छ विद्यार्थी संगठनको माग : एनसेलमाथि कारबाही होस्

हिमाल प्रेस १९ मंसिर २०८० १२:३३
30
SHARES
छ विद्यार्थी संगठनको माग : एनसेलमाथि कारबाही होस्

काठमाडौँ- एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरूले विरोध जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज बिहान एनसेलको कार्यालय लैनचौरमा प्रदर्शन गरेको छ।

यस्तै सत्तारुढ गठबन्धनसहित अन्य विद्यार्थी संगठनले पनि एनसेल बिक्रीप्रति विरोध जनाएका छन्। छ विद्यार्थी संगठनले विज्ञप्तिमार्फत एनसेल बिक्री अपारदर्शी रहेको बताएका छन्।

‘सुशासन समृद्धिको मुख्य आधार हो भन्ने तथ्यलाई संयुक्त विद्यार्थी संगठन पूर्णतः विश्वास गर्दछौं। पारदर्शी आर्थिक प्रणालीले मात्रै सुशासनसहितको समृद्ध मुलुक निर्माणको ग्यारेन्टी गर्न सक्तछ। विद्यार्थी समुदायको अगुवा हुनुको नाताले हामी लामो कालखण्डदेखि आम विद्यार्थीका सरोकारका मुद्दाका अलवा राष्ट्रियता, जनजीविका र मुलुकको विकास तथा समृद्धिका सवालमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको सर्वविदैत छ।’

विज्ञप्तिमा सेयरधनीको सेयर खरिद बिक्री गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था भएपनि एनसेल आजियाटाले नेपालको नियामक निकायलाई थाहा नदिई सेयर खरिद बिक्री गरेको कानुन विपरीत रहेको जनाइएको छ।

सयुंक्त विद्यार्थी संगठनले कर प्रणाली छलेर भएको सेयर खरिदबिक्री वा हक हस्तान्तरणबारे नेपालका नियमनकारी निकायलाई जानकारी नदिने र करिब ६ बर्षपछि कानूनबमोजिम नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै यसैलाई असर पर्ने गरी अनुमति र स्वीकृति प्रदान गर्ने निकायहरुले देखाएको उदासिनता माथि गहिरो अनुसन्धान सहित कारबाही गर्न सरकारको तिव्र तदारुकताको अपेक्षा रहेको जनाएको छ।

विज्ञप्तिमा अनेरास्ववियू आरती लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अध्यक्ष अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, नेपाल अखिल (छैठौँ) देवेन्द्र कुँवरको हस्ताक्षर रहेको छ।

प्रकाशित: १९ मंसिर २०८० १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =