रूसी सेनामा एक हजारभन्दा बढी नेपाली, युक्रेनमा दुई सय

रमेश भारती १९ मंसिर २०८० ११:३५
104
SHARES
रूसी सेनामा एक हजारभन्दा बढी नेपाली, युक्रेनमा दुई सय रुसी सेनामा कार्यरत रहेको बताउने नरेन्द्र श्रेष्ठले फेसबुकमा पोस्ट गरेको तस्बिर ।

काठमाडौँ- युद्धग्रस्त मुलुक रुस र युक्रेनमा गरी कम्तीमा १२ सय नेपाली युवा भर्ना भएको पाइएको छ। उनीहरू सबै अवैध रूपमा ती देशको सेनामा भर्ती भएका हुन्।मस्कोस्थित नेपाली दूतावासका अनुसार रूसी सेना १ हजारभन्दा बढी र युक्रेनी सेनामा २ सयभन्दा बढी नेपाली युवा भर्ती भएको सूचना प्राप्त भएको छ।

युद्धग्रस्त मुलुकमा नेपालीहरू व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका हुन्। कतिपयचाहिँ युरोपका अन्य देश र  कतार, यूएई र टर्की हुँदै रुस र युक्रेन पुग्ने गरेका छन्।  सरकारले नेपाली युवा रूसी सेनामा भर्ती हुन थालेको जानकारी गत वैशाखमै पाए पनि श्रम स्वीकृति रोक्न सकेको थिएन।

युरोपका विभिन्न देश हुँदै पुगेका नेपाली युवा युक्रेनी सेनामा पनि भर्ती भइरहेको सूचना पाएको मस्कोस्थित नेपाली दूतावासका द्वितीय सचिव सुशील घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार रूसी सेनामा १ हजारभन्दा बढी र युक्रेनी सेनामा करिब २ सय जना नेपाली भर्ती भएको सूचना छ। उक्त सूचना पुष्टि गर्न दूतावासले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको उनले बताए।

‘तीन हजार नेपाली युवा ‘रूसी सेनामा भर्ती हुने तयारीमा रहेको सूचना दूतावासमा आएको छ। यसलाई रोक्न रुसी परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको छ। दूतावासले नेपाली युवालाई रूसी र युक्रेनको सेनामा भर्ती नहुन सजग गराइरहेको छ’, उनले भने।

एक वर्षयता सबैभन्दा धेरै नेपाली युवा यूएई हुँदै रूसी सेनामा भर्ती हुन पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ। पछिल्लो समयमा नेपाली युवा यूएई हुँदै युरोप, अफ्रिका र अमेरिकाजस्ता देश जाने क्रम पनि बढेको छ।

युरोप जाने नेपाली कामदारमा संस्थागतभन्दा व्यक्तिगत रूपमा धेरै छन्। वैदेशिक रोजगार विभागका अनुसार गत ५ महिनामा युरोपका देश ९ हजार २ सय ५३ जना नेपाली रोजगारीका लागि बाहिरएका छन्। उनीहरू व्यक्तिगत भिसामा गएका हुन्।

पोल्यान्ड, पोर्चुगल, रोमनिया र सर्बियामा रोजगारीका लागि जाने भनेर श्रम स्वीकृति लिने तर ती देशमा पुगेपछि नेपाली युवा रुस युक्रेन छिर्ने गरेको दूतावासका द्वितीय सचिव घिमिरे बताउँछन्। रूस र युक्रेनी सेनामा भर्ती हुँदा राम्रो पारिश्रमिक पाइने भएकाले जोखिम मोलेर पनि युवाहरू ती देशमा पुगेका हुन्।

रुसको श्रम स्वीकृति बन्द

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीले युक्रेनसँग भएको लडाइँमा ज्यान गुमाएपछि नेपाल सरकारले रुसका लागि  श्रम स्वीकृति दिन बन्द गरेको छ। नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिक भर्ना भएको भए तत्काल नेपाल फर्काउन रुसी सरकारसमक्ष पत्राचार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा सन्दीप थपलिया (गोरखा), रूपक कार्की (वाणगंगा-१, कपिलवस्तु), देवान राई (पोखरा), प्रितम कार्की (पुतलीबजार-५, स्याङ्जा), राजकुमार रोका (मेलुङ-६, दोलखा) र गंगाराज मोक्तान (इलाम-५, इलाम) छन्।  उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारसँग अनुरोध गरिएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।

वैशाखयता १ हजार ५ सयभन्दा बढी नेपाली युवा व्यक्तिगत भिसामा रोजगारीका लागि रूस गएका छन्। सरकारले एक वर्षअघि नै युक्रेन रोजगारीमा जाने युवाका हकमा श्रम स्वीकृति बन्द गरेको थियो।

वैदेशिक रोजगारीमा भनेपछि जस्तोसुकै जोखिम मोलेर भए पनि नेपाली युवा जान तयार हुने गरेको श्रम मन्त्रालयका सहप्रवक्ता डम्बर सुनुवार बताउँछन्। युद्धग्रस्त मुलुक रहेको विषयमा जानकार भए पनि अटेरी गरेर युवाहरू गइरहेको उनको भनाइ छ।

प्रकाशित: १९ मंसिर २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =