आफ्नो भूमिमा आक्रमण भएपछि पाकिस्तानले दियो कडा चेतावनी, इरानको यस्तो जबाफ

हिमाल प्रेस ३ माघ २०८० २१:४१ | Wednesday, January 17, 2024
आफ्नो भूमिमा आक्रमण भएपछि पाकिस्तानले दियो कडा चेतावनी, इरानको यस्तो जबाफ

स्विट्जरल्यान्ड (रासस/एएफपी)- इरानका शीर्ष कूटनीतिज्ञले बुधबार आफ्नो मुलुकका सशस्त्र बलहरूले एक दिनअघि पाकिस्तानमा एउटा ‘इरानी आतंकवादी समूह’ लाई निशाना बनाएको बताएका छन्। उक्त आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको इस्लामाबादले बताएको छ।

‘मित्र र भ्रातृ राष्ट्र पाकिस्तानका कुनै पनि नागरिकलाई इरानी क्षेप्यास्त्र र ड्रोनले निशाना बनाएको छैन,’ स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चका अवसरमा इरानी विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले भने,  ‘इरानी आतंकवादी समूह जैश अल–अदल समूहलाई निशाना बनाइएको हो।’

तेहरानले इराक र सिरियामा ‘इरानविरोधी आतंकवादी समूहहरू’ विरुद्ध आक्रमण गरेपछि मंगलबार पाकिस्तानमा उक्त आक्रमण भएको हो। पाकिस्तानले दुई मुलुकका साझा सीमा नजिकै भएको आक्रमणको निन्दा गर्दै इरानबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ र तेहरानका राजदूतलाई इस्लामाबाद फर्कन रोक लगाएको छ।

आक्रमणको केही घन्टाअघि पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अनवर–उल हक काकरले डाभोस फोरमका अवसरमा इरानी विदेशमन्त्री अमिर–अब्दुल्लाहियानसँग भेट गरेका थिए। अमिर–अब्दुल्लाहियानले भने, ‘पाकिस्तानी भूमिमा इरानको आक्रमण जैश अल–अदल समूहको इस्लामिक गणतन्त्र इरानमाथि हालै भएको घातक हमला विशेष गरी सिस्तान–बलुचिस्तानको दक्षिणपूर्वी प्रान्त रस्क सहरमा भएको हमलाको जवाफ थियो।‘

जनवरी १० मा रस्क सहरको प्रहरी चौकीमा भएको आक्रमणमा एक प्रहरीको मृत्यु भएको थियो। त्यसको करिब एक महिनापछि यस क्षेत्रमा त्यस्तै प्रकारको आक्रमणमा ११ प्रहरी मारिएका थिए।

दुवै आक्रमणको जिम्मेवारी जैश अल-अदलले लिएको थियो। सन् २०१२ मा गठन भएको जैश अल–अदल सुन्नी मुस्लिम चरमपन्थी समूह हो जसलाई इरानले ‘आतंकवादी’ समूहका रूपमा राखेको छ।

‘उक्त समूहले पाकिस्तानको बलुचिस्तान प्रान्तका केही भागमा आश्रय लिएको छ,’ विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले भने, ‘हामीले यस मामिलामा धेरै पटक पाकिस्तानी अधिकारीहरूसँग कुराकानी गरेका छौँ।’

उनले इरानले पाकिस्तानको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तर ‘मुलुकको राष्ट्रिय सुरक्षासँग सम्झौता वा खेलबाड हुन नदिने’ बताए।

‘परिणाम गम्भीर हुन सक्छ’

इरान र पाकिस्तानबीचको हवाई क्षेत्र उल्लंघनको विवादका कारण पाकिस्तानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै तीन बालिका घाइते भएको पाकिस्तानी विदेश मन्त्रालयले बुधबार जनाएको छ।

पाकिस्तानले इरानद्वारा आफ्नो हवाई क्षेत्रको उल्लंघनको कडा निन्दा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ। मन्त्रालयले देशको सार्वभौमिकताको यो उल्लंघन पूर्ण रूपमा अस्वीकार्य रहेको ठहर गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ।

पाकिस्तानको कडा विरोध तेहरानमा इरानी विदेश मन्त्रालयका सम्बन्धित वरिष्ठ अधिकारीसमक्ष दर्ता भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पाकिस्तान र इरानबीच सञ्चारका धेरै माध्यमहरू अस्तित्वमा भए पनि यो अवैध कार्य चिन्ताको विषय भएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

पाकिस्तानका लागि इरानी कार्यवाहक राजदूतलाई पाकिस्तानी विदेश मन्त्रालयमा बोलाई पाकिस्तानको सार्वभौमिकतामाथिको उल्लंघनका लागि कडा निन्दा गरिएको र यसबाट उत्पन्न परिणामको लागि इरान पूर्ण रूपमा जिम्मेवार हुने विज्ञप्तिमा जनाइएको छ।

पाकिस्तानले सधैँ आतंकवाद यस क्षेत्रका सबै देशहरूका लागि साझा खतरा भएको भन्दै यसलाई क्षेत्रीय सहकार्यमार्फत् सम्बोधन गर्न आवश्यक रहेको जनाएको छ। यस्ता एकपक्षीय कार्यहरू असल छिमेकी सम्बन्ध अनुकूल नभएको र यसले द्विपक्षीय विश्वासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने पाकिस्तानले बताएको छ।

प्रकाशित: ३ माघ २०८० २१:४१ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast