वैदेशिक रोजगारीका लागि पीडादायी वर्ष

युद्धरत मुलुकमा मात्र १८ नेपालीको मृत्यु, पाँच जना बन्धक

रमेश भारती १६ पुष २०८० १४:५६
410
SHARES
युद्धरत मुलुकमा मात्र १८ नेपालीको मृत्यु, पाँच जना बन्धक इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका नेपालीको शव त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर

काठमाडौँ- सन् २०२३ मा ७ लाख २५ हजार नेपाली वैदेशिक रोजगारीका लागि ९२ देशमा गएका छन्। उनीहरू संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार नेपाली कामदार बिदेसिएको यो अहिलेसम्मकै धेरै हो।

रोजगारीका लागि विदेश जानेको संख्या बढेपछि मृत्यु हुने संख्या पनि बढ्न थालेको छ। कतै मेसिनमा परेर, कतै सुतेको ठाउँमा निसास्सिएर त कतै दुर्घटनामा परेर नेपालीको ज्यान जाने गरेको छ। सन् २०२३ मा भने युद्धमा परेर पनि नेपाली युवाको ज्यान गुमेको छ।

नेपाली कामदार दलालमार्फत र व्यक्तिगत प्रयासमा युद्धरत देशमा पुगेका छन्। इजरायल, युक्रेन र रुसमा युद्ध भइरहेको छ। ती देश वैदेशिक रोजगारीमा गएका १८ जना नेपालीले ज्यान गुमाएका छन्। युद्धरत देशमा ५ नेपाली बन्धक हुनुपरेको छ।

साथै नेपाली युवा रुस र युक्रेनको सेनामा भर्ती भइरहेका छन्। रोजगारी, अध्ययन र भिजिट भिसामा गएका नेपाली ती देशको सेनामा भर्ती भएका छन्। परराष्ट्रय मन्त्रालयका अनुसार युद्धरत ती देशको सेनामा नेपालीहरू भर्ती भए पनि यकिन संख्या भने उपलब्ध हुन सकेको छैन।

वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका दैनिक तीनजना कामदारको दैनिक नेपाल आउने गरेको श्रम मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। साथै रोजगारदाता देशबाट घाइते, बिरामी र अन्य समस्या भई दैनिक १५ जना नेपाली स्वदेश फर्किने गरेका छन्। वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पुगेका ४ सय ८३ जना नेपालीको मृत्यु भएको छ। ती शव बोर्डको सहयोगमा स्वदेश ल्याएको छ।

इजरायलमा १० जनाको मृत्यु

सन् २०२३ को अक्टोबर पहिलो साता इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा १० नेपालीको ज्यान गुमाए। अध्ययनका लागि इजरायल पुगेका उनीहरू हमास समूहले गरेको आक्रमणमा परेका थिए।

मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बौनियाँ-३ कैलालीका आशिष चौधरी, लेकम-५ दार्चुलाका दीपेशराज बिष्ट, पचनाली-३ डोटीका राजन फुलारा छन्।

लामिखाल-८ डोटीका पदम थापा, शारदा-३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही- ६ धनुषाका आनन्द साह र मधुवन-१ सुनसरीका राजेशकुमार स्वर्णकारको इजरायल-हमास युद्धमा मारिए। दुई महिनायता हमासले कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाएको छ। जोशीलाई स्वदेश फर्काउन प्रयास सफल हुन सकेको छैन।

मृतक १० जना विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयबाट बीएससी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका थिए। उनीहरु इन्टर्नसँगै कृषि क्षेत्रमा काम समेत गर्दै आएका थिए।

रुसमा ८ नेपाली मारिए

रुस-युक्रेन युद्धमा पछिल्लो तीन महिनायता ८ जना नेपालीले ज्यान गुमाएका छन्। मस्कोस्थित नेपाली दूतावासले सन्दीप थपलिया (गोरखा), रूपक कार्की (वाणगंगा-१, कपिलवस्तु), देवान राई (कास्की), प्रितम कार्की (पुतलीबजार-५, स्याङ्जा), राजकुमार रोका (मेलुङ-६, दोलखा), गंगाराज मोक्तान (इलाम-५, इलाम), कैलालीको टीकापुर नगरपालिका-१ नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह र कुन्दनसिंह नगल (ठेगाना नखुलेको) को मृत्यु भएको पुष्टि गरेको छ। युद्धमा दुई सयभन्दा बढी नेपाली घाइते भएको दूतवासको अनुमान छ।

रुसी सेनामा १ हजारभन्दा बढी नेपाली भर्ती भएको अनुमानित संख्या रहेको रुसमा रहेका नेपालीहरूले बताउँदै आएका छन्। मस्कोस्थित दूतावासले भने रुसी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजिनक गरेको छैन।

युक्रेनमा ४ जना नेपालीलाई बन्दी बनाइएको परराष्ट्र मन्त्रालयले गत महिना जारी गरेको विज्ञप्तिमा उल्लेख छ। युक्रेनमा बन्दी बनाइएकामा बर्दिया राजापुर-१ का विवेक खत्री, काभ्रेपलाञ्चोक मन्डनदेउपुर-६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ-२ का विकास राई र रोल्पा रुन्टीगढी-८ का प्रतीक पुन छन्। उनीहरूलाई मुक्त गराई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले सन् २०२३ वैदेशिक रोजगारी क्षेत्रमा धेरै समस्या देखिएको जानकारी दिए। उनका अनुसार सन् २०२३ मा सबैभन्दा बढी रेमिट्यान्स र धेरै रोजगारदाता देशसँग श्रम सम्झौता भएको छ। उनले भने, ‘२०२३ मा युरोपका देश रोजगारीमा कामदार पठाउन पहल भएको छ। रोमनिया र जर्मनीसँग श्रम सम्झौता भएको छ। ती देश चाँडै नेपाली पठाउने पहल भइरहेको छ।’

२०२३ मा वैदेशिक रोजगारी क्षेत्रका धेरै समस्या समाधानका लागि पहल भएको समेत घिमिरेको दाबी छ।

युद्धरत देशको सेनामा नेपाली भर्ती हुनु दुःखको विषय भएको रोजगारविज्ञ डा.गणेश गुरुङ बताउँछन्। उनले भने, ‘देशभित्र रोजगारीको सम्भावना नदेखेपछि युद्धरत देशमा जोखिम मोलेर सेनामा भर्ती हुँदा नेपाली ज्यानसमेत गुमाएका छन्।’ यो नेपालका लागि ठुलो नोक्सानी भएको उनले बताए। ‘सरकार वैदेशिक रोजगारीको विकल्प र सुरक्षाका विषयमा गम्भीर हुनुपर्छ। नत्र वैदेशिक रोजगारी क्षेत्रमा अझै ठूला समस्या देखा पर्छन्’, उनले भने।

वैदेशिक रोजगारीले नेपालीमाथि जोखिम बढाइरहेको उनको भनाइ छ। नेपालीहरु संस्थागत १ सय ११ देश र व्यक्तिगत १ सय ७८ देश श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेका छन्। हाल दैनिक १ हजार ७ सय नेपाली विदेश जाने गरेकको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १६ पुष २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =