कांग्रेस मधेश प्रदेश सम्मेलन : शेखरलाई विशिष्ट अतिथि नबनाउने निर्णयपछि चर्किँदै विवाद

हिमाल प्रेस ४ पुष २०८० १७:३८
62
SHARES
कांग्रेस मधेश प्रदेश सम्मेलन : शेखरलाई विशिष्ट अतिथि नबनाउने निर्णयपछि चर्किँदै विवाद

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई कांग्रेस मधेश प्रदेशको सम्मेलनमा विशिष्ट अतिथि बनाउने/नबनाउने विषयमा विवाद चर्किएको छ। पुस ५ र ६ गते कांग्रेस मधेश प्रदेशको पहिलो सम्मेलन हुँदैछ। यसका लागि प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा हुनेछन्। तर, देउवापछि दोस्रो शीर्ष नेताको रुपमा कसलाई अतिथि बनाउने भन्ने विषयमा विवाद बढेको हो।

मधेश प्रदेश समितिले सम्मेलनमा सहभागी हुन सभापति देउवा, कोइरालासहितका नेतालाई निम्तो पठाइसकेको बताएको छ। कोइरालालाई कांग्रेसको इतर समूहले आफूनिकट भेला तथा केही कार्यक्रममा सभापति देउवापछिको वरीयतामा आसनग्रहण गराइएको छ। लुम्बिनी र गण्डकी प्रदेशको सम्मेलनमा कोइरालालाई देउवापछिको व्यक्तिको रुपमा आसनग्रहण गराइएको थियो। लुम्बिनी र गण्डकी प्रदेश सभापति कोइरालानिकट नेता छन्। कोइराला कांग्रेसको २५औं वरीयताका नेता हुन्।

कोइराला पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा देउवासँग पराजित उम्मेदवार हुन्। कांग्रेसभित्र सभापति पराजित व्यक्तिलाई वरिष्ठ नेताको रुपमा सम्बोधन गर्ने परिपाटी थियो। यसअघि वरिष्ठ नेता रहेका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै कांग्रेसमा अहिले वरिष्ठ नेताको रुपमा कसैलाई सम्बोधन गरिँदैन। इतरपक्ष कोइरालालाई वरिष्ठ नेताको रुपमा पार्टीले स्वीकार्नुपर्ने बताउँदै आएको छ।

मधेश प्रदेश सभापति संस्थापन समूहका छन्। त्यसैले उनले त्यहाँ कोइरालालाई दोस्रो वरीयतामा आसन गराउन नखोजेका हुन्। त्यसपछि कोइराला समूहका मधेशका नेताले नोट अफ डिसेन्ट नै राखेका छन्।

उनीहरूले फरक मत भन्दै भनेका छन्, ‘…सम्मेलनमा नेपाली कांग्रेसको नेता डा.शेखर कोइरालालाई बेवास्ता गर्ने ढंगबाट गराउन लागिएको आसनग्रहणको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनीहरूले सभापतिमा पराजित व्यक्तिलाई पार्टीको वरिष्ठ नेता बनाउने परम्परालाई निरन्तरता दिनुपर्ने पनि बताएका छन्।

यो विवादको पछाडि जोडिएका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का। पछिल्लो समय कांग्रेसका कार्यक्रमहरूमा कोइराला सहभागी भएको कार्यक्रममा खड्का नजाने र खड्का सहभागी भएको कार्यक्रममा कोइराला नजाने गरेका छन्। यसको कारण हो आसन ग्रहण। मधेश प्रदेशमा पनि यही समस्या देखिएको हो।

यस्तो छ ८ नेताले राखेको फरक मत

प्रकाशित: ४ पुष २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =