प्रदेश प्रतिनिधिसम्म छन्। सत्तारुढ दल माओवादी केन्द्रले अझै नाम टुंगाएको छैन।

निर्वाचनको लागि पुस २३ मा मनोनयन दर्ता हुँदैछ। गण्डकी प्रदेश राजधानी पोखरामा सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। चुनावका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलालाई निर्वाचन अधिकृत तोकिएको छ। यसपालि देशभर १९ सिटका लागि हुने चुनाव हुन लागेको हो।

गण्डकीबाट कुल २३० जना मतदाता छन्। तीमध्ये ६० सदस्यीय प्रदेशसभा (सदस्य) बाट ६० र ८५ पालिका (प्रमुख/उपप्रमुख) गरी १७० जना मतदाता हुन्। निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख/उपप्रमुखहरूको मतभार १९ तोकेको छ । यसअघि प्रदेशसभाको ४८ र पालिकाको मतभार १८ थियो ।

यसरी गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४१० हुन आउँछ। गण्डकीमा १ महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन्।

गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबैभन्दा बढी मतभार छ। प्रदेशसभातर्फ २७ र पालिकातर्फ ६७ जना गरी कुल मतभार २ हजार ७ सय ४ मतभार हुन आउँछ।

प्रकाशित: १८ पुष २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =