‘रुसी सेनामा १४ सय नेपाली, तीन सयभन्दा बढी घाइते’

रमेश भारती १८ पुष २०८० १७:१६
112
SHARES
‘रुसी सेनामा १४ सय नेपाली, तीन सयभन्दा बढी घाइते’ प्रतीकात्मक तस्बिर

काठमाडौँ- पछिल्लो सात महिनामा करिब १ हजार ४ सय नेपाली रुसी सेनामा भर्ती भएको पाइएको छ। परराष्ट्र मन्त्रालयले औपचारिक संख्या सार्वजनिक नगरे पनि मस्कोस्थित नेपाली दूतावासले गरेको पत्राचारमा जेठदेखि यता उक्त संख्यामा नेपाली भर्ती भएको विवरण प्राप्त भएको मन्त्रालय स्रोतले जानकारी दियो।

युक्रेनसँग युद्ध लडिरहेको रुसी सेनामा भर्ती भएका नेपालीले जेठमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यसपछि रुसी सेनामा नेपाली भर्ती भइरहेको विषयमा सर्वत्र चासो बढेको थियो। यसबारे ससंद्‌मा समेत आवाज उठ्यो। केही सासंदहरूले परारष्ट्र मन्त्रालयसँग आधिकारिक धारणासमेत मागेका थिए।

रुस-युक्रेन युद्ध ३ सयभन्दा बढी नेपाली घाइते भएको सूचना पाएको परराष्ट्र स्रोतले जनाएको छ। स्रोतका अनुसार रुसी सेनामा अझै पनि नेपाली युवा दोस्रो देश हुँदै गइरहेका छन्। ‘रुसी सेनामा भर्ती भएका नेपाली घाइते भएको सूचना दैनिक आउने गरेको छ। सातामा ३-४ जना नेपाली युद्वका क्रममा बेपत्ता भएको सूचना मन्त्रालयमा आउँछ’, मन्त्रालयका एक उच्च अधिकारीले भने। रुसी सेनामा भर्ती हुन पुगेका २ हजारभन्दा बढी नेपाली यूएई र रुसमै रहेको सूचना मन्त्रालयले पाएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने रुसी सेनामा केकति संख्यामा नेपाली भर्ती भइरहेका छन् भन्ने तथ्यांक प्राप्त नभएको  बताए। उनले भने, ‘रुस-युक्रेनको सेनामा नेपालीहरू भर्ती भइरहेको सूचना आए पनि त्यहाँ कति संख्यामा छन् भन्ने यकिन विवरण आएको छैन।’

प्रवक्ता राईका अनुसार ३ देखि ५ सयको संख्यामा नेपाली रुसी सेना भर्ती भएको अनुमान छ। यस विषयमा मस्कोस्थित नेपाली दूवावासले रुसको विदेश तथा रक्षा मन्त्रालयसँग छलफल गरी विवरण संकलन गर्ने काम गरिरहेको प्रवक्ता राईले बताए।

रुस सरकारलाई त्यहाँको सेनामा नेपालीलाई भर्ती नगराउन दूतावासमार्फत पत्राचार गरिएको छ। साथै रुस जाने नेपालीको भिसा प्रक्रिया नै बन्द गरिएको छ।

मंसिर अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा दुई सय नेपाली भर्ती भएको जानकारी संसद्‌मा गराएका थिए। मस्कोस्थित नेपाली दूतावासले एक हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको र दई सय जनाभन्दा बढी घाइते भएको अनौपचारिक विवरण दिएको छ।

पुस पहिलो साता परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौँस्थित रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर रुसी सेना भर्नाका बारेमा छलफल गरेका थिए। उनले नेपालीलाई रुसी सेनामा भर्ती गराउने काम रोक्न दूतावाससँग आग्रह गरे पनि सेनामा नेपाली भर्ती गराउने प्रक्रिया रोकिएको छैन। यस विषयमा रुस सरकारले पनि केही धारणा सार्वजनिक गरेको छैन।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा कति नेपाली छन्, कति घाइते छन्, त्यहाँ सेनामा कार्यरत नेपालीको अवस्था कस्तो छ, युद्वका क्रममा मृत्यु भएको नेपालीको शव नेपाल पठाउनुपर्ने र घाइते भएको उपचारका बारेमा दुई पटक पत्राचार गरी जानकारी मागे पनि रुसी सरकारले जवाफ नपठाएको परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो।

स्रोतका अनुसार परराष्ट्रमन्त्री साउद रुस भ्रमण जाने तयारीमा जुटेका छन्। उनले यस विषयमा प्रधानमन्त्री दाहाल र कांग्रेसका उच्च नेतासँग छलफलसमेत गरिरहेका छन्।

कूटनीतिक नियममा युद्धग्रस्त देशमा विषेश कामबाहेक भीआईपी भ्रमण गर्न नपाउने व्यवस्था छ। मन्त्री साउद रुसमा रहेको नेपालीको अवस्था बुझ्न र त्यहाँको सुरक्षा निकायसँग छलफल गर्न भ्रमणको तयारीमा लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। सुरक्षाका कारण पनि युद्धग्रस्त देशमा भ्रमण गर्नु उचित नहुने परराष्ट्रविद्हरू बताउँछन्।

रुस-युक्रेन युद्धमा ११ जना नेपालीले ज्यान गुमाएका छन्। युद्धमा दुई सयभन्दा बढी नेपाली घाइते भएको दूतावासको अनुमान छ। पछिल्लो समयमा नेपाली युवा यूएई, कतार, ओमान हुँदै युरोप, अफ्रिका र अमेरिकाजस्ता देश जाने क्रम पनि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा छ। एक वर्षयता सबैभन्दा धेरै नेपाली युवा यूएई हुँदै रूसी सेनामा भर्ती हुन पुगेको श्रम मन्त्रालयको अनुमान छ।

युरोप जाने नेपाली कामदारमा संस्थागतभन्दा व्यक्तिगत रूपमा धेरै छन्। वैदेशिक रोजगार विभागका अनुसार पुस १५ सम्ममा युरोपका देश ११ हजार २ सय ५३ जना नेपाली रोजगारीका लागि बाहिरएका छन्। उनीहरूमध्ये ७० प्रतिशत व्यक्तिगत भिसामा गएको वैदेशिक रोजगार विभागले जनाएको छ। श्रम मन्त्रालयले मंसिरदेखि रुसीका लागि श्रम स्वीकृति बन्द गरेको छ।

पोल्यान्ड, पोर्चुगल, रोमनिया र सर्बियामा रोजगारीका लागि जाने भनेर श्रम स्वीकृति लिने तर ती देशमा पुगेपछि नेपाली युवा रुस-युक्रेन छिर्ने गरेको मस्कोस्थित नेपाली दूतावासले बताउँदै आएको छ।

प्रकाशित: १८ पुष २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =