कांग्रेस मधेश प्रदेश सम्मेलनमा विवाद : मर्यादाक्रममा चित्त नबुझेको भन्दै मञ्चमै गएनन् निधि

हिमाल प्रेस ५ पुष २०८० १५:३६
48
SHARES
कांग्रेस मधेश प्रदेश सम्मेलनमा विवाद : मर्यादाक्रममा चित्त नबुझेको भन्दै मञ्चमै गएनन् निधि फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रमको विषयमा विवाद भएको छ। आज सुरु भएको प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रमको विषयमा विवाद भएको हो।

सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेको उक्त सम्मेलनमा उनीपछि कसलाई आसन ग्रहण गराउने भन्ने विषयमा केही दिनदेखि नै विवाद देखिएको थियो। विवाद आज कार्यक्रम उद्घाटन सत्रमै देखियो। उद्घाटन सत्रको कार्यक्रम चलिरहँदा पूर्वउपसभापतिसमेत रहेका विमलेन्द्र निधि मञ्चमा उक्लिएनन्। आसन ग्रहण गराउँदा मर्यादा नमिलाएको भन्दै उनी मञ्चमा नगएका हुन्। उनी दर्शकदीर्घमै बसे।

अर्का नेता डा.शेखर कोइराला पनि मर्यादाक्रमका विषयमा सहमति नजुटेपछि सम्मेलनमै गएनन्। उनी सुनसरी दुहबीमा आयोजित पार्टीकै अर्को कार्यक्रममा सहभागी हुन गए। सभापति शेरबहादुर देउवापछि दोस्रो नम्बरमा कोइरालालाई आसन गराउनुपर्ने भन्दै कोइराला पक्षका नेताले नोट अफ डिसेन्ट पनि दिइसकेका थिए।

पार्टी उपसभापति पूर्णबहादुर खड्का र कोइरालाबीच अहिले दोस्रो वरीयतामा को हुने भन्ने विवाद चर्किँदो छ। यसअघि गण्डकी र लुम्बिनीको प्रदेश सम्मेलनमा कोइरालालाई देउवापछिको मर्यादाक्रममा आसनग्रहण गराइएको थियो। तर मधेश प्रदेश सभापति संस्थापनपक्षको भएकोले कोइरालालाई दोस्रो नम्बरमा आसनग्रहण नगराउने निर्णय गरिएको थियो।

आजको कार्यक्रममा उपसभापतिद्वय खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, प्रवक्ता प्रकाशशरण महतलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी छन्।

कांग्रेस मधेश प्रदेश सम्मेलन : शेखरलाई विशिष्ट अतिथि नबनाउने निर्णयपछि चर्किँदै विवाद

प्रकाशित: ५ पुष २०८० १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =