सूर्यदर्शन सहकारी ठगी अभियोगका प्रतिवादी महेन्द्र भोटे हिरासतमा

हिमाल प्रेस १७ पुष २०८० २१:५० | Tuesday, January 2, 2024
सूर्यदर्शन सहकारी ठगी अभियोगका प्रतिवादी महेन्द्र भोटे हिरासतमा

पोखरा- पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा करोडौं ठगी अभियोगमा फरारमध्येका एक प्रतिवादी शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मंगलबार अदालत उपस्थित भएका छन्। उनीसहित सहकारी सञ्चालक समिति सदस्य भविश्वर अर्याल पनि कास्की जिल्ला अदालतमा हाजिर भएका थिए।

महेन्द्र भोटे उनै प्रतिवादी हुन्, जसलाई गत ५ पुसमा कास्की प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो। पक्राउ पर्ने डरले उनी स्वयं हाजिर भएका हुन्।

गएको वर्ष स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका अध्यक्षमा एमालेबाट चुनाव लडेका उनलाई यो मुद्दा किनारा लगाउन राजनीतिक चलखेल हुन सक्ने सम्भावना रहेको भन्दै सहकारीपीडितले अदालतमै उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

विगतमा पनि आपराधिक क्रियाकलापको जालोमा कैयौं पल्ट फसेका उनी पैसा र राजनीतिक आडमै उम्किने गरेका पात्र हुन्। सहकारी ठगी प्रकरणमा गठित विज्ञको प्रतिवेदनमा उनले साढे ८ करोड रुपैयाँ लगेको देखिन्छ।

दुवैको थुनछेक बहस नटुंगिएपछि आदेश नपाएको र दुवैलाई हिरासत कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले बताए। उक्त सहकारी ठगीमा १९ जनाविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ।

जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिबाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।

यसअघि पक्राउ परेका सहकारी कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि थुनामा छन्। त्यसबाहेक अझै १५ जना प्रतिवादी फरार सूचीमा छन्।

सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जिबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

सर्वसाधारणबाट रकम उठाएर सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बचत डुबेको हो। ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी उजुरी दिन आग्रह गरेकोमा थियो। तर १ हजार ३६ जनाले मात्र उजुरी दिएका थिए।

प्रकाशित: १७ पुष २०८० २१:५० | Tuesday, January 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast